१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

बेलायतमा चिकित्सक र विद्यार्थी अलपत्र, भन्छन : ‘नेपाल फर्कन पाउँ’



लन्डन । परीक्षाका लागि बेलायत आएका नेपाली चिकित्सकहरु नेपाल सरकारले हवाई उडानमा रोक लगाउँदा बेलायतमै अलपत्र परेका छन् ।

यसैगरी, केही महिनाअघि मात्र बेलायत आएका विद्यार्थीहरु कोरोनाको महामारीले विश्वविद्यालय बन्द, पाइरहेको काम गुमाउँदा र दिनदिनै कोरोनाको ग्राफ बढ्दै जाँदा चिन्तित छन् । उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेका छन् ।

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण हुन नदिन नेपाल सरकारले विदेशबाट नेपाल भित्रिन रोक र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि चिकित्सक र विद्यार्थी अलपत्र परेको वीनेपली डटकमले लेखेको छ ।

दर्जनौं नेपाली चिकित्सक चिकित्सा परीक्षाका लागि बेलायत आएका बेला यतै फसेका छन् । विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न आएका नेपाली विद्यार्थीलाई रोजगारी, खान र बस्नको समस्या हुँदा विचल्लीमा परेका छन् ।

धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक डा. अमिर अवालले नेपाल सरकारसमक्ष आफूहरूलाई फर्काउनका लागि पहल गरिदिन अनुरोध गरेका छन् । ‘हामी मेडिकल जाँचका लागि बेलायत आएका हौं । कोरोना भाइरसबाट सिर्जित महामारीका कारण जाँच सरेपछि टिकट परिवर्तन गरी हतारहतार नेपाल जान मार्च १९ का दिन विमानस्थल पुग्यौं । तर हाम्रो टिकट किनेको इत्तिहाद एयरलाइन्सले नेपाल र इण्डोनेसियाको यात्रु नलैजाने भनेर त्यहिदिन निर्णय गरेको रहेछ,’ अवालले भने, ‘उनीहरूले लैजान नसक्ने भनेपछि हामीले कतार एयर र इयर इन्डियाबाट पनि कोसिस गरयौं तर दुवैमा असफल भयौं। त्यसपछि फर्केर पहिले बसेकै ठाउँमा आयौं । त्यहाँ घरबेटीले तिमीहरू गइसकेको मानिसलाई भित्र पस्न दिन्न भने । हामीले धेरै बिन्ती गरेपछि बाहिर हातखुट्टा धुन लगाएर भान्सामा नजाने, केही पनि पकाएर खान नपाउने, त्यस घरमा बस्ने अरुसित घुलमिल नगर्ने शर्तमा बस्न दियो ।‘

उनले थपे, ‘दुई–तीन दिनसम्म केही नपकाइ तयारी खानेकुरा खाँदै बस्यौं । कति बस्नुपर्ने हो भन्नेमा अनिश्चित थियौं । त्यसैले घरबेटीलाई भाडामा सहुलियत गरिदिन अनुरोध गर्दा उनले पैसा छैन भने निस्केर जाउ भने । अहिले हामी त्यहाँबाट निस्केर नेपाली मूलका मानिसहरूको घरमा आश्रय लिइरहेका छौं ।’

आफ्नो समूहमा ६ जना रहेको उनले जानकारी दिए । केही समयका लागि भनेर ल्याएको खर्च पनि सकिन लागेको उनले बताए । बिरामी परेमा कस्तो अवस्था भोग्नुपर्ने हो भन्ने चिन्ताले थप पिरोलेको उनले बताए ।

अवालले लण्डनका दुई कोचिङ सेन्टर र म्यानचेस्टरमा एक गरी धेरै नै चिकित्सक बेलायतमा अलपत्र परेको बताए । ‘१६ जना त हामी एकापसमा सम्पर्कमा छौं । कोरोनाका कारण नेपालमा चिकित्सकको अभाव कति होला र भविष्यमा कति पर्न सक्ला ?,’ उनले भने, ‘तर हामी भने यहाँ रोकिएर बसेका छौं। हामी सबै नेपाल फर्कन चाहन्छौं ।’

उता, जागिर नहुँदा आर्थिक अभाव र कोभिड १९ संक्रमण फैलने क्रम तीव्र भएपछि चिन्तित भएको विद्यार्थीहरूको गुनासो छ ।

युनिभर्सिटी अफ वेस्ट लण्डनमा अध्ययनरत अमरसिंह चौधरीले आफूहरू सहयोगविहीन भएको बताए । ‘दूतावासलाई इमेल र फोनमार्फत सम्पर्क गर्दा पनि सहयोग पाइएन’चौधरीले भने, ‘हामी घर फर्कन चाहन्छौं । म अध्ययनरत विश्वविद्यालयका करिब ९० जना नेपाली विद्यार्थी प्रायः सबै बेरोजगार भइसक्यौं । यदि नेपाल नफर्कने हो भने हामी घर विहीन र भोकमरीको समस्यामा पर्ने निश्चित छ ।’

बेलायतमा दिनदिनै फैलिएको कोरोना भाइरसका रोगीहरूको संख्याले आफ्ना धेरै साथी आत्तिएका उनले बताए । ‘हामीसित घरभाडा तिर्ने पैसा पनि छैन । यदि नेपाल नजाने हो भने कि त भोकले कि त कोरोनाले मर्नेछौं,’ उनले भने ।

ग्लास्गो कालेडोनियन युनिभर्सिटीमा अध्ययनरत विनोद पोखरेलको पीडा पनि उस्तै छ । ‘हामी ६(७ जना नेपाली विद्यार्थी यहाँ अलपत्र छौं । पार्टटाइम जागिर पनि गयो । घरभाडा तिर्नसक्ने अवस्था छैन। खानेकुरा पनि सकिँदै छ,’ उनले भने, ‘हामी नेपाल जान चाहन्छौं । बरु हामीलाई नेपाल सरकारले क्वारेन्टाइनमा जति राखे पनि राजी छौं ।’

अहिले लण्डनबाट घण्टौं टाढा रहेका युनिभर्सिटी अफ हडर्सफिल्ड, बोल्टन र युनिभर्सिटी अफ सेन्ट्रल ल्यानकासायर (यूक्ल्यान) मा अध्ययनरत करिब २ सय नेपाली विद्यार्थीको पनि विचल्ली छ। कोरोना भाइरसका कारण रेष्टुरेन्ट र अन्य व्यापार बन्द भएपछि रोजगारी गुमेको त्यहाँ अध्ययनरत विद्यार्थीले पनि नेपाल सरकारलाई उद्धार गरिदिन अपिल गरेका छन् ।

लण्डनस्थित नेपाली दूतावासले विद्यार्थीका पीडाबाट आफू अनभिज्ञ नरहेको प्रतिक्रिया दिएको छ । ‘हामी विद्यार्थीको सम्पर्कमै छौं र समस्या परे भन्न भनेका छौं,’ दूतावासका उपनियोग प्रमुख शरदराज आरणले भने, ‘राजदूतले दक्षिण एसिया र कमनवेल्थ मन्त्रीसँग कुराकानी गरिसक्नुभएको छ । पीडित विद्यार्थी र भूतपूर्व गोर्खाहरूको सुरक्षाका लागि हामी गम्भीर छौं ।’

यसैबीच, बेलायतस्थित नेपाली दूतावासले बेलायतमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित, संयमित र अनुशासित रहन आग्रह गर्दै अतिआवश्यक परेको अवस्थामा फोन गर्न एक अपील जारी गरेको छ । फोन गर्दा नेपालमा अभिभावकको नाम, फोन र इमेल ठेगाना, बेलायत पढ्न पठाउने कन्सल्ट्यान्सीको नाम, इमेल ठेगाना र आफू अध्ययनरत विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने अधिकारीको फोन, इमेल ठेगाना उपलब्ध गराउन अपील गरेको छ ।

यसैगरी विद्यार्थीहरुलाई सहयोग गर्न पनि नेपाली समुदायलाई अनुरोध गरिएको छ । तर पर्यटक भिसामा निश्चित समयका लागि बेलायत आएका नेपाली नागरिक र परीक्षाका लागि बेलायत आएर अलपत्र परेका चिकित्सकका बारेमा भने दूतावासले कुनै सूचना वा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

उता बेलायतले विदेशी भूमिमा अलपत्र आफ्ना हजारौं नागरिकको उद्धार गर्ने भएको छ । विदेशमन्त्री डोमिनिक राबले सोमबार बेलायती नागरिकहरूलाई उद्धार गर्न ७५ मिलियन पाउण्ड खर्च गरिने जनाए । ब्रिटिस एयरवेज, भर्जिन र इजी जेट जस्ता एयरलाइन्स चार्टर गरेर अलपत्र यात्रु बेलायत ल्याउने तयारी छ । काठमाडाँस्थित बेलायती राजदूत निकोला पोलिटले नेपालमा रहेका बेलायती नागरिकहरुको उद्दार गर्ने पक्का भएको भन्दै ट्वीट गरेकी छिन् । उनले सो उडान सित्तैमा नभएको तर बजार सुहाउँदो मूल्यमा हुने पनि बताएकी छिन् ।

बेलायतमा अध्ययनरत आफ्ना छोराछोरीको उद्दारका लागि नेपालमा रहेका बाबुआमाले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटी ज्ञापन पत्र पनि बुझाएका छन् । ती अभिभावकमध्येकी एक विनिता ढु‌गानाले नेपालमा बेलायती नागिरक उद्दार गर्न आउने एयरलाइन्ससित समन्वय गरी बेलायतमा रहेका नेपाली विद्यार्थी र चिकित्सक तथा अन्य नेपाली नागरिकहरुलाई उद्दार गर्न नेपाल सरकार, बेलायती दूतावास र सम्वद्ध संघसंस्थासित अनुरोध गरेकी छिन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ७ : २३ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका