बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ अर्ब ८५ करोड रुपैयाँको आय-व्यय अनुमानसहितको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख सावित्रादेवी अर्यालले बुधबार आयोजित नगरसभामा बजेट प्रस्तुत गर्दै “समानता, स्वाभिमान र अवसर-बस्नयोग्य बुटवल शहर” भन्ने नारालाई केन्द्रमा राखिएको बताइन् ।
प्रस्तावित बजेटअनुसार कुल खर्चमध्ये ५२ प्रतिशत चालुतर्फ र ४८ प्रतिशत पूँजीगततर्फ विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रमा २८ प्रतिशत तथा आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट छुट्याइएको छ ।
बजेटका लागि संघीय सरकारबाट समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत विभिन्न शीर्षकमा रकम प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारबाट पनि समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट १९ करोड ४३ लाख ८६ हजार रुपैयाँ र प्रदेश सरकारबाट २ करोड ७५ लाख ६१ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। उपमहानगरले आन्तरिक स्रोतबाट १ अर्ब ५० करोड ३८ लाख ५९ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ ।
यस्तै, विज्ञापन, मनोरञ्जन कर तथा अन्य स्थानीय राजस्व बाँडफाँडबाट ७८ करोड ७७ लाख ७८ हजार ८ सय रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको ४० करोड रुपैयाँ बचत रकमसमेत समावेश गरी कुल स्रोत ३ अर्ब ८५ करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।
उपप्रमुख अर्यालले बजेट निर्माणमा सहयोग पुर्याउने राजनीतिक दल, सामाजिक संघसंस्था, व्यवसायिक क्षेत्र, जनप्रतिनिधि तथा नगरवासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विकास निर्माणका कार्यमा सबैको सहयोग अपेक्षा गरिएको बताइन् ।
















प्रतिक्रिया