१५ बैशाख २०८१, शनिबार | April 27, 2024

मन भित्रको मन



यो मेरो मन तरङगित, चञ्चल र अविश्रान्त मन, केही खोजिरहेछ माथि माथि आकाशमा उडेर ब्रमाण्डको अंशियार बन्न । ताराहरू टिपेर पोल्टो भर्न खोजिरहेछ । रविको तरङ्गित तरङ्गसित लहवरी खेल्दै केही आर्जन गर्न खोजिरहेछ । मन तड्पिरहेछ केही पाउन तर यो मनले के खोजिरहेछ आफैलाई थाहा छैन ।

यसले कुनै पदप्रतिष्ठा खोजेको छैन । भौतिक मोह पनि पटक्कै छैन । जीवन र जगतप्रति कुनै आशक्ति पनि होइन । आफन्त र पराय भन्ने पनि छैन । भेद र वैमनश्य पनि कसैप्रति छैन । तर पनि मन साँखुम छैन । मन अघाएको छैन । मनले के के खोजिरहेछ ? मन किन अधैर्य, अस्थिर र चञ्चल रहन्छ ? सायद यो गतिको नियम होला । वस्तुको अस्तित्व गतिमा टिकेको छ, अडेको छ । गतिको अर्थ हो परिवर्तन । विकास र परिवर्तन पो खोजेको हो कि ?

मनले साँच्चै बाँच्ने बाटो खोजिरहेको छ । बाँच्ने उपाय खोज्दैछ । ओरालो लागेको जून अस्ताचलतिरको यात्रा, शेष जीवनको उत्कृष्ठ कर्म के होला भनेर यो अधैर्य मन टोलाईरहेको हो कि ?

लेखक

मनका विभिन्न आयाम, रूप र रङ् हरू छन् । हराभरा र उर्वर मनले सधैं बोकेको हुन्छ सप्तरङ्गी इन्द्रेणीको सौन्दर्यलाई । घामपानीसित धारामा पोखिएको इन्द्रेणी टिपेर शरीरमा सजाउन चाहन्छ उतिखेरै । जीवनमा रङ् भरेर मुस्कानको बहार ल्याउन चाहन्छ उतिखेरै । चंगाझै माथि माथि उडेर जूनतारा टिप्न खोज्छ अन्तरिक्षको दूरी नाप्दै र हिसाब राख्दै । अनन्त आकाशमा वास्तुशास्त्रका रेखा कोरेर वस्ती बसाउन चाहन्छ यता धरतीतिर अर्घेला भएका अनाथ विपन्नको ।

‘मनको बह कसैलाई नकह’ भन्छन् कतिले । तर मनको गाँठो बाँधी राख्न चाहन्न मेरो मनले । मनको वह सबैसित पोखुँ पोखुँ हुन्छ । पोखिन पाए मन हलुङ्गिन्छ । बाँच्ने ओउतो खोज भन्छ मनले । बाँच्ने सञ्जीवनी छ भने कसैसित, भनिदिए हुन्छ समयमै । सञ्जीवनी पिएर दीर्घजीवी हुने रहर पनि छैन । तर म पुस्तौं पुस्तासम्म मर्न चाहन्न । प्रकृतिको सार्वभौम नियतिको विरोधमा छैन म । मन भन्छ तँ सधैं बाँच्ने होइनस् । जीवनसित मृत्यु सँगसँगै यात्रा गरेको छ । तर मलाई जसरी पनि बाँच्नु छ । बाँच्ने उपायको खोजीमा मन अधैर्य, अस्थिर र चञ्चल बनेको छ । म बाँचेर मर्न चाहन्न । मरेर बाँच्ने बाटो खोज्दैछ मनले ।
मन समयको वेग र सम्वेग हो । समयको छालसँगै मूलप्रवाहमा बग्न नसक्दा कतै किनारतिर ठोकिन पुग्छ । कतै डरलाग्दा भूवरीमा चक्कर काटेर अलमलिइरहन्छ । जीवनको गन्तव्यहीन भूँवरीमा फन्को मार्दै गर्दा जीवन झरेको पत्तै नहुने रहेछ । गोल पृथ्वीको चक्कर लगाएर मन अघाएन । मलाई मन भित्रको मन खोज्न मन छ र मनको गहिराई नाप्ने रहर छ ।

मनको गहिराईभित्र मन खोज्नुपर्छ
समुद्रको गहिराइमा मात्रै समुद्र भेटिन्छ
समुद्र पानीको भण्डार हो
तर पानी समुद्र हुन सक्दैन
मन दयाको खानी हो
तर दया मनको खानी हुन सक्दैन
मन छाम्न मनभित्रै छिर्नुपर्छ
सतहमा त केवल छाल मात्रै भेटिन्छ
तर
गहिराइ नाप्न भने निकै गाह्रो छ ।

मन सत् र चितको संगम हो । सत् र असत्को परख गर्न सक्छ सच्चा मनले । ढुंगाको मन बोकेकाहरूले मनभित्रको गहिराई नाप्न सम्भव छैन । मनलाई धमिलाई दिएको छ प्रदुषित विश्व परिवेशले । लोभी मनलाई बगाई दिन्छ प्रदुषित खहरेले । असल कर्ममा आकर्षित हुने मनको पनि कमी छैन वर्तमान सामाजिक व्यवस्थामा । मन एक रूप अनेक । चन्द्रमाको चाँदनीमा पनि दाग देख्छन् कतिले । असल र खराब, सत्य र असत्य बीचको द्वन्द्ववाद प्रकृतिको नियम नै हो भन्ने मान्छ विज्ञानले । भौतिक विज्ञानले विकसित गरेको वर्तमान विश्वमा भेटिन्छन् पक्ष र विपक्षहरू । भित्र मन सफा छ भने बाहिरी मय पखालिन्छ शुक्ल कर्मले । त्यसैले नीतिशास्त्रमा भनिए होला ‘मुहूर्तमपि जिवेत नरशुक्लेण कर्मणी ।’ अमरात्व अन्तर्निहित छ चोखो मन र शुक्ल कर्ममा ।

मन विश्वास र अविश्वासको संगम हो । ढुंगाको मूर्तिमा विश्वास गरेर शरण पर्छ कमजोर मन शान्ति आर्जनका लागि । भएको बिम्ब बनेर उभिएका छन् हाम्रा देवताहरू र वणिकको चंगुलमा फसेका छन् भक्तजनहहरू । मलाई स्वर्गको विश्वास छैन । ‘नमरी स्वर्ग देखिन्न’ भन्छन् । मेरा मरेका अग्रज आएर आजसम्म स्वर्ग यस्तै छ भनेर देखाएका छैनन् । म सधैं बाँच्न चाहन्छु । त्यसैले स्वर्गको चिन्ता छैन । मलाई विश्वास छ, जे छ मभित्रै छ । मेरै मनको गहिराईको मप्रति विश्वासमा छ । पञ्चतत्वको समृद्धि हो मेरो मन । पृथक संसारप्रति विश्वास छैन । वर्तमान विश्वमा देवी देवताका मूर्ति र संस्कृति सम्पदा विकाउ माल बनेका छन् । मूर्ति पूजकहरूका अगाडिबाट सदियौं पुराना सम्पदा अमेरिका र युरोपका बजारमा छ्यापछ्याप्ति भेटिन थालेका छन् । यो आस्थाको व्यापार कति निकृष्ट छ । घृणित पापी मनभित्रको प्रलोभनले संसारलाई कलङ्कित गर्दै लगेको छ । संसारका मानिस भित्रको पापी मन पखाल्न एकपटक बुद्धले प्रयत्न गरेका थिए सत्य वचनद्वारा ।

रसिक, हराभरा र सक्रिय मनको विशाल बगैंचामा ढकमक्क फूल्ने गर्छन् उत्साह र उमंगका बहुरङ्गी फूलहरू र झाँंगिने गर्छन भावनाका मञ्जरीहरू ।

शुध्दमन, अमृतवचन र सत्कर्म नै मानिस भित्रको स्वर्ग हो । यसको शुद्धता यसेको स्वच्छताले अमरत्वमा पु-यायो धेरै मानिसलाई । वचनको मिठास र सौन्दर्यले ढुंगाको मनलाई पगाली दिन्छ । वचनको वाणले घोचेको मनको घाउ कहिल्यै निको हुँदैन । यहि वचन मुक्तिको मार्ग बन्न सक्छ, यहि वचन कहिले निको नहुने चोट बन्नेगर्छ । मन भित्रको भावाव्यक्ति हो अभिव्यक्ति । कण्ठबाट निस्केपछि वचन आफ्नो हुँदैन । नालबाट निस्केको गोली फर्केर आउँदैन । पुण्यकर्मले मानिसलाई अमरत्व प्रदान गर्छ । मान, सम्मान र वैभवमा निर्लिप्त मन चोखो भेटिएको छैन । त्यागको बिम्ब हो बुद्धत्व । त्यसैले बुद्धत्व अमर छ । ज्ञान बाँचीरहन्छ । अन्तरसम्बन्धलाई प्रष्ट्याउँछ । मनभित्रको शान्त र सम्यक मनले जीवनको मार्गचित्र कोर्न सक्छ । मन, वचन र कर्मको सम्यक सन्तुलनले जीवनलाई सफल बनाउँछ भन्छ मेरो भित्री मनले ।

मनभित्रको मन खोज्दै जाँदा आफैभित्र हराएको अनुभूति हुन्छ । अतीतमा मेरो मनले मलाई के के गर्न लगायो के के गर्न सिकायो सम्झिँदा अनौठो लाग्छ । संसार अज्ञेय छ भन्ने शुन्यताबाट पृथक वस्तु तथ्यको खोजीमा लाग्न मनले निर्देशित गरेर गुन लगाएको छ । आग्रह र असहिष्णुताले ठाउँ बनाउन पाएन मनभित्र । विभेद र अन्याय सहेर बस्नु हुँदैन भनेर दिमागका तन्तुलाई सधैं सावधान गरायो मनले । मन र मस्तिस्कको अनौठो सम्बन्ध रहेछ भन्ने अनुभूति हुन्छ । समयका सबै खाले चुनौतीसित मुकाविला गर्दै अगाडि बढ्न पछि परेन यो मन । अतिताका पाना एकएक गर्दै पल्टिँदै गए । मनले कतै धोका दियो कि भनेर पढेँ अतितका ठेलीहरू । कतै बाटो बिराए जस्तो लागेन । कुलत, कुसंगत र कुबाटोमा लाग्न नदिन सधैं चौकीदार बनेको अनुभूति हुन्छ मनभित्रको मनलाई छाम्दा ।

चौबाटोमा दोमन भएर अल्मलिनु परेन । जीवनका घुम्तीहरूमा समयले सिर्जेका चुनौतीहरूसित डटेर सामना गर्ने सामाथ्र्य र उर्जा दियो मनले र विवेकले बाटो सोझ्याइदियो । मनको गहिराइमा विचार छ र विवेक छ । मन र विवेकको पनि बलियो तादाम्त्य छ । जीवन यात्राकै क्रममा संवेगात्मक ज्ञान परिस्कृत र परिमार्जन हुँदै सत्यको नजिक पुग्छ र विवेकको फोल्डरमा सुरक्षित हुन्छ । आत्मविश्वास पैदा गराइदिन्छ परिपक्क मनले । मन विचलित हुँदा विचार र विवेकमा सियाँल पर्न पुग्छ । त्यसैले मन माझ्नुपर्छ समयसमयमा । मन खोलेपछि मात्रै प्राणवायु चलखेल गर्न पाउँछ । कुण्ठित मन सफा हुँदैन ।

मन सम्वेदनशील छ । वचनको वाणले घोचेको मनको घाउ सितिमिति निको हुँदैन । फाटेको मन टाल्न गाह्ररो हुन्छ । हिंसाको भाष्य हत्या मात्रै होइन । अरुको मन दुखाउनु, होच्याउनु, भेदभाव गर्नु पनि हिंसा नै हो । कुण्ठा पालेर आफुले आफैलाई खिन्न बनाउनु पनि आत्महिंसा नै हो । कुण्ठित मन सधैं उदासिन र खिन्न रहन्छ । दुःख पर्दा न आत्तिनु मन बलियो गर्नुभन्ने अर्तिबुद्धि दिन्थे अग्रजहरूले । यो उनीहरूको विवेक सम्मत ज्ञानको निचोड हो ।

मैले मभित्रको मनसित सम्वाद गर्छु कठिन पर्दा । मभित्रको मनसित सल्लाह गर्छु बिसौनीमा बिसाएर बाटो लाग्दा । कठिनाइसित जुध्न सिकायो मनले । पहाड चढेर झर्न पनि सिकायो उसैले । त्यसैले मलाई मनको गहिराईभित्रको चोखो मन खोज्न मन लागेको छ आज भोलि ।

मैले घरछेउ आँगन र पर्खालतिर सक्रिय कमिलाको ताँती देख्छु । कर्मयोगी कमिला आपसमा मिलेर श्रमगर्दै आएको छ युगयुगदेखि । कमिला सानो छ तर उसको मन विशाल छ । त्यति सानो प्राणलीले मिलेर माटोको रास लगाएको देख्दा अनौठो लाग्छ । सयौं प्रतिकुलता विपरित वंश विस्तारका लागि श्रम गर्न सिकायो प्रकृतिले । कमिला सानो छ, माहुरी सानो छ । यी ससना प्राणलीको चित्त विशाल छ र श्रमशक्ति त्यो भन्दा पनि ठूलो छ । चित्त सानो गर्ने र मनको ढोका बन्द गर्नेको बौद्धिक र मानसिक विकास सम्भव छैन । चिन्तनको क्षितिज फराकिलो बनाउन सके संसार देख्न पाइन्छ ।

आखिर मन के हो ? मनभित्रको मनसित सम्वाद गर्छ मनले । मन जीवन हो । जीउने कला सिकायो मनले । चेतनाको आँखिझ्याल खोलिदियो निस्काम कर्मले । मनले निर्देशित गर्छ मानिसलाई । जीजन र जगतको रहस्य खोतल्न प्रेरित ग-यो कर्मठ मनले । रसिक, हराभरा र सक्रिय मनको विशाल बगैंचामा ढकमक्क फूल्ने गर्छन् उत्साह र उमंगका बहुरङ्गी फूलहरू र झाँंगिने गर्छन भावनाका मञ्जरीहरू । मनभित्रको मनको आँखिझ्यालभित्र छिरेको चेतानाको प्रकाशले मानव जातीको दृष्टि क्षितिजलाई फराकिलो बनाउँदै लग्यो । चित्त सानो गर्न हुन्न भन्ने सिकाउँदै आए पूर्वजले । विशाल ब्रमाण्डको विचरण गर्न विशाल छाती चाहिन्छ भन्ने सिकायो भित्रि मनले । त्यसैले आज मानिसका लागि पृथ्वी सानो हुँदै गएको छ । अन्य नक्षेत्र र ग्रहतिर साइत गरेको छ ।

सहास जीवन जीउने कला मध्य एक हो । दुस्साहस त्यो भन्दा महत्वपूर्ण छ । पानीमा नपसी पौडी खेल्न संभव छैन । विषको परीक्षण गर्ने दुस्साहसी पुर्खाले विष र अमृतको पत्ता लगाए र मावनजाति बचाए । मानिसमा आँट चाहिन्छ विश्व विजयका लागि सहास मात्रै होइन दुस्साहस पनि चाहिन्छ ऐन मौकामा भनेर सिकाउँदै छ भित्री मनले ।

मन केवल मन मात्रै होइन । मन ज्ञान र विज्ञानको संगम पनि हो । बाँच्नका लागि । मानव जातिले गर्दै आएको लामो संघर्ष र श्रमको उपलब्धी हो ज्ञान र विज्ञानको चेत । निस्कृय मन निषेधित हुँदै गएको छ जीवन र व्यवहारमा । त्यसैले मन गतिशील चञ्चल र तरङ्गित छ । गतिशील र चलायमान मन बगेको पानी झैं कञ्चन र शुद्ध हुन्छ । त्यसैले सधैं बगिदिनुपर्छ भन्छ भित्री मनले । भित्री मन रसद्रव्य हो । बग्नुपर्छ बगिदिन्छ । लक्ष्य भेदनका लागि समुद्र भेदनका लागि ।

मनले सुमार्ग खोजेको छ । उज्यालो खोजेको छ । भविष्य खोजेको छ । उज्ज्वल भविष्यको खोजीमा मन तरङ्गित छ । वस्तुगत जगतले कोमल मनमा ठेस पु-याउँदै लगेको छ । सहमति छैन वर्तमानसित । असहमति पोख्ने बाटो खोजेको छ यो गतिशील, चञ्चल र विद्रोही मनले । सबैप्रकारका असंगतिसित सम्झौता गर्न समर्थनमा शीर हल्लाउन मात्रै जन्मेको होइन मानिस । स्वत्व, स्वाभिमान र स्विवेकको परख गर्न खोजेको छ भित्रि मनले ।

वर्तमानलाई विचलित गरेको छ विश्व आर्थिक, सामाजिक र राजनीतिक प्रणालीले । ऐश र वैभवनको प्रतिस्पर्धामा हानथाप छ आपसमा । ज्ञान र विज्ञानको दुरूपयोग भएको छ । मन मौलिँदै गएका छन् । धोइपखाली गर्ने विचार र सिद्धान्तका जरुवा सुक्न थालेका छन् । खोक्रो मन बोकेर भड्किँदै छ नयाँ पुस्ता । स्वच्छन्दताले सामाजिक मर्यादा र सम्बन्धलाई भत्काउँदै लगेको छ । जीवन उपभोगका लागि मात्रै हो भन्ने विकृति मौलाउँदै छ । तृष्णा र लालसाले, ‘बसुधैव कुटुम्बकम्’ को हाम्रो मौलिक आदर्शलाई फिका गराइदिएको छ । मनहरू धरातल भुलेर भड्किँदै छ । घृणा, आशक्ति र तृष्णाको बेगले चोखो मनलाई कलङ्कित र कमजोर बनाउँदै लगेको छ ।

खिन्न र भारी मन बोकेर हिँडिरहेका छन् कतिले । लोभको भाँडो जीवन पर्यन्त भरिएन कतिको । त्यसकै पिरले कतिले आत्महत्या गरे कतिलाई मृत्यशैयामा सहजै प्राणत्याग गर्न कठिन भएको छ विचरालाई । चित्त शान्ति कहिले भएन लोभीको संसारमा । भय त्यसकै परिणाम हो । आत्मसम्मान र आत्मविश्वास गुमाएका मानिसहरू कायर काँतर हुन्छन् । आफैले काँतर ठान्नेको मन भाँचिएको हुन्छ ।

मनको विकास धोइपखाली गर्दै उदात्तचित्त बोकेर अगाडि बढ्ने जीवनदर्शन सबैलाई लागि ग्राह्य छ । सफा मनले मात्रै भविष्य देख्न सक्छ । त्यसैले मनको गहिराइ भित्र चोखो मन खोज्नुपर्छ । मनको मर्म छाम्न फेरि पनि मनभित्रै हिँडनुपर्छ । मलाई सम्यक मन, वचन र कर्मको खाँचो छ । सिर्जना र विचार कालजयी छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : १५ बजे

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै