२८ आश्विन २०८१, सोमबार | October 14, 2024

काँग्रेसले कुनामा मिल्काएको वीपीको समाजवाद



नेपालका नेपालीमा झण्डाछन् प्यारा, 
दुईरङ्गका बीचमा छन् चार तारा
झण्डालाई उच्च राखौं देशभरमा सारा
जसमा छ समाजवादी विचारधारा…..

सानो छँदा बुवाले हारमोनियमको धुन संगै गनुगुनाउनु भएको गीत हो यो । बुवा काँग्रेसको सामान्य कार्यकर्ता हुनुहुन्थ्यो, मुलुकमा पञ्चायती व्यवस्था थियो । बुवाले हारमोनियममा यो गीत गाईरहँदा कांग्रेस के हो ? कम्युनिष्ट के हो ? र पञ्चायत के हो भन्ने चेत म मा थिएन । चार ताराको अर्थ र झण्डाको अर्थ बुझ्ने त कुरै भएन । तर पनि झण्डासँगै आएको समाजवादको शब्दले विचारको पनि प्रतिनिधित्व गरिरहेको थियो । समाजवाद, झण्डा र चारताराका विषयमा धेरैपछि मात्र मैले थाहा पाएको थिएं ।

प्रसंग त्यति बेलाको कांग्रेस पार्टीको हो । राजधानी काठमाडौंदेखि टाढा पर्वतको मल्लाजमा बस्ने कांग्रेसको सामान्य कार्यकर्ता मेरो बुवालाई पनि चारतारा र समाजवादको विषय थाहा थियो । पार्टीको कुरासँगै विचारको कुरा आउंथ्यो । झण्डाको चर्चा संगै सिद्धान्तका कुरा आउंथ्यो र राजनीतिको कुरासँग वैचारिक निष्ठाका कुरा आउँथ्यो । किनकी त्यती बेला कांग्रेसका नेता वीपी कोईराला जिउँदा थिए । पार्टीमा पद, पैसा र अवसरको होईन समाजवाद, गरिबी हटाउने योजना, स्वतन्त्रता र त्यागका कुरा हुन्थे । वीपी कोईराला सधैं कसरी जनताको जिवनस्तर उकास्न सकिन्छ भन्दै योजनामा चिन्तनमनन गर्थे, त्यहि चिन्तन र योजनाका विषयमा पार्टीका अन्य नेताहरुलाई बहस चलाउंथे र पार्टीमा देशको जनताको र भोलिको भविष्यको कुरा हुन्थ्यो ।

दिनहरु बित्दै जाँदा उनै वीपीले सिद्धान्त बोकेको पार्टी अहिले पनि छ । उनी वीपीले सैद्धान्तिक बहस चलाएको नेपाली कांग्रेस पार्टी अहिले पनि छ र उनै वीपीले प्रशिक्षित गरेको नेताहरु अहिले पनि पार्टीमा छन् । सबै वीपीका अनुयायीहरु नेपाली कांग्रेसमा छन्, तर वीपीको विचार भने अहिलेका कांग्रेसका नेताहरुले वीपीको अवसान संगै बेचेर खाएका छन् । पार्टी कार्यालयहरुमा वीपीका फोटाहरु देखिने बाहेक कांग्रेस पार्टीभित्र वीपीको गुण देखिने कुनै कुरा बाँकी छैन । वीपीको संगत गरेका केहि थोत्रा नेताहरु पनि अहिले वीपीले भन्ने गरेको समाजवादका विषयमा होईन, आफ्ना आसेपासे, नन्दी भृङ्गीहरुले अवसर नपाएको, पद नपाएको, नियुक्ति नपाएको, राज्यले भाग नदिएको जस्ता बहसमा मात्र कन्द्रित देखिन्छन् । नयाँ पुस्ताको वैचारिक धरातल त कांग्रेसमा हेर्न लायकको छ भन्दा फरक पर्दैन ।

पार्टी कार्यालयहरुमा वीपीका फोटाहरु देखिने बाहेक कांग्रेस पार्टीभित्र वीपीको गुण देखिने कुनै कुरा बाँकी छैन । वीपीको संगत गरेका केहि थोत्रा नेताहरु पनि अहिले वीपीले भन्ने गरेको समाजवादका विषयमा होईन, आफ्ना आसेपासे, नन्दी भृङ्गीहरुले अवसर नपाएको, पद नपाएको, नियुक्ति नपाएको, राज्यले भाग नदिएको जस्ता बहसमा मात्र कन्द्रित देखिन्छन् ।

अलि पहिले एउटा गाईजात्रामा एकजना व्यङ्गकारले कांग्रेस पार्टीलाई व्यङ्ग गर्दै भनेका थिए, कुनै कांग्रेसका कार्यकर्तालाई वीपी कोईराला को हुन् भनेर सोधियो भने उनले गौतम बुद्धलाई समाजवाद सिकाउने वीपी कोईराला हुन् भन्न सक्छन् !’ त्यो केवल व्यङ्ग थिएन । पार्टी भित्रको वैचारिक बहस हुन नसकेको प्रतिको यथार्थ चिन्तन पनि थियो । अहिले पनि कांग्रेस भित्रको बहस पद, अवसर र स्वार्थमा केन्द्रित रहंदै आएको छ । पार्टीका कार्यकर्ताहरुमा पार्टीको नीति, सिद्धान्त र विचार भन्दा अवसर आश्वासन र गुटलाई प्रश्रय दिने गरिएको छ ।

वीपी कोईराला अध्ययन प्रतिष्ठानका अध्यक्ष युवराज गिरीको ठम्याई पनि पार्टी वीपीको सिद्धान्तबाट स्खलित भएको भन्ने छ । नेताहरुमा नागरिक प्रतिको उत्तरदायीत्व नभएको र सिद्धान्त प्रतिको निष्ठा नरहेका कारण कांग्रेसले पराजय भोग्नु परेको गिरी बताउँछन् । वीपीको पथमा नफर्कने हो भने कांग्रेस सकिने निश्चित भएको उनको निश्कर्ष छ । वैचारिक बहस बिना पार्टी चल्न नसक्ने भन्दै उनी आउँदो महाधिवेशनमा पार्टीले वीपीको बाटो अवलम्बन गर्ने आशा राख्छन् ।

कांग्रेसभित्र अहिले शेरबहादुरलाई, रामचन्द्रलाई, शशांकलाई, कृष्ण सिटौलालाई चिन्ने धेरै कार्यकर्ता होलान् तर उनीहरुलाई सुवर्ण शमसेर, मंगलादेवी सिंह, शैलजा आचार्य, योगप्रसाद आचार्य को हुन् भनेर सोध्दा जवाफ दिन नसक्ने धेरै कार्यकर्ता छन् । गणेशमानको त्याग र कृष्णप्रसाद भट्टराईको समर्पण चिन्ने कार्यकर्ता कति होलान् ?

कांग्रेसकै अर्का नेता हरि लम्सालले भने पार्टीभित्र विचार कमजोर भएको र लोभ लालच बढेकाले सिद्धान्त आझेलमा परेको बताउँछन् । वीपीले सदस्यता दिएकाहरु पनि लोभलालचमा परे, सिद्धान्त बिर्से । लम्सालले भने । उनलाई हालसालै गठन भएको प्रचार बिभागमा बस्ने प्रस्ताव आएको थियो । तर उनले बहिस्कार गरे । उनी ढुक्कसँग भन्छन्, ‘हाम्रो गुटले अहिले बाँडेको पद बहिस्कार गरेको छ ।’ लम्साल नेपाली कांग्रेस रुपन्देहीको क्षेत्र नम्बर २ को क्षेत्रिय सभापति हुन् र उनी पत्रकार पनि हुन् । लम्सालको विचारमा कांग्रेस यतिबेला अभिभावक बिनाको पार्टी बनेको छ । पार्टीमा वैचारिक अभिभावक छैनन् । लोभी नेताहरुको वर्चश्व छ, लोभ नभएका निस्वार्थ कार्यकर्ता ओझेलमा परेका छन् ।

वीपीको दुहुनो गाई र एक हल गोरुको समाजवाद बुझ्ने कार्यकर्ता होलान् की नहा्लान् ? प्रजातान्त्रिक समाजवाद बुझेका प्रदिप गिरीहरु पछाडि पर्नु र प्रजातन्त्रका विरोधी सुनिल थापाहरुको पार्टीमा महत्व बढी हुनुले वीपीको समाजवादी सपना पुरा होला की नहोला ?

कांग्रेसभित्र अहिले शेरबहादुरलाई, रामचन्द्रलाई, शशांकलाई, कृष्ण सिटौलालाई चिन्ने धेरै कार्यकर्ता होलान् तर उनीहरुलाई सुवर्ण शमसेर, मंगलादेवी सिंह, शैलजा आचार्य, योगप्रसाद आचार्य को हुन् भनेर सोध्दा जवाफ दिन नसक्ने धेरै कार्यकर्ता छन् । गणेशमानको त्याग र कृष्णप्रसाद भट्टराईको समर्पण चिन्ने कार्यकर्ता कति होलान् ? वीपीको दुहुनो गाई र एक हल गोरुको समाजवाद बुझ्ने कार्यकर्ता होलान् की नहा्लान् ? प्रजातान्त्रिक समाजवाद बुझेका प्रदिप गिरीहरु पछाडि पर्नु र प्रजातन्त्रका विरोधी सुनिल थापाहरुको पार्टीमा महत्व बढी हुनुले वीपीको समाजवादी सपना पुरा होला की नहोला ? यो प्रश्न कांग्रेस नेताहरुबाट खोज्न जरुरी छ ।

सिद्धान्तबाट स्खलित कांग्रेसले १४ औ महाधिवेशनको तयारी गरिरहँदा यतिबेला वीपीको १०७ औ जन्म जयन्ती पनि मनाईरहेको छ । महाधिवेशनको पूर्वसंध्यामा पनि पार्टीमा बैचारीक बहस भन्दा भातृ संगठनको गठन, पुनर्गठन, विभागहरुको गठन, नियुक्ति त्यहि नियुक्तिमा असन्तुष्टि जस्ता कुराले नै प्राथमिकता पाएको छ । वीपी कोईरालाको जन्म जयन्तीमा वीपीको शालिक अगाडि गएर वीपीको शालिकमा माल्यार्पण गर्दैमा वीपीको सिद्धान्त अवलम्बन होला ? आम कांग्रेस कार्यकर्तालाई हाम्रो प्रश्न ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  २ : ०१ बजे

गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु

कोहलपुरमा हत्या गरिएका कामीको टाउको भेटियो, टाउको काट्ने भेटिएन

नेपालगन्ज । बाँकेको कोहलपुरमा घाँटी रेटेर हत्या गरिएका चन्द्रबहादुर कामीको

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर

बाढीले दुई करोडको तरकारी बाली क्षति

सुनसरी । असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा

कुश्मामा पर्यटकीय चहलपहल बढ्दै

पर्वत । पर्वतको कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै