नेपालगन्ज । बिगत लामो समयदेखि दलगत व्यवसायिक संगठनबाट छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गर्दै आएका नेपालगन्जका उद्योगी व्यवसायीहरुले यसपटकको निर्माचनमा दलगत प्रतिस्पर्धा नगर्ने सहमति गरेका छन् । उद्योगी व्यवसायीहरुको छाता संगठनकारुपमा रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि तीनवटा दल निकट व्यवसायिक संगठनहरु सहितका उद्यागी व्यवसायीहरुले संयुक्त प्यानल बनाएर निर्वाचनमा जान सहमति जनाएका हुन् ।
दलगत प्रतिस्पर्धाका कारण उद्योगी व्यवसायीहरुको हित भन्दा अस्वस्थ प्रतिस्पर्धा बढेको समिक्षा गर्दै संघका पूर्व अध्यक्षहरुको पहलमा यसपटक संयुक्त प्यानल बनाएर निर्वाचनमा जान ती संगठनहरु सहमत भएका हुन् । नेपाली कम्युनिष्ट पार्टी निकट चिरन्जिवी वली समुह, संजय थापाले नेतृत्व गरेको कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघ र एमाले निकट नेपाल उद्योग तथा वाणिज्य महासंघबीच सहमतिमा संयुक्त प्यानल बनाउने निर्णय भएको प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघका निर्वाचन परिचालन समितिका संयोजक ललीत रौनियारले बताए । सो संगठनहरुले शुक्रबार सहमतिमा उम्मेदवार सार्वजनिक समेत गरेका छन् ।
जस अनुसार, अध्यक्षमा चिरञ्जीवि ओली, उद्योग उपाध्यक्षमा कमल कुमार कार्की, वाणिज्यको उपाध्यक्षमा विष्णु प्रसाद श्रेष्ठ, महिला उपाध्यक्ष रुपा ओझा -सानु), महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिव पदमा शिव दाहाल, कोषाध्यक्ष टिकामणि उपाध्याय उम्मेदवार घोषणा भएका छन् ।
सदस्यमा सन्तोष पौडेल, अतुल गुप्ता, शरद अधिकारी, शरद रिजाल, शैयद जहाँगिर मुसमान, टोप बहादुर थापा, आदित्य गुप्ता, नन्दराम जैसी, चाँदबाबु अन्सारी र नगेन्द्र शाही उम्मेदवार प्रस्ताव गरिएको छ ।
एशोसिएसट तर्फ अब्दुल वाहिद अन्सारी, राजिव तलंगाको नाम प्रस्ताव गरिएको छ भने वस्तुगत तर्फ फणाधर भण्डारी र सुरेश बन्जारालाई उद्यदेवार बनाइएको छ ।
अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवि ओली नेतृत्वको समूहले अध्यक्ष, कोषाध्यक्ष, वरिष्ठ सदस्य १, खुला सदस्य ४, एशोसिएट सदस्य २, वस्तुगत सदस्य १, मनोनित सदस्य २ गरी १२ पद पाएका छन् ।
त्यस्तै, प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघले उपाध्यक्ष वाणिज्य, उपाध्यक्ष महिला, उपमहासचिव, खुला सदस्य ४, महिला सदस्य १ गरी ८ पद पाएका छन् ।
त्यस्तै, नेपाल उद्योग तथा वाणिज्य महासंघ सम्बद्ध कमल कार्कीको नेतृत्वको समूहले उपाध्यक्ष उद्योग, महासचिव, खुला सदस्य ३, वस्तुगत सदस्य १, महिला सदस्य १ गरी ६ पद पाएका छन् ।

संयुक्त प्यानल घोषणा कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले विगतका तिक्तता त्याग्दै उद्योगी र व्यवसायीको समस्या र हितमा केन्द्रीत हुन संघका संयुक्त प्यानल बनाइएको बताए । उनले उद्योगी व्यवसायीको संगठनमा प्यानलगत प्रतिस्पर्धाले व्यवसायीको समस्या ओझेलमा परेको महशुश गरेर पूर्व अध्यक्षहरुको पहलमा सर्वसम्मतको प्रयास स्वरुप संयुक्त प्यानल बनाइएको स्पष्ट पारे । संघलाई व्यवसायीकै काममा केन्द्रीत गराउन उम्मेदवार बन्न चाहेका सदस्यहरुलाई पनि सहमतिमा आउन आग्रह गरे ।
अध्यक्ष पदका उम्मेदवार वलीले संघलाई एकताबद्ध बनाउन र व्यवसायीक हितमा क्रियाशिल बनाउन संयुक्त समुह बनाइएको बताए । उनले संघको घोषित उद्देश्यमा संघलाई केन्द्रीत बनाउन संयुक्त टिम इमान्दार बन्ने प्रतिबद्धता जनाउँदै संघलाई सम्पूर्ण उद्योगी व्यवसायीको अपनत्व हुने गरि स्थापित गराइने बताए ।
घोषणा कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघका बाँके अध्यक्ष संजय थापाले संयुक्त प्यानलका पक्षमा आफ्नो पूर्ण समर्थन रहेको जानकारी दिए । विशेष कारणले कार्यक्रममा उपस्थित हुन नसकेको उल्लेख गर्दै उनले संयुक्त प्यानलका उम्मेदवारहरुलाई सबैले समर्थन गरिदिन आग्रह समेत गरे ।
कार्यक्रममा पूर्व अध्यक्ष श्रेष्ठ, अब्दुल वाहिद मन्सुरी (चुन्ना) र नन्दलाल बैश्य, अग्रज उद्यागी कन्हैयालाल बैद्य, प्रदिप छाजेड, चम्पालाल बोथरा, वर्तमान अध्यक्ष टंक धामी लगायतको उपस्थिती रहेको थियो । नयाँ शक्तिकारुपमा देखिएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले भने निर्वाचन प्रक्रियाबाट अलग रहने जनाएको छ ।
संघको निर्वाचनमा संयुक्त प्यानल घोषणा भइरहँदा सदस्यता नविकरणमा चलखेल भएको भन्दै केही व्यवसायीले भने छुट्टै उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेका छन् ।


















प्रतिक्रिया