काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमण अत्याधिक बढ्दै गएपछि उपत्यकाका तीन जिल्लाको दैनिक गतिविधिमा थप कडाई हुनेभएको छ ।
उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आइतबारदेखि १५ दिन अत्यावश्यक सेवाबाहेक जिल्ला प्रशासनले प्रत्यायोजन गर्ने सेवा १५ दिन स्थगित गर्ने निर्णय गरेको हो ।
शान्ति सुरक्षा र अत्यावश्यक सेवाबाहेकका अन्य सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
सीडीओ बैठकले उपपत्यकाभित्र जहाँ संक्रमण हुन्छ त्यहाँ तत्कालै सिल गरेर मानवीय गतिविधि ठप्प पार्ने निर्णय गरेको छ । जसअनुसार अहिले सबैभन्दा धेरै संक्रमण देखिएको असन, महावौद्ध र टेकु क्षेत्र सिल हुनेभएको छ ।
उपत्यकाका सपिङ मल एवं व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको हेर्ने, नभएको पाइएमा तत्कालै बन्द गराउने समेत निर्णय भएको छ ।
बैठकले काठमाडौं प्रवेशलाई पनि थप कडा बनाउने निर्णय भएको छ ।
भाइरसका संक्रमित बढेसँगै अस्पतालहरुमा बेडको अभाव देखिन थालेका कारण उपत्यकाका तीन वटै जिल्लामा रहेका क्वारेन्टिनस्थलहरुलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गरिएको छ । यो प्रस्ताव गृहमन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा पठाउने निर्णय समेत भएको छ ।
आम मानिसलाई जथाभावी नहिँड्नका लागि आग्रह गर्ने, घरबाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, आग्रह अटेर गर्नेलाई तत्कालै कारवाही गर्ने निर्णय पनि तीन सीडीओले गरेका छन् ।
अत्यावश्यक बाहकेका अन्य सेवा रोक्न पनि तीनै जिल्लाका सीडीओबीच सहमति भएको छ । सरकारी कार्यालयहरु पनि आंशिक रुपमा मात्र खुल्नेछन् ।
प्रतिक्रिया