२० मंसिर २०८२, शनिबार | December 6, 2025

सुरू भएको ९ वर्षमा पनि सकिएन कन्द्रा नदीको पुल



टीकापुर । कैलालीको भजनी नगरपालिका-३ स्थित कन्द्रा नदीमा पुल निर्माण सुरू भएको ९ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट सुरू भएको हो । पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका नागरिकको पुलबाट आवतजावत गर्ने सपना अधुरै छ ।

पुल साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी बिरुवा लामासाल्पा शेर्पा कम्पनीले ठेक्का लिएको तर ९ वर्ष बित्दासमेत पुल बन्न सकेको छैन । चार स्पान र पाँच पिलर भएको पुलको ९ वर्ष बित्दासमेत एउटा स्पान र चार पिलर मात्र निर्माण भएको छ ।

निर्माण सुरू भएको लामो समयसम्म पनि पुल नबन्दा त्यहाँका नागरिकलाई आवतजावत गर्न निकै समस्या भइरहेको भजनी नगरपालिका-३ का सीताराम चौधरी बताउँछन । ‘पुल नभएका कारण यहाँका नागरिकलाई नदी तर्न निकै समस्या छ । सबैलाई अप्ठ्यारो छ । नदी तर्न डुङ्गा तर्नुपर्ने समस्या छ’, सीतारामले भने, ‘बालबालिकालाई विद्यालय आउजाउ गर्न अझ समस्या छ । कहिलेकाहीँ राति पनि हिँड्नुपर्ने हुन्छ। राति कसरी डुङ्गा चढ्नु? पुल नहुँदा निकै दुःख पाइयो ।’ भजनी नगरपालिकाको वडा नं ५ र ७ का स्थानीयवासीलाई नगरपालिकामा आउन त्यो नदी तर्नैपर्ने हुन्छ ।

नदी तर्न निकै समस्या हुने गरेको वडा नं ७ का श्यामलाल थारूले बताए । ‘हामीलाई सबैभन्दा बढी पीडा नदी तर्नकै छ । दुःख बिमार हुँदा हामी भजनी जान सक्दैनौँ । आपतकालीन अवस्थामा रातिको समयमा नदी तर्न सकिँदैन’, श्यामलालले भने, ‘कसैलाई सुत्केरी व्यथा लागे हामी राति अस्पतालसम्म पुर्याउन सक्दैनौँ । पुल बन्ने आशा पनि मरेको छैन ।’ लामो समयसम्म पुल नबन्दा भजनीको मात्र नभई हुलाकी राजमार्गको पनि गति कम भएको छ । राजमार्ग सञ्चालनमा समस्या भएको छ ।

यसरी पटक-पटक थपिएको म्यादमा पनि काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरिनुपर्ने स्थानीय जयबहादुर बुढाको माग छ । ‘समयमै निर्माण सक्नुपर्ने हो, ९ वर्षसम्म पुल निर्माणका नाममा फाइदा लिने निर्माण व्यवसायीलाई सरकारले कारवाही गर्नुपर्छ’, उनले भने, ‘सम्झौता रद्द गरी अर्को कम्पनीलाई दिएर काम सक्नुपर्छ । नागरिकलाई निकै कष्ट भएको समस्या समाधानमा स्थानीय सरकारले पहल थाल्नुपर्छ ।’

बिरुवा लामा साल्पा शेर्पा कम्पनीले आफ्नोतर्फबाट कुनै लापरवाही नभएको प्रतिक्रिया दिएको छ । सुरूमा डिजाइन परिवर्तन हुँदा ढिलाइ भएको र पछि साझेदारले काम नगर्दा ढिलाइ भए पनि अहिले काम जारी रहेको निर्माण कम्पनीले जनाएको छ ।

कोराना महामारीका कारण केही समस्या आए पनि यस आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न हुने कम्पनीका साइड प्रतिनिधि नगेन्द्र रावतले बताए । ‘पहिलो वर्ष विवाद भएर काम गर्न सकिएन’, रावतले भने, ‘यस वर्ष निर्माण सक्छौँ । यसअघि जेजे भयो, अब यस वर्ष सक्ने गरी काम थालेका छौँ ।’

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका अनुसार चार करोड ४२ लाख रूपैयाँ लागतमा पुल निर्माणको म्याद थप गर्दै २०७७ माघसम्म पुर्याइएको छ । भौतिक पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरी समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कानूनी दायरामा ल्याई कारवाही नगर्दासम्म यस्ता समस्या आइरहने स्थानीयवासी बताउँछन । रासस

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ९ : १८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय