८ बैशाख २०८१, शनिबार | April 20, 2024

काभ्रेका वास्तविक भूकम्पपीडितको बल्ल खोजी हुँदै



काभ्रे । विनाशकारी भूकम्प गएको पाँच वर्षपछि बल्ल काभ्रेपलाञ्चोक जिल्लाका वास्तविक भूकम्पपीडितको खोजी हुनेभएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले भूकम्पपीडित खोज्न गाउँगाउँ जाने योजना बनाएको हो ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका वास्तविक लाभग्राही पत्ता लगाउन तथा उनीहरूको अवस्था पत्ता लगाउन आउँदो आर्थिक वर्षको शुरुआतदेखि गाउँमै जाने कार्यालयले जनाएको हो ।

वास्तविक लाभग्राही पहिचान अभियानअन्तर्गत पहिलो चरणमा भूकम्पका आवास अनुदान लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएर अन्य किस्ता सम्झौता गर्न नआएकाको अवस्था पत्ता लगाइने कार्यालय प्रमुख शिवप्रसाद लम्सालले बताए। लम्सालका अनुसार लाभग्राही सम्झौता गरेका तथा सूचीकृत भई सम्झौता गर्न नआएकाको अवस्था पत्ता लगाउन गाउँगाउँ जाने योजना बनेको हो ।

प्रवलीकरण लाभग्रहीमा सूचीकृत सयौँ पीडित परिवारले पूर्ण लाभग्राही कायम गरिदिन स्थानीय तहमार्फत निवेदन दिएकाले उनीहरुका अवस्थासमेत अनुगमन गरिने लम्सालले बताए ।

“सम्झौता गरी पहिलो किस्ता पनि नलैजानेको विशेष चासो दिनेछौँ”, उनले भने । सरकारले दिएको अनुदानले घर बनाउन नसक्नेले नबनाएका हुन् कि, वैकल्पिक घर भएकाले नबनाएका हुन्, सबै स्थानीय तहमा गएर अवस्था बुझ्ने प्रमुख उद्देश्य रहेको लम्सालले जनाए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अवासलगायत पूर्वाधार पुनःनिर्माणको काम आउने वर्ष सक्ने योजना बनाएकाले जिल्लास्थित कार्यालय पुनःनिर्माणको अवस्था बुझ्न लागेको हो । लाभग्राहीको अवस्था बुझ्ने अभियानले उनीहरुको समस्या पहिचान गरी निरुपण गर्न कार्यालयले सहजीकरणसमेत गर्नसक्ने लम्सालले बताउनुभयो । उहाँका अनुसार पहिलो किस्ता लिएर डिपिसी गरेको तर जग्गा संयुक्त नाममा भएका कारण दोस्रो किस्ता नपाएको गुनासो कार्यालयमा निकै आएको छ ।

भूकम्प प्रतिरोधी मापदण्डअनुसार बनाइएका घर सानो भएका कारण वासस्थानका रुपमा प्रयोग नगर्ने, बैंक तथा वित्तीय संस्थाबाट सहुलियतमा ऋण उपलब्ध नभएकोलगायत समस्याले पुनःनिर्माणको काम प्रभावकारीरुपमा अघि बढ्न नसेकको कार्यालयले जनाएको छ । साथै, भौगोलिक कठिनाइका कारण बस्ती स्थानान्तरण तथा भूमिहीन परिवारको व्यवस्थापन प्रक्रियामा ढिलाइ हुँदा पुनःनिर्माणलाई तीव्रता दिन नसकिएको लम्सालले बताए ।

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोकमा ८४ हजार ५७० भूकम्पपीडित परिवारले आवास अनुदान सम्झौता गरेकोमा ९१ प्रतिशत अर्थात ७७ हजार २०५ लाभग्राही परिवारले मात्रै पहिलो किस्ताको रकम बुझेका छन् । यसमध्ये ७३ प्रतिशतले दोस्रो किस्ता र ६२ प्रतिशतले तेस्रो किस्ता रकम लिएका हुन् । कार्यालयले तेस्रो किस्ताबापतको रकम भूकम्पीडितले बुझेको आधारमा काभ्रेपलाञ्चोकमा ६२ प्रतिशत आवास पुनःनिर्माणको सकिएको जनाएको हो ।

तथ्याङ्कअनुसार सात हजार ३६५ परिवार अझै आवास अनुदान सम्झौता गरेका छैनन् । लाभग्राहीमा सूचीकृत नभएको भन्दै गुनासो गर्नेको सङ्ख्या पनि हजारौँ रहेको अवस्थामा सूचीकृत भूकम्पपीडित परिवार आवास अनुदान सम्झौता गर्न नआउनु निकै चासोको विषय रहेको देखिएको हो ।

कार्यालयमा हालसम्म स्वेच्छिकरुपमा ५७ जनाले आवास पुनःनिर्माणको पहिलो किस्ताबापतको रकम फिर्ता गरेका छन् भने सङ्घसंस्थामार्फत आवास पुनःनिर्माण गरेका १६६ जनाको बैंक खाताबाट रकम फिर्ता गराइएको छ । सङ्घसंस्थाको सहयोगमा आवास पुनःनिर्माण गरेकालाई सरकारको आवास अनुदान नदिइने प्रावधान छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १० : २६ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र