२१ मंसिर २०८२, आइतबार | December 7, 2025

यसपालि तीजको रमझम छैन



बागलुङ । स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे । गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक संघसंस्था, महिलाका संगठनलगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे ।

यसपालिको तीज पर्व खल्लो र निरस छ । दुई दिनअघिसम्म तीजको रमझम छैन । महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ । कोरोना संक्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ । कतिपय स्थानीय तहले त दिदीबहिनीलाई माइत नजान आग्रह नै गरेका छन् । तीजको छेकोमा गरिने मेला, प्रतियोगिता स्थगन गरिएको छ ।

बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडामा आयोजना हुने ऐतिहासिक तीज मेला यसपालि नहुने आयोजकले जनाएको छ । ‘तीज गीत प्रतियोगितालगायतका कुनै पनि औपचारिक कार्यक्रम यो वर्ष नगर्ने निर्णय ग¥र्यौं,’ नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले भनिन्, ‘दूरी कायम गरेर महिला, दिदीबहिनीहरु भेट हुने, सामान्य नाचगान गर्नेसम्म हुनसक्छ ।’

सोही ठाउँमा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा पनि भीडभाड नहुने गरी पूजापाठको व्यवस्था मिलाइने भएको छ । विगतको सशत्र द्वन्द्वका बेला केही वर्ष रोकिएको नाच्ने डाँडाको तीज मेला अहिले भने कोरोनाको मारमा प¥यो ।

बरेङ गाउँपालिकामा लाग्दै आएको जिल्लाको दक्षिण भेगकै ठूलो तीज मेला पनि यो वर्ष स्थगन भयो । सरकारले नै मेला, महोत्सव आयोजनामा रोक लगाएकाले तीज मेला गर्न नसकिएको आयोजक ग्रामीण जनसहभागिता विकास केन्द्रले जनाएको छ ।

केन्द्रले तीज मेलाका अवसरमा विविध खेलकुद प्रतियोगितासहित सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम आयोजना गथ्र्यो । बागलुङ नगरपालिकाको रुद्रेपिपल, मालिका काठेखोला गाउँपालिकाको रेशलगायतका ठाउँमा आयोजना गरिने तीज मेला पनि यो वर्ष भएनन् । गाउँठाउँमा आयोजना हुने मेला, उत्सवका मौकामा हुने व्यापार पनि यो वर्ष गुम्यो ।

तीजका बेला बजारमा हुने किनमेल पनि ह्वात्तै घट्यो । तीजका मेला, समारोह नै नभएपछि महिलालाई पनि पोशाक र सौन्दर्यका सामग्री किन्नुपर्ने बाध्यता आइपरेन । तीजको सम्मुखमा अलिअलि भइरहेको कारोबार पनि अकस्मातको बजार बन्दले मारमा परेको व्यवसायी बताउँछन् ।

बजार, यातायात बन्दले कतिपयको माइत जाने योजना पनि बीचमै तुहिएको छ । सौन्दर्य व्यवसायी सावित्री पुनले कोरोनाले गर्दा माइत जान नपाएको प्रतिक्रिया दिइन् । ‘गएपनि उतै रोकिनुपर्छ कि भन्ने डर छ, अब त गाडी, बजार सबै बन्द हुने भएपछि जाने कुरै भएन’, उनले भनिन्, ‘यो वर्ष कोठामै बसेर तीज जाने भयो ।’

कोरोना संक्रमणको जोखिम बढेपछि मंगलबारदेखि एक सातासम्मलाई बागलुङ नगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक काममा बाहेक हिँडडुल गर्नसमेत रोक लगाइएको छ । चाडबाडमा हुने भीडभाड र आवातजावतले कोरोना संक्रमणको जोखिम थप बढ्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको जनाइएको छ । निषेधाज्ञा जारी गर्ने बागलुङ नगरपालिकाको सिफारिसलाई जिल्ला कमाण्ड पोष्टले सहमति दिएको हो । यसअघि वडाध्यक्षमा कोरोना देखिएपछि बडिगाड गाउँपालिका पनि सात गतेसम्मलाई ‘सिल’ गरिएको छ ।

यो वर्षको हरितालिका भदौ ५ गते छ । अघिल्लो दिन दिदीबहिनीलाई दर खुवाउने चलन छ । महिला पतिको सुस्वास्थ्य र दीर्घायूका लागि तीजमा व्रत बस्छन् र भगवान् शिवको आराधना गर्छन् । रासस

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ८ : ४१ बजे

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको