११ जेष्ठ २०८१, शुक्रबार | May 24, 2024

साउने झरी



लेखक

मध्य साउन । औंसीको रात । बाहिर झ्याम झ्याम पानी परेको छ । बलेसीको सुमधुर गीतले बिउँझायो राती २ बजेतिर । उठेर बाहिर हेरेँ । मलाई पानी दर्केको औधी मनपर्छ । नीरवता भित्र वर्षाको रजाईं छ । सडक बत्तिको प्रकाशसित लहरा परेर वर्षेको छ साउने झरी । कति मीठो झरी । झरीको सौन्दर्य अद्भूत् । त्यसैले होला गत वर्ष झरीको सौन्दर्य भन्ने कृति नै प्रकाशित भयो । मन अघाएन । झरीको सौन्दर्यभित्र समाधी कसेर कता कता हराइदिन मन लाग्यो ।

सुनसान रात निरवछिन्न वर्षाको एकान्त मिलनको लुकामारीको साक्षी बनेर हेर्दैछु लुकीलुकी । यो प्रकृतिको आत्मिक मिलन । आकाश वर्षेको छ । धरती थापिएकी छन् । सबैले देख्न सक्दैन यो रातको सौन्दर्य । सौन्दर्यानुरागी साँच्चै संसारमा कति होलान् भनेर सोच्दैछु घोत्लिएर ।

मलाई झरी मन पर्छ । झरीमा भिजेर काम गर्दाको मजा अर्कै हुन्छ भन्ने कुरा जीवनमा धेरै पटक अनुभूति गरेको छु । वर्षाको पानी कपालको लटा र आँखीभौंबाट निर्झरिणी बनेर झर्दा शरीर रोमाञ्चित हुने गर्छ । अहिले पनि मौका पदा वर्खे झरीमा थापिन्छु आनन्दअनुभूतिका लागि । सुमधुर झरीको स्वरसँगै मयुरझैं सडकमा एक्लै नाङ्गै भएर नाचिदिन मन हुन्छ यो नीरवताभित्र । कसैले देखेर पागल भनिदिन्छ कि भन्ने डरले आँट गर्न सक्दिन । अनि म टोलाउँछु एकान्तमा बसेर ।

झरी सुमधुर सौन्दर्य सौन्दर्य छर्दै झनपछि झन दर्किदै छ । आँखाको अगाडि मात्रै होइन मुटुको एउटा छेउमा यसको मीठासको अनुभूति हुँदैछ भने यसको विद्रुप चित्र पनि अगाडि आइरहेको छ । गुन र बैगुन दुवै उपहार सँगसँगै लिएर आएको छ प्रकृतिले ।

मलाई असीम आनन्दका लागि कतै खर्चिनु र भट्किनु छैन । मौसमसित आत्मिक प्रेम सम्बन्ध गाँसिसकेको छु मैले र जढ पत्ता लगाई सकेको छु आनन्दको । हाम्रा ज्ञानी ऋषिमुनिहरुले एकान्त नदी किनार वा गिरिगह्वरतिर छिरिदिन्थे । नदी प्रवाहको सुमधुृर सुसाईभित्र केवल अमृतानन्दको मीठास मात्रै होइन ज्ञानको संगम पनि भेटिन्थ्यो समाधीभित्र । आनन्दको सागरभित्र पौडी खेल्ने साधकीलाई प्रकृतिको न्यानो काख प्रयाप्त छ । मान्छेले प्रकृतिलाई चिन्दैन, मौसमको सोन्दर्यानुभूति गर्न सक्दैन र कृतिम सुखका लागि भड्केको छ सतहमा र विचलित भएको छ ।

यो वर्ष निकै पानी प-यो । दिनभरी पानी प¥यो छतमा उक्लेर चारैतिर हरेँ । चन्द्रागिरि घुम्म छ, नागार्जुन र शिवपुरीको डाँडो देखिँदैन । कतिदिनदेखि धरतीले सूर्यको स्पर्श गर्न पाएकी छैनन् । बिहान सधैं रिसाएको हुन्छ । कालो मुख लगाएको हुन्छ । असार साउनमा रिसाउने बानी परेको छ वर्खे मौसमको । आज पनि दिनभरी पानी प-यो । साँझ सुत्ने बेलामा सिमसिम पानीको सुमधुर स्वरमा निद्रादेवीको काखमा लठ्ठीएको थिएँ । रातीमा निर्कै दक्र्यो र बिउझैं । झरीको सौन्दर्यसित अलिकति निन्द्रा पनि थपियो ।

सबैकुरा ठीक्क जाती हुने रहेछ । अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टिको कुरा हुन्थ्यो । कहिले कहिले । यो वर्ष अतिवृष्टिको पालो रहेछ । असारदेखि नै पर्न थालेको पानी थामिएको छैन अझै । मौसम अनुमान महाशाखाले अझै साँखुम गर्ने छाँटकाट छैन भन्दै छ ।

पहाडतिर पैरो गयो । मधेश डुवानमा प-यो । लाखौ मानिस प्रभावित भए । हजारौं घर डुवानमा परे । सयौ मानिसको ज्यान गयो । हजारौं परिवार विस्थापित भए । यतिखेरै कोरोनाको महामारी छ । जनता बन्दाबन्दीमा थुनिएका छन् । आवत जावत र सरसम्पर्क कठिन छ । उद्दार, राहत र पुनस्र्थापना कठिन भएको छ । राष्ट्रको मन दुखेको छ । झरी सुमधुर सौन्दर्य छर्र्दै झन्पछि झन् दर्किदै छ । आँखाको अगाडि मात्रै होइन मुटुको एउटा छेउमा यसको मीठासको अनुभूति हुँदैछ भने यसको विद्रुप चित्र पनि अगाडि आइरहेको छ । गुन र बैगुन दुवै उपहार सँगसँगै लिएर आएको छ प्रकृतिले । हामी ती दुवै ग्रहण गर्न तयार हुँदै छौ धैर्यतापूर्वक ।

पानी पर्दैछ । पृथ्वीले आवश्यक जलग्रहण गर्छिन् । आवश्यक भन्दा बढी वर्षाको पानी कमजोर पहाड पाखा पखेरालाई थामेर राख्न सम्भव हुँदैन । अत्यधिक पानीको बोझले गलेको जमिन एकैचोटी बगिदिन्छ पहिरो बनेर । कमजोर भूबनोटमा बसेका गाउँ बस्तीहरु एकैचोटी बगेर गए । धनजनको क्षती भयो ।

मानिसले आफ्नो स्वार्थका लागि प्राकृतिक भूबनोट माथि अतिक्रमण गर्दैछ । डाँडा पाखा पखेरातिर जथाभावी डोजरको प्रयोग गरेर बाटो धाटो र अन्य संरचना निर्माणको नाममा भत्कायो । प्रकृति माथिको अति दोहन र अतिक्रमण सहन सक्ने संभावना रहेन । त्यसैकारण यो वर्ष अलिकति बढी वर्षा हुनासाथ ठूलो नोक्सान व्यहोर्न परिराखेको छ ।

नदी किनारमा बस्ती बस्यो । नदीलाई स्वतन्त्र रुपमा बग्न दिइएन । गिटी वालुवाको दोहन नदी नालाले सहन सक्ने अवस्था रहेन । नदी नाला यस पटक बढीनै रिसाए । आसपासका बस्ती डुबाइदिए । खेतका फाँटभित्र छिरेर ताण्डव नृत्य देखाए तराइतिर ।

वर्खाको दौडधुप युगौंदेखि बेहोर्दै आएको छ मानव जातिले । तरपनि निहित स्वार्थका लागि पर्यावरणको रक्षा गरेर आफूलाई प्राकृतिक नियम अनुसार हिँडाउन सकेन । प्रकृति आफ्नो नियममा चल्छ, प्रकृतिको नियम नमान्ने अराजक र अनुशासनहीन मानिसलाई प्रकृतिले समय समयमा सजाँय दिँदै आएको प्रष्टै छ । प्राकृत प्रकोपसित डराउँथे उतिखेरका मानिसहरु । विभिन्न अवसरमा प्रकृतिको पुजा गर्ने र चाडको रुपमा मनाउँथे पनि ।

वर्षा ऋतुलाई कालमास भनेर आरोप पनि लगाउँथे । अध्याँरो महिना भनेर साउनलाई आरोपित गरिन्थ्यो । मलाई कालमास भनेको मन पर्दैन । वर्षा ऋतुमा झरी बादल हुनैपर्छ । एकसाल पानी नपरोस् धरतीमा अनि के हाल हुन्छ ? कसैले अनुमान गरेको छ । खाडीतिर पानी नपरेर पनि मानिस बसेकै छन् भन्लान अल्पज्ञानीले । मौसम अनुसार उत्पादन गर्ने देशले पालेका छन् मरुभूमिका जनतालाई । बाली विज्ञान र प्रविधिको विकासले केही खेतीपाती भए पनि त्यो सबै प्रयाप्त हुदैन ।

चैत जल्नुपर्छ, साउन गल्नुपर्छ भन्छन् किसानहरु । चैत्रमा पानी परे गाई रुन्छन् पनि भन्थे । चैत जल्यो भने माटो पाक्छ । सूर्यको प्रकाशबाट चैत्र बैशाखमा उर्वर उर्जा ग्रहण गर्छ पृथ्वीले । खेतीपातीका लागि त्यो आवश्यक छ । सूर्यको ताप र प्रकाश खेतीपातीका लागि मल हो । खेतीपातीका लागि त्यो आवश्यक छ । सर्यको ताप र प्रकाश खेतीपातीका लागि मल हो भन्ने कुरा हाम्रा पुर्खालाई राम्रो ज्ञान थियो । अनुभव सिद्ध ज्ञान । साउन सुख्खा भयो वा कम पानी पर्यो भने खेतीपाती सप्लाउँदैन । आकाशे पानी पनि बाली नालीका लागि मल हो । साउनमा एउटा तारा देखियो भने सयमुरी धान उब्जन्छ भन्थे बुढाबाले । साहुनको रिसाएर अँध्यारो अनुहार देख्दा किसानको अनुहार अत्यासिँदै जान्छ । यो अँध्यारो र उज्यालोको बीच कति गहिरो सम्बन्ध छ, अनुमान गर्न सकिन्छ ।

कार्तिक मंसिरमा बाली भित्र्याउँछन् किसानले । वर्खामासमा अन्नपात कम हुँदै जान्छ । वर्षामा आवतजावत कठिन हुने बाटो धारो बन्द हुने भएकोले हिउँदमै वर्षामासका लागि भने अलग्गै सोँझ गरिन्थ्यो । चैतको खडेरीमा विशेष घाममा तीनचार मुरी हुनेले त्यो भन्दा बढी धान निकालेर सुकाउने कुट्ने र फलेर वर्खे सोज भन्दै थन्काउने चलन थियो । वर्खामा पानी पर्ने चिसो हुने भएकोले कुटनपिसनको काम पनि फुर्सदको समयमा भ्याएर किसानले मौसम पर्खेर बस्छन् । समयमा पानी परेन भने किसानको मन आतिन्छ । असार लाग्दा नलाग्दै किसानले मौसमको स्वागतका लागि साँझ बिहान आँखा लगाउँछन् । असार साउनको बिहान रिसाएर घुम्न अनुसार लगाउँदा किसानहरुको मन खित्का छाडेर हाँस्छ । असार साहुनको बिहान खुल्यो र छर्लंग घाम लाग्यो भने आज बसिबिँयालो पर्ने भयो भनेर किसान निरास हुन्छन् । खुशी र निरासाको लुकामारी चल्छ किसानलाई यो मौसमको बीचमा ।

अहिलेसम्म पनि हाम्रो गाउँघरको नियती यस्तै छ । यो लुकामारी फेरिन एउटा छुट्टै कृषि क्रान्तिका आवश्यक होला । प्रणाली हामीले फेर्न सकौँला तर मौसम फेर्न सम्भव छैन । मौसम अनुसार चलिदिनुपर्छ मानिसले । चैत्रमा धुलो बसाउँछ । साहुनमा हिलो बगाउँछ ।
खेत रोपीसकेपछि खेतको आलीमा बसेर साँझ बिहान भ्यागुताको ट्वार ट्वार सुन्दा तरङ्गित हुन्छन् हाम्रा चेतनाका तालुहरु । रोपेको पन्द्रदिन नहुँदै पात फर्किन थाल्छ रोपोको मन्द पवनको स्पर्सले । मानिसको जीवन त्यसैमा अडेको छ । साँझबिहान हिलो छड्किन्छ किसानको कसौँडीमा । शहरका प्रेसर कुकुरको सिठ्ठीले किसानको उच्चवास आकलेको हुन्छ ।

कृषि व्यवसायले खोल्यो मानव चेतना र निकाशको धारा । नयाँ नयाँ औजारको आविस्कार र रैथाने जीवनलाई व्यवस्थित गर्यो बर्खे मौसमले । जंगली जनावर रत्याएर खेती पातीमा सघाउन तालिम दिन थाल्यो । गुफाबाट निस्केर खेतबारीको छेउछाउ रमाउने कटेरी हालेर घाम पानीबाट ओत लाग्न सुरु गर्यो । आधुनिक महलको जगमा स्याउलाका छाप्राहरु भेटिन्छन इतिहास खोजदै जाँदा । मानव सभ्यता र उच्चतम चेतनाको विकास पनि त्यहाँबाटै सुरु भएको छ । त्यसैले वर्खे मौसमको महत्वसित आधुनिक सभ्यताको अनुहार प्रतिविम्बित हन्छ धान खेतको पानीमा ।

राङ्खानी र दरमखोलाका किनारहरु पनि कम छैनन् । गीतमा मौलिक रस र मिठास छ । रातदिन रातारात लोक दोहोरीमा हारजीत हुन नसकेर सम्झौता गर्छन् आँशु कलाकर्मीहरु यो अद्भूत प्रतिभाको अजेय स्रोत र मौलिक सम्पत्ति हो ।

त्यसैले मलाई असार साउन मनपर्छ । असारको दवदवे हिलो मनपर्छ । असार पन्द्रमा दवदवे हिलो खेलेर त्यतिकै रमाएका होइनन् हाम्रा पुर्खाहरु । मानव सभ्यताको र विकासको जग हिलोमा रोपेका थिए । साउन मेरो जन्म महिना पनि हो । त्यसैले पनि मलाई साउनको रौद्ररुपलाई मानव चेतनाको उद्गम ठान्छु । कमजोखिम मुक्त भौगोलिक बनोटबाट सुरक्षित ठाउँमा बसाईं सर्न निर्देशन गरेको छ यस पटकको बाढी पहिरोले ।

यो वर्ष निकै पानी पर्यो । आकाशको पानी प्रयाप्त सोसिन धरतीले । जमिन मुनिका रित्तिदै गएका जलभण्डारहरु भरिए यसपटक । सुकेका इनारहरु छचल्किए यस पटकको बर्खे भेलमा । एक दुई वर्ष खडेरी भन्के पनि आन्तरिक जल भण्डार सुरक्षित छन् भनेर हामी ढुक्क हुने अवसर बनेको छ । सुक्दै गएका मुल फुटे पहाडतिर । जङ्गल जल भण्डारका अजम्बरी स्रोत हुन् । प्रयाप्त जल सञ्चित गरेर ढुक्क देखिन्छन् हरिया पहाड र तराइका जङ्लहरु । अतिवृष्टिको यो सुन्दर रुप हामीले देखेका छौ ? रित्तिदै गएका सरोवरतिर जनावरहरुले गहिराई नापेर कति खुशी भएका होलान् यस पटक । खेतका आलीबाट फड्को मार्दैहोलान असला र बुधुनाहरु । काकाकुल कराउन छाडेर ढुक्क बसेका छन् पानी व्यास मेटेर । जमिनमुनिबाट निस्केर सर्पहरु पोखरीमा पौडेर आहारा टिप्दै छन् । यो हाम्रो बाँच्ने प्रणाली हो । सबै एकैसाथ रमाउने अवसर पनि हो । यो रसिक सौन्दर्यको अनुभूति गर्न सक्नुपर्छ हामीले ।

साउने भेलसँगै विरह गीत पोखिन थाल्छन् गाउँ पाखा पखेरातिर । एउटा गीत सबै गुन्जिन्छ मेरो कानमा । भाका फेरेर विरह पोखिन्छ यसरी :

पानी आयो चार दिशा घेरेर, काँ बसेर रुँ धोको फेरेर
पानी पर्यो सालघारी सुस्यायो, वर्खा लाग्यो भेट हुन हरायो ।।

यी विरह गीत बर्खा ऋतुका साँस्कृतिक उपहार हुन, लोकजयका । लोक गीत सङ्गीत र भाकाहरु गण्डकी प्रदेशतिर काली, सेती र मस्याङ्दीको छालसित तरङ्गित हुँदै गुन्जिन्छन् पाखा पखेरातिर । पानीपधेँरो, घाँसदाउरा गर्दा छोरी बुहारीले गुनगुनाउने मर्म हुन् यी । मेलापात गर्दा घन्किने दुःख दर्दका आत्मिक प्रस्फुटन हुन् ।

मौसम अनुसार लय, भाका र स्वर गुन्जिन्छन गाउँघरतिर । सुरिला भाकामा गुन्जिन्छन् पाखा पखेराहरु । चरीले साथ दिन्छन् बिरहका । न्याउली चरीले साथदिन्छे विरहको गीतमा । गाउँले स्वर एकाकार छन् प्रकृतिसँग । खोलानाला र छाँगा छहराले राग थापिदिन्छन् उतै । नदीका उर्लेका छालले कलिला मनलाई आली दिन्छ । अनि पोखिन थाल्छन् रागहरु । कतै काली र सेतीको छालसित सुुसाइदिन्छन्, कतै मादी र मस्याङ्दीका लहर सित उर्लेर आउछन् । आँधी खोलाको सुसेलीमा लोकभाका रचिन्छन् विरह पोख्दै । राङ्खानी र दरमखोलाका किनारहरु पनि कम छैनन् । गीतमा मौलिक रस र मिठास छ । रातदिन रातारात लोक दोहोरीमा हारजीत हुन नसकेर सम्झौता गर्छन् आँशु कलाकर्मीहरु यो अद्भूत प्रतिभाको अजेय स्रोत र मौलिक सम्पत्ति हो । मौसम अनुसार भाका फेरिन्छ । लोक धुन घन्किन्छ । कोमल मनहरु साउने भेल झै घर्किन थाल्छन् । कतिका आँखा रसाउँछन् उसै ।

म भने मौसमको खेलमा खित्का छोडेर हाँसी दिन्छु । म हाँस्न जन्मेको हुँ यो पालिमा । हाँसेरै बाँच्नै छु युगयुगसम्म । मलाई रुन आएन कहिले पनि । त्यसो त म सम्वेदनहीन ढुंगाको मुटु भएको मान्छे पनि होइन । मौसम परिवर्तन हुन्छ । ऋतु फेरिन्छ । तर प्रकृतिको अनुहारको कान्ति झन् उज्यालिन्छ । मुस्कानमा कमि आउँदैन । नयाँ नयाँ सौन्दर्यको परक हुन्छ ऋतु अनुसार । मैले हाँसेर बाँच्ने कला सिक्दैछु प्रकृतिबाट । मेरो बिहान सँधै हाँसेको हन्छ । सक्कली हाँसो हाँसेको हुन्छ । हरेका बादलमा चाँदीको घेरा हुन्छ, त्यसै भनिएको रहेनछ । साउनको रिसाएको बिहानभित्र मुस्कानको बहार छिपेको छ । विश्वका करोडौ किसानको अनि घरानको अनुसार रसिक बनेको किसानको मुस्कानसँगै मलाई विरह गीत गाउन आएन कहिल्यै पनि । प्रतिकुलतामा अनुकुलता भेट्ने लत बसिसकेको छ । रुवाइ रोकिन सक्छ आँशु सकिएपछि, तर हाँसो र खुसी अमिट छ प्रकृतिको अनुहारमा । वर्षा ऋतु पर्खेर बसेको छ शरदको बिहानीले । रातको सौन्दर्यपछि बिहानीको बहारको मजा अलग्गै हुनेछ ।

निकै बेर घोरिएँ दर्केको रात हेरेर । समय घर्केको पत्तै भएनछ । झरीको सौन्दर्यसित बगिदिएछु तलतल । कसैले नदेख्ने गरी यो रातको तिरवता कसैले भेउ पाउने कुरा पनि भएन । पानी दर्किन्छ । अनि सुस्ताउँछ एकैछिन । झयाम् झयाम् परेको पानीको धुनले शरीर लठ्ठिन्छ । चिसो हावाको स्पर्श हुन्छ उतिखैरै । अनि पातलो च्यादरभित्र लपेटिन्छु कान थाप्दै ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १२ : २३ बजे

तमोर-मेवा जलविद्युत् आयोजनाको काम सुरु

ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित

भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

म्याग्दी । भिर महको निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको

आइपिएलको दोस्रो क्वालिफायरमा सनराइजर्स र राजस्थान खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरको खेल

कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको

तारकेश्वरका १२ हजार बालबालिकालाई खोप लगाइने

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी