१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

सदरमुकाममै थन्कियो पहिरो पीडितको राहत



म्याग्दी । म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकाका पहिरो प्रभावितका लागि सङ्कलित राहत सामग्री सदरमुकाम बेनीमा थन्किएको छ । पहिरो गएको एक हप्तासम्म पनि पर्याप्त राहत सामग्री ढुवानी हुन नसक्दा पीडितको दैनिकी कष्टकर बनेको छ ।

पहिरोबाट आफन्त, घरबास, बस्तुभाउ र जग्गाजमिन गुमाएका पीडितको तथ्याङ्क सङ्कलन, वर्गीकरण र बसोबास व्यवस्थापनमा ढिलाइ भएको छ । राहत वितरण व्यवस्थित नहुँदा एकरुपता हुन सकेको छैन ।

दैनिकजसो हेलिकप्टर उडे पनि खाद्यान्न, लत्ताकपडा, खानेपानीको पाइपलगायत सामग्री ढुवानी नभएकाले पहिरो पीडित समस्यामा परेका मालिका–७ बाइन्दफाँटका खिमन जुग्जालीले बताए । पहिरोले घर भत्काएपछि बिमका विभिन्न ठाउँका ६२ परिवारका २८४ जना बसेको मालिका आधारभूतको अस्थायी शिविरमा खाद्यान्न, लत्ताकपडा, सरसफाइ र खानेपानीको अभाव छ ।

दैनिकजसो हेलिकप्टर उडे पनि अति आवश्यक राहत सामग्री नपाएको बिमका पहिरो पीडित राजमान दर्जीले बताए । बिमको दुले, तल्लो गाउँ र नौरुमा गत शुक्रबार बिहानको पहिरोले आठ जनाको मृत्यु भएको थियो ।

एक जना घाइते भएका थिए । हेलिकप्टरमा आउनेले धौलागिरि गाउँपालिकाको मराङ र शिवाङमा मात्र पुगेर विभेदपूर्ण व्यवहार गरेको बिमका पहिरो पीडितले गुनासो गरेका छन् । मुख्यमन्त्री र मन्त्री आएको सेनाको हेलिकप्टरमा बिहीबार बेनीबाट राहत सामग्री पठाउन सङ्घीय सांसद भूपेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले तयारी गरेका थिए ।

मन्त्रीहरु पीडितसँगको कुराकानी र स्थलगत निरीक्षण गर्ने खाली समयमा हेलिकप्टरबाट बेनीबाट बाइन्दफाँट, आरबाङ, राम्चे, शिवाङ र धारापानीमा राहत सामग्री पठाउन अर्थुङ्गेस्थित ब्यारेकमा सामान लगेर राखिएको थियो ।

‘सडक अवरुद्ध भएका कारणले स्थलगतरुपमा तत्कालै अतिआवश्यक सामान हेलिकप्टरबाट पठाउन तयारी गरेका थियौँ’, प्रजिअ ढकालले भने, ‘सामान ढुवानी नगरी सेनाको हेलिकप्टर फर्कियो । हाम्रो मेहनत खेर गयो । बेनीमा सामान भएर पनि पीडितसमक्ष पुर्‍याउन नसक्दा दुःखित भएका छौँ ।’ दैनिकजसो हेलिकप्टर चडेर पहिरो प्रभावित क्षेत्रमा जाने होडबाजीले राहत सामग्री ढुवानी प्रभावित भएको छ ।

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित पहिरोबाट अति प्रभावित बिम, मराङ, ताकम र देवीस्थान जोड्ने सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ । दर्जनौँ ठाउँमा पहिरो गएकाले पहिरोमा बेपत्ताको खोजीमा सुरक्षाकर्मीसमेत एक दिनपछि पुगेका थिए ।

सडक नभएकै कारण दाताले पीडितका लागि दिएको राहत सामग्री बेनीको जिसस भवनमा बनाइएको गोदाममा थन्किएको प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाले बताए । धेरै जना एकै ठाउँमा बसेका र बसोबास व्यवस्थित नभएको तथा खानेपानी आयोजनामा क्षति पुगेका कारणले दूषित पानीका कारण लाग्ने रोगको जोखिम छ ।

धवलागिरी गाउपालिका–६ मराङको कल्लेनी, दमका, राम्चे र रिखामा १९ जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएका कल्लेनीका दुई जना अझै बेपत्ता छन् । मराङका ७२ घरमा पूर्ण क्षति हुँदा ५१५ जना विस्थापित भएका छन् । पहिरोबाट घरबास गुमाएका र जोखिममा रहेकालाई सामुदायिक विद्यालयमा राखिएको छ ।

सामाजिक विकासमन्त्री नरदेवी पुनले समन्वयमा कमजोरी हुँदा बेनीबाट बिहीबार पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गर्न नसकेको स्वीकार गरिन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सेनाको हेलिकप्टरलाई एक पटक मात्र उडान गर्न सिफारिस गरेकाले चाहेर पनि सामग्री लैजान नसकेको बताए ।

आज हेलि मगाएर ढुवानी गर्न पहल गरेको मन्त्री पुनले बताइन् । राहत र पहिरो पीडितको व्यवस्थापनको कामलाई सहजा बनाउन दरवाङदेखि ताकम हुँदै मुना र बिम हुँदै मराङ जोड्ने मर्मतको लागि जिल्ला समन्वय समितिले रु एक करोड विनियोजन गरेको प्रमुख देवेन्द्र केसीले बताए । रासस

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : ०९ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले