१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

पार्टी विभाजन हुँदा ओलीका यी अनुयायीलाई पर्नेछ सबैभन्दा संकट !



बुटवल । पार्टी भित्रको अल्पमतको पीडा सहन नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीले हतासमा संसद विघटन गरेपछि ओलीकै भक्तिभावमा समर्पित केहि नेताहरुको भविष्य बिलखबन्दमा परेको छ । विगत आमनिर्वाचनमा निकै कठिन अवस्थामा बल्लतल्ल निर्वाचन जितेका ती नेताहरुको चुनावी भविष्य नै अन्धकार बनाइदिएको छ आफ्ना प्रिय नेताकै कारण ।

विशेषगरी ओलीको रक्षाकवच बन्दै आएका ईश्वर पोखरेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङ जस्तो नेपाली राजनीतिमा भविष्य देखेका नेताहरुलाई ओली कदमले मर्माहत बनाएको सजिलै अनुमान गर्न सकिन्छ । बाहिर बोल्न नसकेपनि । बाहिर उनीहरु ओली कदमको रक्षाकवचै हुन् । यी भित्र कतिपयले ओलीलाई असंवैधानिक कदम चाल्नका लागि उकासेका पनि हुन् । तर, आगामी ‘कथित’ मध्यावधि निर्वाचनमा यिनै नेताहरुलाई चुनाव जित्न मुस्किल हुनेछ । अघिल्लो निर्वाचनको मतपरिणामले त त्यही बताउँछ । दुई पार्टी एक भएर निर्वाचन लड्दा पनि यी नेताहरुलाई निर्वाचन जित्न धौ धौ परेको थियो ।

स्थायी कमिटीमा समेत रहेका पोखरेलद्वय, ज्ञवाली र नेम्वाङबाहेक विष्णु रिमालको जनाधार पहिलेदेखि नै शुन्य थियो भने राजन भट्टराई, गोकुल बाँस्कोटा लगायतको जनस्तरमा धरातल नभएकै कारण उनीहरुको भविष्य ओलीको भक्तिगानमा केन्द्रीत हुनु अस्वाभाविक होइन । तर जनस्तरबाट अगाडि बढेका शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदिप ज्ञवाली, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा जस्ता नेताहरुको भविष्य भने ओली कदमले सत्यानाश बनाइदिएको छ । यद्यपी, आफ्ना प्रिय अध्यक्ष र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध उनीहरु बाहिर खुल्न सक्नेछैनन् । बरु, गच्छेअनुसार प्रतिरक्षा नै गर्नेछन् ।

जनाधार नभएका नेताहरु अहिले पनि फुटका पक्षमा देखिएका छन् भने जनाधार भएका र भविष्य पनि देखेका नेताहरु सकेसम्म पार्टी विभाजनमा नगएको देख्न चाहेको उनीहरुको क्रियाकलापबाट स्पष्ट पारेको छ ।

ओली निकटका स्थायी समितिका प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङ लगायतका नेताहरु प्रधानमन्त्रीले ‘इगो’ छोडेर पार्टी निर्णय मान्नुपर्ने पक्षमा अहिले पनि देखिएका छन्। तर, प्रधानमन्त्रीले उनीहरुको कुरा बेवास्ता गरेको ओली निकटका नेताहरुले नै गुनासो गर्ने गरेका छन् । ओलीले ‘पार्टी निर्णय मान्दिनँ, बहुमतको निर्णय मान्दिनँ, बैठक बस्दिनँ’ जस्ता कुरा गर्दा कम्युनिष्ट स्कुलिङबाट उच्च स्थानमा पुगेका ज्ञवाली, पोखरेल र नेम्वाङ जस्ता नेतालाई मन नपोलेको होला भनेर भन्न सकिंदैन ।

तुलनात्मक रुपमा ओली पक्षका बलियो संगठन रहेको र युद्धकालदेखि माओवादीको कम प्रभाव रहेको रुपन्देहीमा विष्णु पौडेल ओली कदम पछि पनि बलियो देखिन्छन् । तर पार्टी विभाजनकै अवस्थामा पौडेलको उपस्थिति कमजोर बन्नसक्छ । फाइदा र नोक्सानको हिसाब किताब गर्न निकै सिपालु पौडेल पार्टीको भोलिको अवस्था हेरेर निर्णय पनि गर्नसक्छन् ।

पूर्व माओवादीको पनि केहि प्रभाव बाँकी रहेको र व्यक्तिगत स्वभावका कारण जनतामा लोकप्रियता कमाउन नसकेका तर रानीतिमा ठुलो भविष्य बोकेका शंकर पोखरेललाई भने ओली कदमले सबैभन्दा बढी घाटा हुने निश्चित देखिन्छ । उनले आफ्नो भविष्य जोगाउनकै लागि निकै पछिसम्म पनि सन्तुलित प्रस्तुती र पार्टी एकता जोगाउन भूमिका खेल्दै आएका छन् ।

ओली समूहका अर्को संकटमा परेका नेता हुन प्रदिप ज्ञवाली । सौम्य र भद्र नेताका रुपमा पहिचान बनाएका ज्ञवाली निकै कठिन अवस्थामा गत निर्वाचनमा काँग्रेसका बलिया नेता चन्द्र भण्डारीलाई पराजित गर्दै सांसद बनेका थिए । निर्वाचन सकिए लगत्तै ज्ञवालीका प्रतिद्वन्द्व भण्डारीले माओवादीको इमान्दारीले ज्ञवालीले चुनाव जिते भनेर प्रतिक्रिया व्यक्त गरेका थिए । अर्थात त्यतिबेला पनि पूर्व माओवादीले ज्ञवालीलाई भोट नदिएको भए ज्ञवाली चुनाव हार्थे भन्ने भण्डारीको निस्कर्ष थियो । ओली कदम पछि सिङ्गो कांग्रेसले विरोध गरिरहंदा चन्द्र भण्डारीले संसद विघटनको स्वागत गरेका छन् । किनकी नेकपा विभाजित हुँदा आफु विजयी बन्ने निकस्र्ष भण्डारीको छ ।

उता सांगठिनिक रुपमा नै हिजोको एमालेमा झलनाथ–माधव समूहको बलियो पकड भएको प्रदेश नम्बर १ मा सुवास नेम्वाङको भविष्य धरापमा परेको छ । पूर्व माओावादीको मत निर्णायक हुन नसक्ने इलाममा नेम्वाङलाई हराउन झलनाथ–माधवको समर्थक नै काफी छन् भन्ने दाबी सो समूहले गर्दै आएको छ । स्वभाविक रुपमा भविष्य जोगाउने धर्म अनुसार अध्यादेश प्रकरण र पछिल्लो समयमा नेम्वाङले ओली प्रचण्डका बीच सम्वाद गराउने निकै प्रयास पनि गरेका थिए । ओलीको सन्देश भन्दा पनि पार्टी विभाजन हुन नहुने पक्षमा उभिँदै आएका नेम्वाङ संसद विघटन पछि कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।

पार्टी फुटका पक्षमा सुरुदेखि नै भूमिका खेलेका ईश्वर पोखरेल र विष्णु रिमालको जनाधार र धरातल नदेखिएपनि फुटका पक्षमा रहेका पृथ्वी सुब्बा गुरुङको भने केहि जनाधार देखिन्छ । पार्टी औपचारिक विभाजन हुँदा विगतमा फुटेर गएकाहरुको समूहको हविगत आंकलन गर्दै कार्यकर्ताहरु मुलधारमै अडिएको अवस्थामा भने गुरुङलाई पनि विरासत जोगाउन मुस्किल पर्ने देखिन्छ । पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा समेत अल्पमतमा परेपछि पार्टी फुटको अवस्थामा पार्टी फुटालेर जाने पालो केपी ओलीको हुने निश्चित छ ।

नेपाली राजनीतिमा जसजसले पार्टी फुटाए उनीहरु या त सकिएर गएका छन् या त लुरुलुरु पार्टीमा फर्केर आएका छन् । शेरबहादुर, वाममदेव, पूर्वराजावादी राप्रहपाहरुको हविगत पार्टी विभाजनले स्पष्ट पारिसकेको छ । ओलीले पार्टी फोडेर मुल घर छाडेर जाँदा सबै लुरुलुरु पछि लाग्छन् भन्न सकिँदैन । ओली आफैले भोलिका दिनमा सबै पद त्याग्न तयार रहेको घोषणा गरिरहँदा रोगले गलेका ओलीलाई पार्टी विभाजनले केहि फरक नपर्ला, तर सुदुरकालसम्म भविष्य बोकेका र अहिले सान, मान र ठाँटका साथ केन्द्रीय नेता बनेका ओली समूहका केही नेताहरुका लागि भने राजनीतिक भविष्य कष्टपूर्ण हुने देखिन्छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ५२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम