काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो १४ः०० बजे सम्म १ हजार ५६ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा ३८ जना, नुवाकोटमा १ सय ५१ जना, धादिङमा ५७ जना, चितवनमा ३ सय २१ जना, गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १६ जना, नवलपरासी पश्चिम १ सय ६५ जना र भारतमा ५ जना गरी १ हजार ५६ जनाको शव फेला परेको हो । फेला परेको शवहरू मध्ये ९ सय ७२ को लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ५८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।
फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ सय २१ महिला, १ सय ९८ पुरूष र ३ सय ६५ नखुलेको गरी जम्मा ६ सय ८४ वटा शव व्यवस्थापन (माटो मुनि गाडिएको) गरिएको प्रहरीले जनाएको छ । साथै पहिचान नभएको ८ सय ६९ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको प्रहरीको केन्द्रीय समाचार बुलेटिनमा उल्लेख गरिएको छ ।
त्यसैगरि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म ३ हजार ९ सय १६ जना सम्पर्कविहीन् रहेको र ११ हजार ८८४ जनाको उद्धार गरिएको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट ४ हजार ५ सय ३० जनाको उद्दार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार ६ सय ६ जनाको खोजी कार्य भइरहेको छ ।
विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ४ सय ५३ जना व्यक्तिहरूलाई राखिएको छ । जसमध्ये नुवाकोटमा २ हजार ४ सय ६६ जना, धादिङमा २ सय ६० जना, रसुवामा ३ सय ९८ जना र काठमाडौंमा ३ सय २९ जना रहेका छन् ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।
















प्रतिक्रिया