१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

दुई वर्षमा चौध लाख परिवारले भूमिपूर्जा पाउनुपर्ने



काठमाडौं । सुकुम्वासीका समस्या समाधान गर्ने र उनीहरुलाई भूमिको मालिक बनाउन विगतका वर्षमा धेरै प्रयास भए ।

चुनाव आउँदा राजनीतिक दलले समस्या समाधान गरी भूमिमालिक बनाउने भन्दै ठूलै आश्वासन पनि बाँडेका थिए । तर अझै पनि झण्डै पाँच लाख सुकुम्वासी भूमिविहीन भएर बसिरहेका छन् । कूल गरेर १४ लाखको समस्या समाधान गर्नुपर्नै जिम्मेवारी छ ।

विगतमा रहेको सुकुम्वासी समस्या समाधन आयोगलाई अहिले नाम फेरेर भूमिसम्बन्धी समस्या समाधान आयोग बनाइएको छ । भूमिहीन नागरिकले नामले मात्रै नभइ व्यवहारतः काम पनि फेर्नुपर्ने माग गर्दै आएका छन् ।

सरकारले अहिले अन्तिम पटकका लागि भनेर भूमिहीनका समस्या समाधानका लागि काम अघि बढाएको छ । आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवाली तोकिएकै समयमा भूमिविहीनलाई भूमि उपलब्ध गराउनका लागि आवश्यक नियम, कानुन तथा निर्देशिका परिमार्जन गरेर काम अघि बढिसकेको बताउँछन् ।

प्राप्त विवरणअनुसार मुलुकभर साढे पाँच लाख सुकुम्वासीलाई राज्यले जग्गा उपलब्ध गराउनुपर्ने छ भने बाढीपहिरोलगायत विभिन्न कारणबाट विस्थापित भएका तथा अन्य कारणले पूर्जा नपाएका झण्डै नौ लाखसहित गरेर १४ लाखले भूमि प्रमाणपूर्जा पाउनुपर्ने अवस्था रहेको आयोगका प्रवक्ता भीमबहादुर कार्की बताउँछन् ।

सरकारले उनीहरुबाट निश्चित राजश्व लिएर जग्गाधनी पूर्जा दिने व्यवस्था गरेको छ । गरिब विपन्नलाई कम र माथिल्लो तहका लागि अली बढी राजश्व लिने व्यवस्था गरिएको छ । “मालपोत मूल्यअनुसार गरिबलाई ८ प्रतिशत र अन्यका हकमा २ सय प्रतिशतसम्म राजश्व लिने प्रावधान छ”, कार्कीले भने, “यसबाट झण्डै साँढे दुई खर्ब राजश्व सङ्कलन हुने लक्ष छ ।” यसका साथै विगतका आयोगले गरेका अधुरा काम र भूमि उपयोग गरिरहेका तर पूर्जा प्राप्त नगरेकाको जग्गाको व्यवस्थापन पनि गर्नुपर्ने अभिभारा आयोगलाई छ ।

पछिल्लो समयमा तीन वर्षे कार्यकाल रहेको आयोगको झण्डै एक वर्ष सकिएकाले अबको दुई वर्षमा काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डे बताउँछन् । अहिले सुकम्म्वासीले कहिले जग्गा पाउने भनेर प्रतिक्षा गरिरहेका छन् भने विचौलीया जग्गा हात पार्ने प्रयासमा रहेकाले त्यसतर्फ सचेत हुनुपर्ने अवस्था रहेको प्रवक्ता कार्की सुनाउँछन् ।

आयोगका लागि मुख्य जिम्मेवारी भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा दिनुनै हो । अवस्स्था हेरी खेती किसानीका लागि भनेर कृषि जग्गा नै उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ । यस्तै अव्यवस्थित रुपमा बसोबास गरिरहेकाको व्यवस्थापन गर्ने अर्को जिम्मेवारी आयोगलाई छ ।

नेपालको संविधान २०७२ ले नै आवासको हक, सम्पत्तिको हक, समानताको हक तथा सामाजिक न्याय र सुरक्षाको हकको व्यवस्था गरेको छ । दलितको हकको व्यवस्था पनि छ । तसर्थ संविधान कार्यान्वयनका लागि पनि जग्गाधनी पूर्जा वितरण गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

४०० बढी पालिकासँग सम्झौता

आयोगकाअनुसार अहिले जग्गाधनी पूर्जा वितरणका लागि आवश्यक प्रक्रिया अघि बढेको छ । आयोगले दिएको विवरण अनुसार अहिलेसम्म ४ सय १ पालिकासँग यस प्रक्रियाका लागि सम्झौता भइसकेको छ । कुल ७ सय ५३ पालिकामध्ये अन्यसँगै सम्झौता गर्न बाँकी छ ।

अन्य पालिकासँग सम्झौता गर्न केही समस्या रहेकाले त्यसलाई आवश्यक समन्वयका साथ काम गर्न आयोगका जिल्ला समितिका पदाधिकारीलाई सरकार र आयोगले निर्देश गरिसकेको छ । केही दिनअघि मात्रै शपथ खाएर जिल्ला गएका आयोगको जिल्ला समितिका अध्यक्ष, विज्ञ सदस्य तथा सदस्यहरुले समन्वय गरेर काम अघि बढाउने प्रतिबद्धता जनाइसकेका छन् ।

यसरी भूमि उपलब्ध गराउनु भनेको सामाजिक न्याय र समानतासहित संविधानले अवलम्बन गरेको मुलुकलाई समाजवादतर्फ उन्मुख गराउने महत्वपूर्ण कडी हो । सचिव पाण्डे यस्तो परिस्थितिमा जग्गा दलालले आँखा लगाउनसक्ने भएकाले विशेष सचेत हुन अनुरोध गर्छन् ।

यसपटक घरघरमै पुगेर लगत सङ्कलन

विगतमा सुकुम्वासी समस्या समाधान आयोग हुँदा निवेदन आह्वान गर्ने गरिएको थियो । त्यो विधि वैज्ञानिक नभएको निष्कर्ष निकालेर यसपाली भने सूचना प्रविधिलाई अधिकतम उपयोग गर्दै घरघरमै पुगेर लगत सङ्कलन गरी वास्तविक समस्या पहिचान गर्न खोजिएको छ ।

“तथ्याङ्क सङ्कलन बाहेक सबै काम डिजिटल रुपमै हुन्छ, जग्गाधनी प्रमाणपत्रसमेत सफ्टवेरबाटै प्रिन्ट गरेर दिने व्यवस्था मिलाइएको छ”, आयोगका विज्ञ सदस्य जगतबहादुर देउजाले भने । उनकाअनुसार आवश्यकताअनुसार सेटेलाइट, ड्रोनको प्रयोग गरेरसमेत काम अघि बढाइने छ ।

उनका अनुसार अहिलेसम्म ५३ प्रतिशत बढी स्थानीय तहसँग समझदारी भएर आवश्यक प्रक्रिया अघि बढिरहेको र दैनिक दशौँ हजारको लगत सङ्कलन भइरहेको छ । सबैभन्दा राम्रो प्रगति गण्डकी प्रदेशमा ९५ प्रतिशत भएको उनले बताए । प्राप्त विवरणमा अहिलेसम्म यसरी एक लाख ५० हजार बढीको लगत सङ्कलन भइसकेको छ ।

आगामी असोजसम्ममा जग्गा प्राप्त हुन नसके कानुनी बाटो अवलम्बन गर्ने अधिकारसमेत खुला भएकाले आयोगलाई ठूलो दबाब रहेको देउजा सुनाउँछन् । प्राप्त विवरणमा झण्डै एक करोड १० लाख कित्ता जग्गामा भूमिहिनले आवाद गरिरहेका छन् । ती जगग अनौपचारिक रुमपासमेत किनबेच भइरहेको छ । रासस

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  २ : ४४ बजे

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड