२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

२६ वर्षपछि मुहार फेर्दै बुटवल बसपार्क : स्नान गृह, फ्रि वाइफाइदेखि बहुतले पार्किङसम्मको योजना



बुटवल । बुटवलको मध्य बजारमा बनेको बसपार्कले संचालनमा आएको २६ वर्ष पछि मुहार फेर्ने संकेत गरेको छ । बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्कको परिकल्पना सहित विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गरेसँगै बुटवल बसपार्कको मुहार फेरिने संकेत भएको हो ।

चिटिक्कको बुटवल शहरको आधुनिक विकास हुँदै गएपनि धुलो, हिलो, फोहोर र दुर्गन्धले आधुनिक बुटवल गिज्याइरहेको बसपार्कमा धमाधम नयाँ संरचनाहरु बन्न थालेका छन् । पस्नै घिनलाग्दो शौचालयको विकल्पमा स्नानगृह सहितको शौचालयको निर्माण सुरु भएको छ भने भएको शौचालयलाई कम्तीमा प्रयोग गर्न सकिने गरि सरसफाई गरिएको छ । आम यात्रुसँग शुल्क लिएर पनि दुर्गन्धित हुने गरेको बसपार्कको शौचालयलाई निशुल्क गराउँदै सरसफाईमा उपमहानगरले प्रयास थालेको छ ।

बुटवलले तिब्र गतिमा आधुनिकरण सहितको विकास पाएसँगै बसपार्कले पनि परिवर्तनको संकेत देखाउन थालेको बसपार्क भित्र व्यवसाय गर्ने व्यवसायीहरुले बताएका छन् । उपमहानगरले थालेको प्रयासलाई यातायात व्यवसायीहरुले पनि प्रशंसा गरेका छन् । पश्चिम नेपाल बस व्यवसायी प्रालीका संचालक जिवन बन्जाडेले उपमहानगरले थालेको प्रयास राम्रो भएको बताए । उनले कार्यान्वयनको पाटो हेर्न बाँकी रहेपनि थालनि राम्रो भएको बताए ।

बन्जाडेले नयाँ संरचना बनाइएसँगै पुराना संरचनाहरुलाई पनि मरमत सम्भार गरेर सदुपयोग गर्न उपमहानगरलाई सुझाव दिए । शौचालयको सरसफाईमा कमी रहेको, प्रचार गरिए जस्तै वाइफाई नचलेको र टिकट काउण्टरहरु पुरानो र जिर्ण बनेको उनले गुनासो गरे ।

बुटवल उपमहानगरले यसै आर्थिक वर्षबाट बसपार्कलाई सुन्दर र व्यवस्थित बनाउने योजना अघि बढाएको छ । चुनावी घोषणापत्रको प्रतिबद्धता अनुरुप बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको बसपार्कको स्तरउन्नतीमा सक्रियता देखाएका छन् ।

उपमहानगरले पहिलो चरणमा मनिसहरूको बढि भिडभाड हुने बसपार्कलाई सुरक्षाका दृष्टिले बसपार्कका विभिन्न स्थानमा सिसिटिभि जडान गरेर सुरक्षा निगरानी राख्न सुरु गरेको छ । सिसीटिभी क्यामराले बसपार्कमा हुनेसक्ने चोरी डकैती र लुटपाटका घटनामा यसले कमी ल्याउने विश्वास गरिएको उपमहानगर प्रमुख पाण्डेयले विश्वास ब्यक्त गरे ।

तस्वीर : शरण कर्माचार्य

उनका अनुसार प्रविधिको विकासले तीव्रता पाएसँगै प्रविधिसँग पनि बसपार्कलाई जोडिएको छ । यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै बसपार्कमा फ्रि वाईफाईको व्यवस्था गरिएको छ । यसबाट धेरै यात्रुले लाभ लिइरहेका छन् । गाउँका दुरदराजबाट बुटवल झरेका यात्रुहरुलाई डाटा प्रयोग महङ्गो परिरहेका बेला निशुल्क वाईफाईले धेरै सहजता प्रदान गरेको छ । बसको समय नहुँदा सम्म र आफन्तहरुसँगको सम्पर्कका लागि निशुल्क वाइफाईले धेरै सहज भएको गुल्मी काउण्टर अगाडी बस पर्खिरहेकी गुल्मी मुसिकोटकी पवित्रा भण्डारीले बताइन् । ‘वाईफाई चल्दा चल्दै हराउने रहेछ, लगातार चल्ने बनाउनु पर्छ’ । उनले सुझाव दिईन् ।

केही महिना पहिले सम्म बसपार्कको गुल्मी काउन्टरमा जाँदा नजिकै रहेको शौचालयबाट आउने गन्धले दुई औंलाले नाक थुनेर टिकट काट्नुपर्ने अवस्था थियो । दुर्गगन्धले त्यहाँ पुग्ने यात्रु, सवारी चालक र टिकट काउन्टरका कर्मचारी समेत आजित थिए । तर अहिले दैनिक हुने सरसफाईले शौचालय तुलनात्मक रुपमा व्यवस्थित हुँदै गएको छ ।

बढ्दो भिडलाई ध्यानमा राखेर अहिले उपमहानगरले लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन शुद्ध पिउने पानी, व्यवस्थित खाजा घर, शौचालय सहितको स्नानघर निर्माण गर्न सुरु गरिसकेको छ ।

‘यात्रुको चापलाई ध्यानमा राख्दै व्यवस्थित बसपार्क बनाउने योजनामा हामी लागेका छौँ । उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले भने । उनले यात्रु आएर बुटवल बसपार्कमा झर्ने भएकाले बुटवलको परिचय के हो भन्ने बसपार्कबाटै सन्देश दिने गरी विभिन्न योजनाहरू निर्माण र कतिपय कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

नगरप्रमुख पाण्डेय बुटवलमा यात्रा गरेर आएपछि नुहाउन होटलमा जानुपर्ने बाध्यताको अन्त्य गर्न स्नानगृहको निर्माण थालिएको बताए ।

यात्रु लक्षित उक्त योजना अहिले बसपार्कमा १ करोड ८० लाख ८४ हजार रुपैयाँ लागतमा अघि बढिरहेको छ । सुविधा सम्पन्न स्मार्ट स्नान गृह सहितको शौचालय निर्माण कार्य तीव्र भएको छ ।

तस्वीर : शरण कर्माचार्य

१ हजार ७२९ वर्गफिटमा निर्माणाधीन स्नान गृहको काम अहिले ८४ प्रतिशत सकिएको छ। सैनामैनाको सिभिल विल्डर्स एण्ड इन्जिनियरिङ कन्स्ट्रक्सनले २०८० वैशाख ३१ मा ठेक्का सम्झौता गरेको यो योजनाको निर्माण सम्पन्न अवधि २०८१ असार १५ सम्म हो ।

‘यात्रुहरूलाई स्नान गराउने गरी बसपार्कमा भवन निर्माणधीन अवस्थामा छ । यो सञ्चालन पछि होटलमै पुगेर फ्रेस हुनुपर्ने बाध्यताको अन्त्य हुनेछ’, उनले भने ।

बसपार्कमा हाल टिकट काउण्टरकारुपमा प्रयोग भइरहेका अधिकांश भवन पुराना र जिर्ण बनेका छन् । कतिपय काउन्टरमा बसेर काम गर्न समेत काउन्टरका कर्मचारीलाई अप्ठ्यारो भएको समितिका संचालक बन्जाडेले बताए । उपमहानगर प्रमुख पाण्डेयले भने राजश्व अनुसन्धानको कार्यालय आफ्नो भवनमा गएसँगै टिकट काउण्टर नयाँ भवनमा सर्ने भएकाले अनावश्यक थप खर्च नगरिएको बताए ।

उपमहानगर प्रमुख पाण्डेयले उज्यालो बसपार्क, सफा बसपार्क र सुरक्षित बसपार्कको मुल नारा तय गरेर का अगाडी बढाइएको बताउँदै निकट भविश्यमा बसपार्क भित्र ६० फुट अग्लो हाईमास्ट लाईट बल्न थाल्ने जनाए ।

उनले हाल शौचालय भएको स्थानमा मिनि सुपरमार्केटको अवधारण ल्याईएको पनि जानकारी दिए । बसपार्क भित्र सुबिधा सम्पन्न र हाइजेनिक क्यान्टिन रहने र स्वस्थकर खाना खाजाको सुबिधा बसपार्क भित्रै पाईने व्यवस्था गर्न थालिएको उनले बताए ।

बसपार्कको दक्षिण तर्फ कार पार्किङ सहितको ७ तले व्यवस्थित व्यवसायिक भवन निर्माण गर्न डीपीआर तयार भएको नगर प्रमुख पाण्डेयले बताए ।

उनका अनुसार करिब साढे ३० करोडको लागतमा आधुनिक प्रविधिको बहुतले पार्किङ भवन बन्ने भएको हो । सो पार्किङमा ७० प्रतिशत लगानी नगर विकास कोष र बाँकी ३० प्रतिशत बुटवल उप९महानगरपालिकाको लगानी रहने छ ।

बस टर्मिनल परिसरमा निर्माण हुने आधुनिक बहुतले पार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भइसकेको र ठेक्का लगाउने तयारी भएको बुटवल उपमहानगरले जनाएको छ ।

बुटवलमा रहेको पार्किङको समस्या समाधानका लागि पार्किङ भवन बनेपछि बुटवलमा सडकमा गाडी पार्किङ गर्नुपर्ने बाध्यता हट्ने साथै यसले बुटवललाई अझै व्यवस्थित सहरका रूपमा स्थापित गर्न मद्दत पुग्ने उनले बताए ।

मेयर पाण्डेयका अनुसार सात तले पार्किङ भवनमा एकसाथ करीब २ सय हलुका सवारी पार्किङ गर्न सकिनेछ । सबैभन्दा तल्लो तलामा गाडी लगेर छाडेपछि आफै स्वचालित मेसिनले खाली भएको ठाउँमा गाडी लगेर रानेख्छ र गाडी लिन आएपछि कोडअनुसार पुनः गाडी तल्लो तलामा आउनेछ ।

 

तस्वीर : शरण कर्माचार्य
तस्वीर : शरण कर्माचार्य
तस्वीर : शरण कर्माचार्य
तस्वीर : शरण कर्माचार्य
तस्वीर : शरण कर्माचार्य

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : ३५ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको