११ जेष्ठ २०८१, शुक्रबार | May 24, 2024

गौरवशाली इतिहास बोकेर पनि विकास नदेखेको खजुरा : एक सिंहावलोकन



पहाडमा घर खेत पहिरोले बगाएर उठीबास भए पछि तत्कालिन सरकारले पुनर्बास गराएको ५३ बर्ष पुगी सक्दा पनि बांकेका तत्कालिन सुकुम्बासी बस्तीमा खासै परिवर्तन हुन सकेको छैन । बिक्रम सम्बत २०२३ सालमा नेपालका बिभीन्न स्थानमा बाढी पहिरो र प्राकृतिक प्रकोपमा परेकाहरुलाई पुनर्बास गराउने भन्दै तराईमा जग्गा बितरण गरिएकाहरु मध्य बांकेका पुनर्बास क्षेत्रमा अझै पनि उज्यालो घाम पस्न सकेको छैन । तत्कालिन सरकारले दैबिक प्रकोपमा परेका नेपालीहरुलाई पुनर्बास गराउने भन्दै बांके बर्दिया कैलाली कन्चनपुरका जङ्गल फडानी गरेर जग्गा बितरण गरेको थियो । त्यहि क्रममा बांकेमा पनि पुनर्बास कम्पनिले बस्ती बसालेको थियो ।

बांके जिल्लाको ३ गाबिसलाई अहिले पनि मानीसहरुले पुनर्बास क्षेत्र भनेर नै चिन्ने गर्दछन् । बांकेको साबिक सितापुर , बागेश्वरी र बनकटवा गाबिसलाई अहिले पनि पुनर्बास क्षेत्र भनेर पुकार्ने गरिन्छ । यद्देपी मुलुकका पुनरसंरचना संगै यो क्षेत्र अहिले तत्कालिन पुनर्वास क्षेत्र सहित सयौं वर्षदेखि बस्दै आएका मुस्लिम तथा मधेसी समुदाय रहेको गांउहरु समेत समेटेर खजुरा गांउपालिका बनेको छ ।

यस क्षेत्रमा बस्ती बस्नु अगाडी घना जङ्गल थियो । जङ्गलका छेउछाउमा तराईबासी र केही थारुहरुको समेत बस्ती रहेका थिए । नेपाली प्रबिधीकहरुले बस्तीको नक्साङ्कन गर्न नसके पछि ईजरायली प्रबिधीकहरुले यस क्षेत्रको नक्साङ्कन गरेका थिए ।
यो बस्तीमा अङ्ग्रेजी अल्फावेटका अधारमा गांउहरुको नामाकरण गरिएको छ । सबै भन्दा पहिले ए , बी , ई र डि गाउमा बस्ती बसालिएको थियो । प्रति परिवार २ बिगाहा जग्गा दिएर ४ सय ४ बिगाहा जग्गामा सबै भन्दा पहिले बस्ती बसाल्ने काम सुरु भएको थियो । यस गांउहरमा सुर्खेत , दैलेख र जाजरकोटका पैरोले पिडीत भएकाहरुलाई जग्गा बितरण गरिएको थियो । त्यस लगत्तै एल गांउ , के गांउ र सी गांउको स्थापना भएको थियो । ती गांउहरुमा पनि प्रति परिवार २ बिगाहाका दरले प्रत्यक गांउमा १ सय २ परिवारलाई जग्गा बितरण गरिएको थियो ।

जग्गा पाउंदा यहांका बासीन्दाहरुले घना जङ्गल फडानी गरेर आफ्नो बस्ती बसालेका थिए । कतीपयहरु त घनघोर जङ्गल देखे पछि जग्गानै नलिएर फर्केका पनि थिए । जग्गा पाएकाहरुलाई केही महिना तत्कालिन पुनर्बास कम्पनीले रासन समेत भरेको थियो । दिउसै जङ्गली जनावर भेटीने जङ्गल फडानी गरि बस्ती बसाल्दाको स्मरण गांउलेहरुले मानसपटलमा अझै ताजा रहेको छ ।

ईजरायली प्राबिधीकहरुले पुनर्बास क्षेत्रको बस्ती नक्साङ्कन गर्दा अत्यन्त बैज्ञानीक तरीकाले गरेका थिए । एउटा आधुनीक शहरको आकार दिईएको यस बस्तीमा प्रत्यक ४ परिवारका बिचमा चौक , चौडा सडक र हरेक चौकका बिचमा फुलवारीको कल्पना गरिएको छ । मानीसहरुलाई खेती योग्य जग्गा र जग्गा कै अगाडी घर बनाउने घर प्लटको ब्यवस्था प्राबिधीकहरुले गरेका छन् ।

प्राबिधीकहरुले अत्यन्तै बैज्ञानीक र एक बेलाको शहरकारुपमा परिकल्पना गरेको पुनर्बास क्षेत्रमा अहिले सम्म शहरीकरण हुन सकेको छैन । केहि वर्ष पहिले सम्म नेपालगन्ज पछिको दोस्रो ब्यवसायीक केन्द्र रहेपनि पछिल्लो समय खजुरा क्षेत्र पछाडी पर्दै गएको छ । पहाडमा किसानका रुपमा रहेका किसानहरुका लागि इजरायली प्राबिधीकहरुले शहरको ढांचामा यस क्षेत्रको परिकल्पना गरेपनि परम्पराबादी किसानको बस्ती भन्दा फरक ढंगले खजुरा क्षेत्रको बिकास हुन सकेको छैन ।

संस्कृतिमा धनी खजुरा क्षेत्र :

पुनर्बास कम्पनि राजनितीकरुपले मात्र होईन र्सास्कृतिकरुपले पनि धनी रहेको छ । जन्मेको स्थान छाडे पनि छाडेको स्थानको नाम र संस्कृति भने पुनर्बास क्षेत्रका मानीसहरुले पटक्कै बिर्सेका छैनन् ।

आफ्नो जन्म स्थान छाडेको दशकौ बितीसक्दा पनि पुनर्बास क्षेत्रका मानीसले आफ्नो जन्म स्थानको भाषा र संस्कृती भने भुल्न सकेका छैनन् । सुर्खेतमा नाचीने सिङ्गारु टप्पा होस वा सल्यानको पैसेरी , जाजरकोटको बनगारी होस वा दैलेखको ढाल तरबार । मेला पर्व वा चाडबाड आयो भने पुनर्बास क्षेत्रका बृद्ध देखी जवानहरु आाफ्नो संस्कृती देखाउन अग्रसर भै हाल्छन् ।

बिशेष गरि यस क्षेत्रमा सुर्खेतको सिङ्गारु टप्पा सबैभन्दा चर्चित नाचमा पर्दछ । महिलाहरुको भेषमा पुरुषलाई सिङ्गारेर नाचीने नाच भएकाले यस नाचको नाम सिङ्गारु टप्पा रहन गएको संस्कृतिकर्मीहरुको भनाई छ ।

उता मधेसी समुदायको नौटडी, बिराहा, कजरी जस्ता संस्कृतिहरु केहि दशक पहिले सम्म साबिक सोनपुर र उढरापुरमा भेटिने गरिएपनि झण्डै ३ दशक यता मधेसी संस्कृतिहरु लोप हुने अवस्थामा पुगेका छन् । खजुराको बसाई बहुभाषिक र बहुसांस्कृतिक रहेको पाईन्छ । पहाडी मधेसी मात्र नभएर यसै पालिका भित्र रहेको रनियापुर, सोनपुर र उढरापुरमा रहेका मुस्लिम समुदायले खजुराको बिबिधतालाई सिंगारेको छ ।

२०२३ सालमा बस्ती बसाले पनि सिंचाईको उचीत ब्यवस्था नहुंदा बांकेका पुनर्बास क्षेत्रमा सिंचाईको ब्यवस्था नहुंदा अहिले सम्म पनि यहांका किसानहरु आकासको भरमा खेती गर्न बाध्य छन् । २०५६ सालमा पुनर्बासका जनतालाई भन्दै भुमिगत जल परियोजनाले डिप बोरीङ गाडेर सिंचाईको ब्यवस्था मिलाएको थियो । तर बोरीङ गाडेको महिना दिन पनि नचल्दै कतै बिद्युतको ट्रान्सफर्मर चोरी हुने र कतै गाडेको बोरीङ बिग्रेकाले किसानहरुले समस्या भोग्न बाध्य रहेका छन् ।

जतीबेला पुनर्बास क्षेत्रमा सिंचाईको लागि भन्दै डिप बोरीङ गारियो त्यती बेला मुलुकमा जनयुद्ध उत्सर्गमा पुगी रहेको थियो । माओबादीकै आह्वानमा बिद्युत महसुल नतिर्ने अभियानमा लागेका सितापुरका जनताले नतिरेको बिद्युत युद्धकाल पछि माओबादीले युद्धकालमा दिएको आश्वासन अनुसार मिनाहा गर्न नसके पछि बिद्युतले लाईन काटेर पनि कतिपय बोरीङ बन्द भएका छन् ।
त्यसो त पुनर्बास कम्पनिले पनि जग्गा दिएको केही बर्ष पछि प्रत्यक गांउमा एउटा बोरीङ्ग गाडेको थियो तर पुनर्बासका कर्मचारी र केही स्थानीय जालीहरुको जालझेलमा परेर गाडेको केही महिना नबित्दै बोरीङको सामान हिनामीना गरेको स्मरण गांउलेहरुका अगाडी ताजै रहेको छ ।

सिमा रक्षाका पहरेदार खजुराका जनता

बांके जिल्लाको सैनीक गांउ । बिगत ५० बर्ष पहिले पंचायती ब्यवस्थाले पुनर्वासको नाममा सैनीक गांउ बसालेको थियो । नेपाल भारत सिमामा रहेको जङ्गली क्षेत्रमा बसालीएको बस्तीमा अधिकांस पेन्सन प्राप्त सैनीकहरुको बसोबास रहेको छ । नेपाली ब्रीटिस र भारतीय सेनाबाट निबृत्त भएका सैनीकहरुलाई सिमामा बसालिएको बिषय राष्ट्रियता संग जोडीएको बिषय भएको जानकारहरुले बताउंदै आएका छन् । बांकेको राधापुर गाबिसमा पर्ने सैनीक गांउमा बसोबास गर्नेहरुलाई तात्कालीन सरकारले अघोषीत रुपमा हतीयार समेत उपलब्ध गराएर सिमा सुरक्षाको जिम्मा दिएको भनाई अहिले सम्म पनि चर्चीत छ ।

तत्कालीन अवस्थामा लगातार सिमा स्तम्भ हराउने , सिमा सार्ने , नेपाली भुमीबाट काठको तस्करी हुने जस्ता घटना हुन थाले पछि सिमामा बस्ती बसालीएको थियो । बस्ती बसाले लगत्तै भारतीय अपराधीहरुले लगातार लुटपाट गर्ने , नेपाली बस्तीमा आएर कुटपिट गर्ने जस्ता घटना घटन थाले पछि सरकारले नै सैनीकका बासिन्दाहरुलाई बन्दुक उपलब्ध गराएको थियो । तर सैनीक अनुसासनमा बसेको त्यहांका बासीन्दा बन्दुक सरकारले नभएर आफैले पल्टनबाट ल्याएको दाबी गर्दै आफ्नो सैनइ अनुसासन कायम राख्दछन् ।
बिक्रम सम्बत २०२३ सालमा नेपालका बिभीन्न स्थानमा बाढी पहिरो र प्राकृतिक प्रकोपमा परेकाहरुलाई पुनर्बास गराउने भन्दै तराईमा जग्गा बितरण गरिएकाहरु मध्य बांकेको सैनीक गांउमा पनि बस्ती बसालिएको थियो । सैनिक गांउमा तत्काल जग्गा प्राप्त गर्न पुर्व सेना नै हुनु पर्ने तत्कालीन सरकारले निती बनाएको थियो । देशका बिभीन्न भागका पुर्व सैनकिहरुले आफ्नो पेन्सन पट्टा देखाएपछि मात्र उनीहरुले जग्गा पाएका थिए पुनर्वास कम्पनी बाट ।

सैनिक संस्कृतिमा हुर्केकै कारण त्यस बस्तीका नामहरु पनि सैन्य प्रकृतिको राखिएको छ । सुरुमा एस र जे गांउ नाम राखीएको सैनकि गांउलाई सबैको सल्लाहले बहादुरपुर र बिरपुर नामाकरण गरि गांउलेहरुले बिरताको गाथा रचेका थिए ।

जग्गा पाउंदा यहांका बासीन्दाहरुले घना जङ्गल फडानी गरेर आफ्नो बस्ती बसालेका थिए । कतीपयहरु त घनघोर जङ्गल देखे पछि जग्गानै नलिएर फर्केका पनि थिए । जग्गा पाएकाहरुलाई तत्कालिन पुनर्बास कम्पनीले रासन समेत भर्ने ब्यब्स्था गरेको थियो । तर आफनै पौरखमा बिश्वास गर्ने पुर्ब सैनिकहरुले पुर्नबासको नाममा ईजराएल सरकारले उपलब्ध गराएको रासन अस्विकार गरीदिए ।
पुर्ब मेचि होस अथवा पश्चिम महाकालि, हरेक स्थानमा नेपाल भारत बिचको सिमा दशकौ देखी बिबादमा रहंदै आएको छ । सुस्ताको घाउ अहिले पनि बल्झी नै रहेको छ भने बांकेको लक्ष्मणपुर र महाकालीको टनकपुरमा नेपाली लगातार लुटिदै गैरहेका छन् । ईलामको पशुपतिनगर आज पनि नेपालको पिडा बन्दै आएको छ । छिमेकी जिल्ला बर्दियामा भारतीय अर्धसैनीक बलका जवानहरु नेपाली भुमीमा पसेर बेपत्ता बनाईएका हर्कबहादुर शाहीको अवस्था अहिले पनि अज्ञात नै रहेको छ । तर सिमामा पुर्व सैनीकहरु बसाईएका कारण बांकेको सैनीक क्षेत्र र यस आसपासका क्षेत्रमा सिमाको बिबाद देखीएको छैन ।

किन भएन खजुराको बिकास ?

बांकेको पुनर्बास क्षेत्रको बिकास नहुनुको मुख्य कारण पञ्चायती सरकारको यस क्षेत्रलाई हेर्ने बक्रदृष्टी नै हो । पहाडतिर राजनितीमा प्रशिक्षित भएका गाउंलेहरुलाई जग्गा दिएर पञ्चायतमा ल्याउने तत्कालीन सरकारको योजना सफल नभएपछि पञ्चायती सरकारको यस क्षेत्रमा सधै बक्र दृष्टी रहेको थियो । पहाडबाट बसांई सराई संगै कम्युनिष्ट बिचार पनि संगै लिएर आएका थिए पुनर्बास क्षेत्रका केही अगुवाहरुले । तत्कालिन नेकपा पुष्पलाल समुहको बलियो पकड रहेको त्यस क्षेत्रका २०२४ साल देखी नै कम्युनिष्ट संगठन रहेको थियो ।

बिस्तारै कम्युनिष्ट गतिबीधी बढ्दै गए पछि पञ्चायती सरकारको पनि त्यस क्षेत्रमा नकारात्मक गतिबीधी बढ्दै गयो । बिशेष गरि पुनर्बास क्षेत्रमा कम्युनिष्ट बिचार फैलाउनमा कम्युनीष्ट नेता सत्यदेव भट्टराई र डाक्टर बाबुराम गौतमको उल्लेख्य योगदान रहेको छ ।

कम्युनिष्ट पार्टीका प्रभावशाली ब्यक्तित्व नेकपा एमालेका तत्कालिन अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीले आधिकांस आफ्नो निर्वासित जिवन यसै क्षेत्रमा बिताउनु भएको थियो ।

गांउमा कम्युनिष्ट प्रभावकै कारण तत्काल बिकास हुन नसकेको र राज्यको दृष्टीमा सधै पुनर्बास क्षेत्र पछि पारीएको हो भन्दा फरक पर्दैन । पञ्चायतकालमा पुनर्बास क्षेत्रमा सहकारी खेती गर्न थाले पछि तत्कालिन पुनर्बास कम्पनिका प्रबन्धक नारायण घिमीरेलाई भ्रष्टाचारको आरोप लगाउंदै बांकेबाट काठमाण्डौ सम्म पैदल यात्रा गराईएको थियो । सिंहले बांकेको गौघाट क्षेत्रमा सामुहीक खेतीको सुरुवात गराए लगत्तै उनीमाथी भ्रष्टाचारको आरोप लगाईएको थियो ।

पुनर्बास कम्पनिको नेपालमा भएका बिभन्न जन आन्दोलनमा पनि महत्वपूर्ण भूमीका रहेको छ । तत्कलीन अवस्थामा नेकपा माक्र्सबादी र त्यस पछि नेकपा एमालेको पकड रहेको बांकेको पुनर्बास क्षेत्रले जनयुद्धकालमा माओबादी नेता कार्यकर्तालाई पनि बलियो सेल्टर दिएको थियो । संबिधानसभाको निर्वाचनमा बांकेबाट माओबादीलाई जिताउन समेत पुनर्बास क्षेत्रको उल्लेख्य भुमीका रहेको थियो ।

यसरी नेपाली प्रजातान्त्रीक आन्दोलनमा अहम भूमीका खेलेको पुनर्बास क्षेत्रमा सरकारको गलत दृष्टीकोण बनेकै कारण जग्गा मालीक बनेको ३० बर्ष सम्म पनि जिवन स्तरमा खासै परिवर्तन हुन सकेको छैन । तराईमा कम्युनिष्ट गतिबीधी अत्यन्त न्युन रहेका बेला तराईमा कम्युनिष्ट बिचारको बिगुल फुक्ने बांकेको पुनर्बास क्षेत्र नेपालमा पटक पटक कम्युनिष्ट नेतृत्वको सरकार बन्दा पनि बिकासले गती लिन सकेको छैन । त्यसैले सरकारको ध्यान बांकेको पुनर्बास क्षेत्रमा पुग्न आवश्यक छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १० : ४६ बजे

सहकारी प्रकरण : कानून मन्त्रालयमा कार्यदलको बैठक सुरु

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई

खोटाङ । दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसदको गतिरोध हटाउने विषयमा छलफल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता

हावाहुरी रोकिएको ५ दिन पुग्दापनि बाँकेमा विद्युत पूर्ण सुचारु हुन सकेन

नेपालगन्ज । भिषण हावाहुरी र वर्षाका कारण अवरुद्ध भएको विद्युत

तमोर-मेवा जलविद्युत् आयोजनाको काम सुरु

ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित