२४ मंसिर २०८०, आइतबार | December 11, 2023

कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न त्रासदीबीच लकडाउनमै रहेर २०७७ सालको स्वागत



बर्ष २०७६ साल नेपालीहरूको घर आँगनबाट बिदाइ भएको छ । वर्षको अन्त्यमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न त्रासदीबीच लकडाउनमै रहेर नेपालीहरूले २०७७ सालको स्वागत गर्नुपरेको छ ।

अर्थात् नयाँ बर्ष २०७७ को शुभारम्भ खल्लो भएको छ । गएको वर्षमा नेपालमा केही महत्वपूर्ण घटना भए, जुन सम्झन लायक छन् । २०७६ को सुरुवाती ३–४ महिनामा खासै चर्चायोग्य घटना नभए पनि बर्षको मध्य र पूर्वाधमा केही स्मरणयोग्य घटना भए । केही सकारात्मक र नकारात्मक दुवैखाले ।

बर्ष २०७६ का सुखद् घटनामा छिमेकी राष्ट्र चीनका राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण, प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणदेखि दक्षिण एशियाली खेलको नेपालमा सफल आयोजनलाई लिन सकिन्छ ।

अर्कोतर्फसभामुख कृष्णबहादुर महरा यौनजन्य दुव्र्यवहारमा फस्न पुगेको घटनादेखि टेप प्रकरणमा सरकारका तत्कालीन सञ्चारमन्त्री गोकूल बाँस्कोटाको राजीनासम्म बर्ष २०७६ का नकरात्मक घटना हुन् ।

१. चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण

२०७६ साल असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिने भ्रमण गर्नुभयो । करिब शक्तिशाली उत्तरी छिमेकी राष्ट्र चीनका राष्ट्रपतिको २३ वर्षपछि नेपालमा भएको राजकीय भ्रमणले विश्वको ध्यान नेपालतर्फ सोझियो नै भ्रमणले सरकारको कूटनीतिक सफलता पनि झल्कायो ।

राष्ट्रपति सी चिनफिङले असोज २५ र २६ (१२ र १३ अक्टोबर)मा गरेको नेपाल भ्रमणले नेपाल र चीनबीचको मित्रतामा नयाँ अध्याय सुरु गर्न सफल भयो । चिनियाँ राष्ट्रप्रमुखको भ्रमणले आर्थिक समृद्धि र द्विपक्षीय सम्बन्ध विस्तारमा दीर्घकालीन महत्व राखेको छ ।

२. प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओली २०७६ साउन महिनामा सिङ्गापुर गएर स्वास्थ्य उपचार गराएर फर्केको सात महिनापछि सफल मिर्गौला प्रत्यारोपण भयो ।

त्यो पनि नेपालकै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा । सो अस्पतालका प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री प्रधानमन्त्री ओलीको गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई उहाँकी भान्जी समीक्षा सङ्ग्रौलाले आफ्नो एउटा मिर्गौला दिनुभएको थियो ।

प्रधानमन्त्री ओलीको यो पटक दोस्रो मिर्गौला प्रत्यारोपण गरिएको हो । पहिलो पटक २०६४ साउनमा भारतको एपोलो अस्पतालमा गरिएको प्रत्यारोपण मिर्गौलाले राम्रोसँग काम नगरेपछि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

३.सागको सफल आयोजन

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपालमा भव्य रूपमा सम्पन्न भयो । जसमा ५१ स्वर्णसहित नेपालले दोस्रो स्थान हासिल गर्न सफल भयो ।

मङ्सिरमा सम्पन्न साग प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर १५ गते उदघाटन गर्नुभएको सो प्रतियोगिताका २६ खेल विधामा ३२० स्वर्ण, त्यतिकै सङ्ख्यामा रजत र ४८१ काश्य पदकका लागि काठमाडौँ, पोखरा र जनकपुरमा प्रतियोगिता सञ्चालन भएको थियो ।

सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुईवटा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको थियो । सन् १९८४ मा पहिलो पटक नेपालबाट सुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण थियो ।

४. राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको निर्वाचन पनि २०७६ मै भयो । माघ १० मा भएको निर्वाचनबाट राष्ट्रिय सभामा रिक्त रहेका १९ मध्ये सातवटै प्रदेशबाट १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

एक जना भने राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था भए पनि एक रिक्त पदमा अझै मनोनित गरिएको छैन । उपनिर्वाचनमा २ हजार ५६ मतदाता सहभागी बने । १८ सिटका लागि भएको यो उपनिर्वाचनमा विभिन्न दलका गरी ४५ उम्मेदवार चुनावी मैदानमा उत्रे । जसमा अधिकांश राष्ट्रिय सभासदस्य पदमा नेकपाका उम्मेदवार विजयी बने ।

यसैगरी विभिन्न कारणले खाली भएका एक प्रतिनिधिसभा र तीन प्रदेशसभा सदस्यसहित ५२ स्थानमा उपनिर्वाचन भयो । मङ्सिर १४ मा भएको निर्वाचनको मतदानमा ६५.४३ प्रतिशत मत खस्यो । उपनिर्वाचनमा नेकपाले सबैभन्दा बढी ३० स्थानमा जित हात पार्योे जसमा उसले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन स्थानीय तहको अध्यक्ष पदमा जित हात पार्न सफल भयो ।

त्यस्तै दोस्रोमा नेपाली काँग्रेसले १३ स्थानमा जित हात लगायो । काँग्रेसले एक प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकाको मेयर पदमा जित हात लगायो भने उपनिर्वाचनमा सर्वाधिक चासोको विषय बनेको कास्कीको क्षेत्र नम्बर २ मा हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराई विजयी हुनुभयो ।

५.सभामुख महराको यौन दुव्र्यवहार प्रकरण

संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा बहालवाला सभामुख कृष्णबहादुर महरा २०७६ असोजमै पक्राउ पर्नुभयो र १३३ दिनपछि जिल्ला अदालत काठमाडौँबाट सफाइ पनि पाउनुभयो ।

यो घटना महरा प्रकरणले निकै चर्चित बन्न पुग्यो । पछि अदालतको फैसलासँगै फागुन ५ गते सफाइसहित महरा रिहा हुनुभयो । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले बलात्कार प्रयास पुष्टि हुने आधार नदेखिएको भन्दै अभियोग दाबीबाट महरालाई सफाइ दिने फैसला सुनाएको थियो ।

पीडित भनिएकी महिला कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास नभएको जिकिरसहित अदालतमा गरेको वकपत्र, महराले दिएको इन्कारी बयान र फरेन्सिक ल्याबको रिपोर्टलाई आधार मानेर इजलासले सफाइ दिएको हो । महरालाई बलात्कार आरोपमा असोज १९ गते सरकारी निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

आफूमाथि आरोप लागेपछि सत्तारुढ दल नेकपाले महरालाई सभामुखबाट राजीनामा दिन लगायो र उहाँको ठाउँमा नेकपाकै सांसद अग्नि सापकोटा सभामुखमा निर्वाचित हुनुभयो ।

६. विवादास्पद टेप प्रकरणले राजीनामा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा ७० करोड कमिसन बार्गेनिङ गरेको भन्दै सार्वजनिक गरिएको एउटा विवादास्पद टेप प्रकरणमा जोडिएपछि मन्त्री पदबाट राजीनामा नै दिनुपर्यो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले स्विस कम्पनीका नेपालस्थित प्रतिनिधि विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मागेको भनिएको विवादास्पद अडियो टेप सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते प्रधानमन्त्री ओलीसमक्ष राजीनामा दिनुभएको थियो ।

७. एमसीसी विवाद

बर्ष २०७६ को अत्यधिक चर्चाको विषय बन्यो अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) । सत्तारुढ दल नेकपाभित्रै एमसीसीबारे विवाद उत्पन्न भएपछि यसको किनारा लगाउन नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वको एक सुझाव कार्यदल नै गठन ग¥यो ।

यसअघि एमसीसीबारे नेकपाको स्थायी समिति र केन्द्रीय समितिमा नेताहरू स्पष्ट रूपमा दुई भागमा विभाजित बनेका थिए । उक्त कार्यदलले एमसीसी सम्झौता परिमार्जन गर्न दिएको सुझावका कारण संसदबाट एमसीसी अनुमोदन अन्यौलमा परेको छ ।

८. भ्रमण वर्ष २०२० स्थगित

बहुचर्चित र महत्वाकांक्षी योजनाका रूपमा अघिसारेकोे नेपाल भ्रमण वर्ष २०२० शुरुवातसँगै स्थगित हुन पुगेको छ । सरकारले २०२० मा २० पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको सुरुवात गरेको थियो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुरुमा अप्रिलसम्म स्थगित गरिएको भ्रमण वर्षपछि एक वर्षका लागि स्थगित गरिएको हो । भ्रमण वर्ष २०२० स्थागित सँगै यसको प्रचार प्रसार र अन्य व्यवस्थापनका लागि गठित सचिवालय पनि यही वैशाखबाट विघटन भएको छ ।

९. पार्टी एकताको लहर

सधैं फूट र बैमनस्यमा रमाउने दलहरुबीच एकता र सहकार्यलाई सुखद मान्नुपर्छ । बर्ष २०७६ मा पूर्व पञ्चहरू सम्मिलित दुई समूहमा विभाजित राप्रपा एक भयो ।

लामो समयको प्रयास, छलफल र वार्तापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच फगुन २८ गते एकता भएको हो । एकतापछि सो पार्टीमा तीन जना अध्यक्ष छन् कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी ।

त्यसैगरी २०७६ मै उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता घोषणा भयो । दुई पार्टी एकतापछि ‘समाजवादी पार्टी नेपाल’ बनेको छ । नयाँ पार्टी एकीकरणको वैशाख २३ गते घोषणा गरियो । नवगठित पार्टीको सङ्घीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई छन् भने केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव छन् ।

१०. प्रदेश प्रमुख परिवर्तन

संघीयता कार्यान्वयनको दुई बर्ष नपुग्दै सरकारले २०७६ मा सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख परिवर्तन ग¥यो । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश १ मा सोमनाथ प्यासी (अधिकारी), २ मा तिलक परियार, ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा शर्मिला पन्त नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभयो ।

११. कोरोना कहर

२०७६ को डिसेम्बरमा चीनको उहानबाट सुरु भएको महाव्याधी कोरोना भाइरस सङ्क्रमण विश्वका कैयौँ मुलुक हुँदै नेपालमा पनि प्रवेश ग¥यो । वर्षको अन्तिम महिना कोरोनाविरुद्धको लडाइँमा अन्य देशहरू जस्तै सिङ्गो नेपाल पनि होमियो ।

राज्यका सम्पूर्ण स्रोतसाधन र शक्ति प्रयोग गरेर यसको रोकथाम र नियन्त्रणको प्रयास भइरहेको छ । यो भाइरसका कारण मुलुक लकडाउनकै अवस्थामा छ । भाइरसबाट नेपालमा हालसम्म १२ जनामा सङ्क्रमण देखिए पनि यसबाट नेपालमा हालसम्म कसैको ज्यान गएको छैन ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले फागुन अन्तिम साता उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरेर यो रोग फैलन नदिन काम गरिरहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : ४३ बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक