हिलाम्य हरित बर्षाबाट नुहाएर अख्रिएकी शारदी आमाले धरणीलाई सौरभित बनाएकी छन् । पुष्पराजको घर आँगन, वहुरंङ्गी पुष्पहरुको सौन्दर्य र वासना पिएर आनन्द विभोर हुन्थ्यो,विगतका सालहरुमा । तर उनको घर आगनले यसपाली पोहोर सालको जस्तो रङ्गिलो भेष धारण गर्न पाएका छैनन् । न त परिवारलाई आङमा नयाँ लुगा नै फेर्ने फेराउने मन गरेका छन् । न पोहोर सालको जस्तो खसी बोकाको जोहो नै गर्ने सुरसार गरेका छन् । केवल दुर्गा मातालाई खुशी पार्न जमरा मात्र राखेका छन्,घरमा रहेका दुई बुढाबुढीको लागि मात्र । मानौं उनको घरमा कुनै रौनकताको आगमन हुने छैन, यसपालीको दशैँ तिहारमा ।
![](http://3.0.214.97/wp-content/uploads/2020/10/ganesh-gc-1-165x165.jpg)
उनको घरमा यसपाली, विदेशमा रहेका छोरा बुहारी,नाति नातिनी, स्वदेशमा रहेका छोरी, दिदी बहिनी, भाई भान्जा,भान्जी,ज्वाँइहरु तथा अन्य आफन्ती नातेदारहरुको आगमन हुनेछैन । नयाँ भेषमा आफना जेष्ठ मान्यजनको हातबाट टीका जमरा ग्रहण गरी आशिर्वाद लिन टाढा टाढादेखि कोही आउने छैनन् । बर्षदिनको महान चाड, आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमासम्मको सोह्रदिने दशैं, मनाउन, गर्वसाथ जमघटको
खुशियाली साटेर मीठा मीठा पक्वानहरु खाएर प्रेम,श्रद्धापूर्वक भव्य रुपमा मनाउन पाउने छैनन् ।
यस्तै कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने, काग,कुकुर,गाई,गोरु तिहारपछिको यम पञ्चकको अन्तिम दिन भातृपूजन अर्थात दिदी,बहिनीले,दाजु,भाईलाई तेल पूजन सहित लामा टिका लाइदिएर,हातमा राखी बाँधेर दीर्घायुको कामनाका साथ शारदी आमाको कृपाको सयपत्री,मखमली फूलहरु र दुबोको लामा लामा माला पहिराइदिन पाउने छैनन् । दाजुभाईलाई मीठा मीठा व्यञ्जन खुवाउन पाउने छैनन् ,यसपाली । अनि दाजुभाईले दिदी बहिनीलाई टीका लाएर आशिर्वाद सहित दक्षिणा प्रदान गर्न पाउने छैनन्, यसपालीको महान तिहारमा ।
हुन त कर्मबाट आश्था र विश्वासबाट व्यवसाय अलग हुनसक्दैन । अनि भगवानलाई, आत्मालाई र शरीरलाई भाग छुट्याएर आफनो आयुको समय लम्बिन सक्ने कुरा पनि निराधार नै होला । तथापी चाड पर्व भनेको परिवार र समाजबाट यत्रतत्र छरिएका मानिसहरुको आफन्तीहरुको आश्था, विश्वास, प्रेम, माया, मित्रताको पुनर्मिलन वा पुनर्ताजगी पनि होलान्, बार्षिक चाड पर्व संस्कारहरु । परिश्रमबाट विश्रान्ति । पीडा, चिन्ता, बैराग्यलाई विर्साएर त्यो असन्तुलित मानसिकतालाई हर्ष,उमङ्ग र खुशियालीमा रुपान्तरण गर्ने अवसर पनि हो, यो पर्व संस्कृति । यी बाहेक बर्षका बीच बीचमा पर्ने साना साना चाडको उपादेयता पनि यही हो । उमङ्गकै एउटा प्रतीक, फूल र दीर्घायुको प्रतीक,दुबो । हिन्दु चाडसंंग अन्योन्याश्रित सम्बन्ध रहेको फूल र फूलसंग अन्योन्याश्रित सम्बन्ध रहेको शरद ऋतु अर्थात शारदी आमा आँगनमा मुस्कुराइरहेकी थिइन्, बर्षभरिकै महान पर्व पन्ध्र दिने दशैं र पाँचदिने तिहारको चाङ लिएर ।
तर पुष्पराजको लागि यसपालीको दशैं तिहार विना चिनीको कालो चिया भयो ।
समयको चक्र न हो । मानवलोकमा परिक्रम गरिरहँदा कहिले उज्यालो,कहिले अँध्यारो भैरहने प्रकृतिको विधि नै हो । दिन र रात । कोभिड–१९ को रुपमा संसारमा झुल्केको कोरोनाको माहामारीको कालरात्री आतङकले संसारलाई आतंकित बनाइरहेको थियो । मानौं प्रकृतिले मानवलोकमा व्याप्त चरम अन्याय अत्याचार,विकृति विसंगतिको भार धान्न गाह्रो परेर होला शायद, प्रकृतिले भूतलमा बिनासलीला रचेकी । विगतका औलो,हैजा,इन्सेफलाइटिस,डेङ्गो आदि माहामारी भन्दा पनि भयावह अहिलेको यो कोरोना भाइरस अर्थात कोभिड–१९ । त्यही विनास लीलाको एक प्रारुप मान्न सकिन्छ ।
सन्तति र सम्पत्तिमा पुष्पराज सम्पन्न थिए । उनका तीन छोरा,तीन छोरी मध्ये दुई छोरा अमेरिका, एक छोरा अष्टे«लिया,छोरीहरुमा दुई काठमाण्डौं र एक सुर्खेत थिए । घरमा एकजना सहयोगीका साथ दुई बुढाबुढीले जीवनको वृद्धत्व लतारिरहेका थिए । यसरी आफना सन्तत्तीहरु यत्रतत्र स्वदेश,विदेश छरिए तापनि बर्षको एक पटक दशैंँ र तिहार मान्न सपरिवार जम्मा हुन्थे, हर साल । सालले तान्ने चाड पर्व र चाडले तान्ने दशैं,तिहार, अनि आफना यत्र तत्र छरिएका दाजु,भाई,दिदी बहिनी सहितको तीन पुस्ते भव्य पारिवारिक जमघट हुन्थ्यो, पुष्पराजको घरमा । अत्यन्त रौनकमय,समय व्यतित हुन्थ्यो विगतका रङ्गिन बर्षहरुमा ।
तर उनको यसपालीको दशैं तिहारमा विकासको शिखरमा पुगेको उत्तरी सीमा चीनबाट उत्पत्ति भै विश्वलाई आतंकित पारेको कोरोना भाइरसको कहर, दक्षिण सीमाको भारतबाट सलहको झुण्ड झै नेपालमा हुलिएर अस्तव्यस्त पारेपछि उनले आफन्तीलाई सन्देश प्रवाह गरे–
“मेरा सम्पूर्ण मान्य तथा अन्य आत्मीयजनहरु ! यन्त्र संचालन गर्ने इन्धन जस्तै जीवन संचालन गर्ने श्वासप्रश्वासको प्रमुख केन्द्र फोक्सोमै आक्रमण गरेर मानव जीवन नास् गर्न उत्पत्ति भएको कोरोना नामको भाइरसले विश्वलाई नै आक्रान्त पारेको र नेपाललाई पनि त्यसले आक्रान्त पारेको हुँदा यो अवस्थामा हामीले आफूले आफैलाई जोगाउनु उत्तम विकल्प भएकोछ ा पहिलेका माहामारीहरु लामखुट्टे,मुसा र फोहोरका अन्य कीराहरुबाट सर्थे भने अहिले मान्छेबाट मान्छेमै सर्ने यो अनौठो महामारी रोगलाई नजिक आउन नदिनको लागि तोकिएका विधिहरु पालन गर्नु हाम्रो कर्तव्य हुन आएकोछ ।
तसर्थ जीवन लिन आएको यो कोरोनालाई यसपालीको दशैं तिहार चढाएर विदा गरिदिउँ । जो जहाँछौं यथास्थानमा रहौं । विज्ञानले औंल्याएका निम्नानुसार केही विधि,नियमहरुलाई दह्रो आत्माबल र प्रतिवद्धताका साथ अनिवार्य आत्मसात गरौ । एक, मास्कलाई दशैंको मासु,च्युरा र तिहारको सेल रोटी सम्झेर नाक समेत पूरै छोपिने गरी मुखमा लगाऔं । दुई, स्यानीटाइजरलाई दर्शैं,तिहारको टीका अक्षता,जमरा सम्झेर हातमा लगाऔं । तीन, विना जरुरी काम घरबाट बाहिर ननिस्कौँ, आफना र विराना नभनीकन कम्तीमा दुई मिटरको दुरी कायम राखौं, यसलाई हाम्रो अहिलेको चाड पर्वको मिलन सम्झौं । बाहिरबाट घरमा आएपछि र हातमा मैला लाग्नासाथ सावुनपानीले मिचिमिचि हात धोऔं, यसलाई हामीले यो महान चाडको व्यञ्जन खाएर हात धोएको सम्झौं । चार, बेला बेलाको स्वास्थ्य बिशेषज्ञको सल्लाह र सरकारी वा सामाजिक संस्थाका सम्बन्धित निकायहरुले जारी गरेका निर्देशनहरुलाई आत्मसात गरौं, यसलाई हामी लिङ्गेपिङ वा जीवन बुटी सम्झौ । हाम्रा चाडहरुसंग प्रार्थना गरौं, यो माहामारीको आयु सिघ्रातिसिघ्र सकिएर विश्वको मानव जगतमा उमङ्ग छाओस्, प्रकृति मातासंग मेरो प्रार्थना ।”
(कथाकार प्रगतिशिल साहित्यकार हुन् ।)
प्रतिक्रिया