२३ माघ २०८२, शुक्रबार | February 6, 2026

निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण उद्योग स्थापना गर्न समस्या



कावासोती । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा उद्योग स्थापना गर्न समस्या भएको उद्योगीव्यवासयीले गुनासो गरेका छन् ।

आठ वटा स्थानीय तह रहेको नवलपुरका पाँच स्थानीय तह चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछन् । जिल्लाको राजमार्गसँगै जोडिएका गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका साथै विनयी त्रिवेणी गाउँपालिकाको धेरैजसो क्षेत्र मध्यवर्तीको सीमाभित्र पर्दछन् ।

मध्यवर्ती क्षेत्रमा कुनै पनि उद्योग स्थापना गर्न निक्कै समस्या हुने गरेको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष डासुराज पोखरेलले बताए । राजमार्गदेखि नजिकैको र उद्योग स्थापनाका दृष्टिले सहज भएका सबैजसो क्षेत्रमा मध्यवर्तीका कारण उद्योगीले उद्योग स्थापना गर्न नचाहेको सङ्घका अध्यक्ष पोखरेलले बताए । उनका अनुसार यस क्षेत्रमा जुनसुकै उद्योग स्थापना गर्नका लागि अनुमति लिन चितवन राष्ट्रिय निकुञ्जको कसरा पुग्नुपर्छ । “यहाँ कसैले उद्योग खोल्ल चाह्यो भने घरेलु कार्यालय मात्रै गएर हुँदैन, वडाको सिफारिस बोकेर चितवनको कसरा धाउनुपर्छ”, उनले भने, “त्यसैले चाहेर पनि यहाँ कोही उद्योग व्यापार गर्न नआउने परिस्थिति बनेको छ ।”

भारतीय सीमासँग जोडिएको जिल्ला भएकाले कच्चापदार्थ ढुवानीलगायतका दृष्टिले उद्योग स्थापनाका लागि यहाँ उद्योगीहरुले चासो दिने गरेका छन् । तर पनि उद्योग स्थापना धेरै झन्झटिलो भएकोले लगानी गर्न हिच्किचाउने गरेका छन् ।

गण्डकी प्रदेशकै उद्योग स्थापनाका दृष्टिले उचित वातावरण भएको जिल्ला नवलपुर भए पनि मध्यवर्तीका कारण सहजरूपमा स्थापना गर्न सक्ने अवस्था नभएको उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष ओमप्रकाश पौडेलले बताए ।

देशकै मध्यभागमा रहेकाले यहाँ उद्योग स्थापना गरे उत्पादित सामग्री देशको पूर्वी भागदेखि पश्चिमसम्म लैजान सहज हुने हुन्छ । तर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण जति उद्योग स्थापना हुनुपर्ने हो त्यति हुन नसकेको उपाध्यक्ष पौडेलले बताए ।

समथर भाग मध्यवर्ती क्षेत्रमा पर्ने र पहाडी क्षेत्रमा पूर्वाधार निर्माण गरी उद्योग स्थापना गर्न लगानी धेरै लाग्ने हुँदा जिल्लामा उद्योगमैत्री वातावरण बन्न नसकेको उद्योगीहरूले बताएका छन् ।

जिल्लामा कावासोतीको लोकाहा क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनिए पनि त्यसका लागि प्रदेश सरकारले उचित बजेट विनियोजन गरी काम शुरु गर्न सकेको छैन् । “औद्योगिक क्षेत्र निर्माण भएको भए पनि केही राहत हुने थियो, यसले गति लिनसकेको छैन” अध्यक्ष पोखरेलले भने, “जसले गर्दा उद्योग स्थापना जति मात्रमा हुनुपर्ने थियो त्यति हुन सकेको छैन । ”

चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती सीमा क्षेत्र तय गरेर पत्र पठाएको र यस क्षेत्रमा मध्यवर्तीको सहमति लिएर मात्रै उद्योग स्थापना गर्नुपर्ने प्रावधान रहेको घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख विक्रम सुवेदीले बताए।

मध्यवर्ती क्षेत्रमा उद्योग स्थापना गर्न रोक नलगाएको भए पनि केही मापदण्ड रहेको प्रमुख सुवेदीले जनाए । “उद्योग स्थापना गर्न रोकिएकै भन्ने छैन तर स–मिल, फर्निचर, वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने उद्योगमा केही मापदण्ड हुनसक्छन्”, उनले भने, “अन्य उद्योग स्थापना रोक छैन तर केही झन्झटिलो भने अवश्य छ ।”

जिल्लामा मध्यवर्तीकै कारण उद्योग स्थापना गर्न असहज भएपछि विद्यमान मध्यवर्तीसम्बन्धी कानून परिमार्जन गरेर भए पनि सहज उद्योगमैत्री बनाउनुपर्ने उद्योगीहरुले माग गर्दै आएका छन् । -रासस

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ११ : ४४ बजे

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना