३ चैत्र २०८२, मंगलबार | March 17, 2026

ग्राहकको आँखा नलाग्ने सुन्तलाबाट जुस



जाजरकोट । सुन्तलाको व्यावसायिक खेतीसँगै यहाँका कृषक अब जुस बनाउन सक्रिय भएका छन् ।

केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकीमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्याउन थालेका छन् ।

सबै ग्राहकका आँखा लाग्ने सुन्तला बिक्री वितरण भए पनि कम आँखा लाग्ने सुन्तलाबाट (साना सुन्तला) जुस बनाउने कामसमेत शुरु गरिएको छ । सुन्तलालाई खेर जान नदिन र कृषकलाई अर्थ आर्जनमा थप टेवा दिन र व्यावसायिकरूपमा सक्षम बनाउन प्रधानमन्त्री कृषि आधुनिक परियोजना, परियोजना कार्यान्वय एकाइ जाजरकोटले यो काम थालेको कार्यालय प्रमुख पीताम्बर बस्नेतले जानकारी दिए ।

उनले भने, “वास्तवमा साना सुन्तला जुन बिक्री हुँदैनन्, ग्राहकले किन्न मन पराउँदैनन् त्यस्ता साना सुन्तलाको जुस बनाउँदा राम्रो सदुपयोग हुने अनुभव गरियो । सोहीअनुसार कृषकसँग हाम्रो सहकार्य जारी छ ।” जिल्लाभरिका अगुवा कृषकको भेला गराई सुन्तलाबाट जुस निकाल्न तालिम दिएको परियोजनाले कृषकलाई नयाँ सीप, उपकरणसमेत हस्तान्तरण गरिरहेको छ ।

जिल्लाका नलगाड नगरपालिका र कुशे गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको छ । केही समयअघि जुनारको जुस बनाउने काममा लागेको परियोजना कार्यान्वयन कार्यालयले अब सुन्तलाको जुस बनाउन अगुवा कृषकलाई तालिमसमेत दिएको छ ।

तालिमबाट सिकेको सीप गाउँगाउँमा गएर अन्य कृषकले पनि सिक्ने कार्यालयको भनाइ छ । बाइस जना अगुवा कृषकले पहिलोपटक जुस बनाउने तालिम लिएका छन् । अघिल्लो वर्ष जुस बनाउने एउटा जुसर मेसिन रातोपाण्डा कृषि सहकारीलाई दिइएको थियो । अब सुन्तला जुस बनाउने जुसन मेसिन अन्य पालिकामा उपलब्ध गराउने परियोजनाको लक्ष्य रहेको प्रमुख बस्नेत जानकारी दिए ।

अहिले कोरोनाका त्रासका कारण जात्रा, मेला र हाटबजार नलाग्दा जाजरकोटमा उत्पादन भएको सुन्तला बिक्री, वितरण कम भएको कुशे गाउँपलिका–५ दमदालाका अगुवा कृषक शक्ति ओलीले जानकारी दिए ।

सुन्तला बिक्री कम भए पनि जुस बनाएर सबैको हातमा जुस पुर्याउने अभियानमा लागेको कृषक ओलीले बताए । उनले भने, “सुन्तला बिक्री गरी घरको सबै आवश्यकता पूरा गर्दै आएको अवस्था छ ।”

त्यस्तै अर्का अगुवा कृषक नलगाड नगरपालिका-३ का कमल पुनले भने, “गाउँघरमा पाहुनालाई नासोका रूपमा प्रयोग हुँदै आएको सुन्तलाले अब व्यावसायिक अभ्याससँगै अर्थआर्जनको मुख्य भाग भएको छ । खाली जमिनभरि सुन्तला लगाएर गाउँभरि सुन्तलामय भएको छ ।”

कृषक अब व्यापारी भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले कृषकलाई सुन्तला हुर्काउन, बढाउन र स्वस्थ राख्नका लागि विभिन्न व्यावसायिक सीप सिकाउँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले नौ सदस्यीय सुन्तला जात फलफूल जोन सञ्चालन समन्वय समिति गठन गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन म्यानुअल २०७७ मा व्यवस्था भएबमोजिम जोन विकास कार्यक्रम सञ्चालनमा सहजीकरण र लाभग्राहीको अनुगमन गर्न लाभग्राहीको प्रतिनिधित्व रहने गरी परियोजना कार्यान्वयन एकाइमा जोन स्थापनाका लागि सूचीकृत भएका निश्चित क्षेत्रभित्रका संस्थाको प्रतिनिधित्व हुने गरी नौ सदस्यीय जोन सञ्चालन समन्वय समिति गठन गरिएको छ । जनसिद्धि कृषि सहकारी संस्था कुशे गाउँपालिका-५ दम्दालाका लोकेन्द्र वलीको संयोजकत्वमा समन्वय समिति गठन भएको हो ।

समितले विद्यमान प्रविधि र पूर्वाधारको अभिलेख तयार गर्ने, कृषक समूह, सहकारी, उद्यमी आदिको विवरण अध्यावधिक गर्ने, कृषकको माग सङ्कलन गर्ने, कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने, परियोजनाका सरोकारवालासँग समन्वय र सहकार्य गर्ने, पूर्वाधारको विकास, प्रयोग र सम्वद्र्धन गर्न सहयोग गर्नेछ । त्यस्तै योजना तर्जुमा सहकार्य गर्ने, कार्यक्रम अनुगमन एवं पृष्ठपोषणमा परियोजना कार्यान्वयन एकाइलाई सहजीकरण गर्नेलगायतका कार्य गर्ने जोन प्रमुख बस्नेतको भनाइ छ ।

सुन्तला जात फलफूल जोनको कार्यक्षेत्र रहेका चार वटा स्थानीय तह कुशे गाउँपालिका, नलगाँड नगरपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकाका कृषकलाई सक्रिय बनाइएको छ । रासस

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  १२ : ५८ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन