१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मिडियाको काम आगोमा पेट्रोल छर्ने मात्र होईन



अबका केहि दिन नेपाली मिडियाले दिनमा धेरै पटक संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने छन् । मिडियाले चाहेको धेरै नेताहरुलाई पुनर्गठित मन्त्रिपरिषद्मा नयाँ मन्त्री नियुक्त गर्नेछन् र मन नपरेका नेताहरुलाई मन्त्रीबाट बर्खास्त समेत गर्नेछन् । कतिपय नेताहको त मिडियाले संवैधानिक नियुक्ति पनि गर्नेछ । केहि राजदुतहरु फेरिनेछन् । अख्तियार, मानवअधिकार आयोग, विभिन्न राजनीतिक नियुक्ति हुने लाभका पदमा समते धमाधम पदपुर्ती हुनेछन् ।

शरण कर्माचार्य

जब जब नेपालमा शिर्ष नेताहरु बीच कुनै बिषयमा मत बाझ्न थाल्दछ, जब जब देशमा दलभित्र कुनै विषयमा मतान्तर हुन थाल्दछ, तब तब नेपालमा धेरै मिडियाको समाचार शिर्षक यस्तै यस्तै बन्ने गरेको छ । अनुमानकारिता र आंकलनका भरमा घटनाक्रमले कल्पना नै नगरेको बिषयलाई मिडियाले पुरा गरिदिने गरेको छ । नेताहरुलाई जबर्जस्ती कित्ताकाँट गरिदिने, गुट बनाईदिने र कार्यकर्ताहरुको दिल दिमाखमा निराशा र आक्रोशको आगो दन्काउने काममा सामाजिक संजालदेखि कतिपय मिडिया हाउसहरु ज्यान फालेर लाग्ने गरेकाछन् । दलका आम कार्यकर्ताहरु पनि तिनै मिडियाका समाचारका भरमा दृष्टिकोण बनाउने र आफ्नै नेताहरुलाई खुईल्याउन उद्दत बन्ने गरेकाछन् ।

हो, यतिबेला २ वर्ष अघि धेरै कुरा नमिल्दा नमिल्दै पनि चुनावी बहुमतका लागि एक भएको कम्युनिष्ट पार्टीभित्र समस्या देखिएको छ । फरक धारबाट आएका नेताहरुमा पार्टी संचालन प्रक्रिया, शक्तिको बाँडफाँट, नेतृत्वमा देखिनुपर्ने लोकतान्त्रिक संस्कार तथा महाधिवेशन अघि उत्पन्न हुने तदर्थवादी समस्याहरु देखिएकाछन् । नेपाली कम्युनिष्ट आन्दोलनमा दस्तावेजहरुमा कमा, फुलस्टप, शब्द र वाक्यांशका आधारमा पार्टी नै विभाजन भएको इतिहास पनि रहेको छ । महाधिवेशनले छिनोफानो नगर्दासम्म दुई धुर्वबाट आएको पार्टीमा समस्या हुनु स्वाभाविक नै हुन्छ । पार्टीका नेताहरुबीच कुरा नमिलिरहेको बेला पार्टीका आम नेता कार्यकर्तामा चिन्ता, चासो र निरासा हुनु पनि कुनै अस्वाभाविक कुरा होईन । तर तिनै नेताहरुले पार्टीमा देखिएका समस्यालाई समाधान गर्न गरेका प्रयासहरुलाई कित्ताकाट गरिहाल्ने, समुह बनाईदिने र जुटाउने भन्दा पनि फुटाउने काममा बल पुग्ने गरी न्युज भन्दा पनि भ्युजहरु अगाडि आउँदासम्म पार्टीमा झनै समस्या चुलिने गरेको छ । किनकी, नता कार्यकर्ताहरु कम्युनिष्ट विश्वविद्यालयमा दर्शन र पार्टी नीति अध्ययान गरेर पारङ्गत बन्न खोज्दैनन्, मिडिया र सामाजिक संजालमा आउने समाचार एवं धारणाबाट आफ्नो निर्माण गर्छन् र आफ्नो गुटको धारणा समेत निर्माण गर्न सक्रिय बन्छन् ।

यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको समस्या समाधानका लागि धेरै दोस्रो पुस्ताका नेताहरु सक्रिय भएकाछन् । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलदेखि कतिपय बहालवाला मन्त्रीहरु समेत पार्टीमा देखिएका समस्याहरुलाई समाधान गर्दै पार्टीलाई एकतावद्ध बनाउन सक्रिय छन् । विशेष गरी पार्टी महासचिव विष्णु पौडेल, राष्ट्रिय सभामा संसदीय दलका नेता दीनानाथ शर्मा, प्रदेश ५ का मुख्यमन्त्री पोखरेल, बहालवाला मन्त्री प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुसाल, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेताहरु दुई वर्षअघि एकीकृत भएको पार्टीलाई एकताबद्ध बनाउन सक्रिय भएका छन् । तर, पार्टीमा देखिएका समस्या समाधान गर्न सक्रिय यी सबै नेताहरुलाई उनीहरुले गरेको भुमिकाको भन्दा मिडियाले निश्चित कुनै नेतासँग जोडेर गरेको कामको प्रचार बढी गरिएको छ । जुन फेरि पनि कित्ताकाँटलाई बल पुर्याउने नै छ ।

अहिले जति पनि नेताहरु पार्टीमा देखिएको समस्या समाधानका लागि लागिरेकाछन् ती सबै नेताहरु आ–आफ्नै चेत भएका नेताहरुमा पर्छन् भनेर बुझ्न जरुरी हुन्छ । चेतनशील व्यक्तिले आफुलाई मन परेको विचारको पक्षधरता लिन र मन नपरेको विचारमा असहमति राख्न सक्छ । विचारका आधारमा समर्थन र असहमति राख्दैमा कित्ता परिवर्तन गरेको, गुट छाडेको वा अर्को समुहमा प्रवेश गरेको हल्ला मच्चाउने कामले पनि नेकपामा दन्केको आगोमा घिउ थप्नेकाम मात्र भएको छ । सरकारको स्थायित्वका लागि केपी ओलीको पक्षमा उभिएका लेखराज भट्ट पार्टीको स्थायी समितिको बैठक बस्नुपर्दछ भन्ने विषयमा माधव नेपाल वा प्रचण्डसँग सहमत हुन सक्दछन् । प्रधानमन्त्रीलाई ५ वर्ष काम गर्न दिनुपर्छ भन्ने स्पष्ट अडान लिएका विष्णु पौडेल अध्यादेश फिर्ता गराउन दबाब दिन भैंसेपाटीमा बसेको बैठकमा सहभागि हुनुलाई अस्वाभाविक मान्नै पर्दैन ।

सबैलाई थाहा छ, अहिले मुलुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार छ । केहि केहि मानिसहरु मुलुकमा केपी शर्मा ओलीको सरकार छ भन्ने भ्रम पालेर बसेकाछन् । निर्वाचनमा नागरिकले नेकपालाई दिएको बहुमतलाई उपव्याख्या गर्दै केपी ओली वा प्रचण्डलाई दिएको बहुमत भन्न थालियो भने त्यो गलत हुन्छ । संविधान निर्माणका बेला भएको बहसमा मुलुकको निकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्ने बहस चल्दा अस्वीकार गरिएको विषयलाई संविधानमै नभएको कुनै पद वा शक्तिलाई प्रत्यक्ष निर्वाचित कार्यकारी ढंगले बुझ्न सकिँदैन । जनताले नेकपालाई दिएको मत हो र पार्टीले संसदीय व्यवस्था स्वीकार गरिसकेपछि प्रधानमन्त्रीमा पार्टीले पठाएको जो कोही व्यक्ति होस् ऊ पार्टी अधिनस्त हुनैपर्दछ ।

यति भनिसकेपछि विश्वले कोरोना भाइरसका विरुद्ध संघर्ष गरिरहेका बेला र विश्व समुदायसहित हरेक नेपाली कोरोना भाइरसको महामारीका विरुद्ध जुधिरहेका बेला पार्टीको कुनै पनि निकायले सरकार परिवर्तन वा सरकारलाई कमजोर बनाउने काम गर्नुहुँदैन । यो सरकार परिवर्तनको बेला होईन र नेपाली जनताले स्थायीत्वका लागि नेकपालाई मत दिएका हुन् भन्ने हेक्का सबैले राख्नुपर्दछ । पार्टी संचालनको मुख्य विधि पार्टीको नियमित बैठक, बैठकमा पार्टीबाट सरकारमा सहभागी तथा सरकारको काम कारवाहीको समीक्षा तथा कमी भएको भए आलोचना आत्मालोचना नै हो भनेर देश खाएर शेष पल्टेका नेताहरुलाई भन्न नपर्ने हो । कम्युनिष्ट पार्टीका हरेक सदस्य पार्टीको बैठक, पार्टीमा हुने छलफल र आलोचनाबाट भाग्नु हुँदैन । आलोचनाले थप बलियो शक्ति बलियो हुनुका साथै आन्तरिक एकता समेत बलियो हुन्छ । कमजोरीमा आत्माआलोचनाले पार्टी भित्रको विश्वास र सम्बन्धलाई प्रगाढ बनाउँछ भनेर १० वर्ष बढी युद्ध लडेर आएका र १४ वर्ष जेल बसेर लेनिनवादी अनुशासन पढेका नेताहरुलाई एउटा कलमजीविले सम्झाउनुपर्छ भन्ने लाग्दैन ।

माथि नै भनियो, एउटा चेत भएको मान्छेले ठीक कुरालाई ठीक र बेठीक कुरालाई बेठीक भन्न सक्दछ । आज ओलीका कुरा ठिक हुँदा भोलि माधव नेपालका कुरा ठीक हुन सक्दछ पर्सि प्रचण्डको कुरा ठीक आउन सक्दछ । आज झलनाथ खनालले गरेको चित्त नबुझे पनि अर्को बिषय वा प्रसंगमा तिनै झलनाथले आवश्यक प्रस्ताव ल्याउन सक्दछन् । विचार र प्रस्तावका आधारमा समर्थन र विरोध गर्न पाउनु मानवीय अधिकार पनि हो । चित्त बुझेको कुरामा समर्थन गर्दा उसैको गुट वा कित्तामा उभ्याउनु र चित्त नबुझेर असमति राख्दा अर्को कित्तामा जबर्जस्ती उभ्याउने कार्यले ध्वंस बाहेक निर्माण गर्न सक्दैन । आज मिडियाले कल्पनामा उडेर मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक निकायको नियुक्ति, राजदुतहरुको सिफारिस गरेपनि जब नेताहरुको अथक प्रयासले पार्टी फेरि एकताबद्ध भएर आउनेछ, त्यतिबेला सबैको कल्पना र अनुमान पानीको फोका जस्तै फुटेर जानेछ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १२ : ५७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान