८ चैत्र २०८२, आइतबार | March 22, 2026

बिहेभोजका नाममा रातभर बजाइने डिजेले नागरिकलाई सास्ती



टीकापुर । कैलालीका गाउँमा विवाह तथा भोजका नाममा रातभरि बजाइने बाजा तथा डिजेले नागरिक दिक्क भएका छन् । गाउँघरमा विवाह तथा भोजका नाममा बजाइने बाजागाजाले नागरिकलाई सास्ती भएको छ ।

टीकापुर नगरपालिका–५ की सन्ध्या चौधरी सुत्केरी भएको सात दिन भयो । उनको छिमेकमा विवाह थियो । छिमेकमा चार दिनसम्म डिजे बजाइयो । भर्खरै सुत्केरी भएकी सन्ध्यालाई निकै तनाव भयो । उनले रातिको समयमा राम्ररी सुत्न पाएनन् ।

साथै भर्खर जन्मिएको बच्चा तर्सिन थाल्यो । “सुत्केरी अवस्थामा पर्याप्त आराम चाहिन्छ, छिमेकमा विवाह थियो, नबजाउनु भन्न सकिएन”, सन्ध्याले भनिन्, “रातभर सुत्न सकिएन, बच्चा पनि ठूलो आवाजले होला तर्सन थालेको छ, बाजाले कस्तो असर पार्छ भन्ने बल्ल बुझेकी छु ।”

जानकी गाउँपालिकाका ७६ वर्षीय रुपराम कामीलाई पनि रातभर गाउँमा बजाइने डिजेको असर निकै पर्छ । उनको गाउँमा पनि विवाह तथा भोजमा मात्र होइन, कसैको जन्मदिन भएमा पनि रातभर ठूलो स्वरमा बाजा बजाइने गरिन्छ । “म बूढो मानिस गाउँमा रातभर बाजागाजा बजाएमा सुत्न सकिँदैन, मलाई उच्च रक्तचापको समस्या छ, रातभरि नसुत्दा स्वास्थ्यमा असर पर्छ”, उनले भनिन्, “मैले त अत्ति भएपछि गाउँपालिकामा गएर वडाध्यक्षलाई रोक्न आग्रह गरे तर गाउँका मानिस अटेरी हुने रहेछन्, अहिले पनि यस्तै छ ।”

त्यस्तै रातिको समयमा ठूलो स्वरमा बाजागाजा बजाउँदा विद्यालय पढ्ने बालबालिकालाई बढी समस्या हुने गरेको छ । रातिको समयमा बाजाको आवाजले बालबालिकाले पढ्न नपाउने, निद्रा पूरा नहुँदा भोलिपल्टको पढाइमा असर पर्ने गरेको छ । विद्यार्थी सुलभ साउदले गाउँमा बजाइने डिजेका कारण आफूलाई बढी असर परेको बताए । “ठूलो आवाजमा गाउँ नै थर्किने गरी बाजा बजाउँदा पढाइमा मन जाँदैन”, उनले भने, “सरकारले यसलाई रोक्नपर्छ, निश्चित समय तोक्नुपर्छ ।”

यसरी रातिको समयमा बाजागाजा बजाउँदा बालबालिका जम्मा हुने भएकाले गलत बाटोमा जानसक्ने डर पनि त्यत्तिकै छ । यसरी भीडभाड भएमा झैँझगडा हुनसक्ने, चोरी लुटपाटजस्ता जोखिम रहेको स्थानीयवासी झपट बुढा बताउँछन् । “रातिको समयमा बालबालिका जम्मा भएमा गलत बाटोमा लाग्न सक्छन्”, बुढा भन्छन्, “रमाइलोका नाममा अरुलाई असर गर्ने गरी गर्न हुँदैन, यसरी गाउँलाई नै असर पार्ने गरी रातिको समयमा बजाइने बाजा नियन्त्रण गर्नुपर्छ, रमाइलो दिउँसो गरे भैहाल्छ नि ।”

अरुलाई असर हुने गरी बाजा बजाएमा टीकापुर प्रहरीले सम्झाउने र बाजा बजाउने काम बन्द गर्न लगाउने इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बम बताउँछन् । “कहिलेकाहीँ हामीलाई रातभर सुत्न पाइएन भनी छिमेकीले नै फोन गर्ने पनि गर्नुभएको छ, हामीले रातिको समयमा अरुको निद्रामा असर पार्ने गरी नबजाउन आग्रह गर्ने, बन्द गर्न लगाउने गरिरहेका छौँ”, प्रहरी निरीक्षक बलमे भने, “गाउँमा देखिने यस्ता समस्या समाधानका लागि हामीले बस्तीस्तरमा स्थानीयवासीकै सक्रियतामा सुरक्षा समिति गठन गरेका छौँ, समितिले अब समुदायका यस्ता समस्या हल गर्नेछन् ।”

जानकी गाउँपालिकाले भने सार्वजनिक सूचना जारी गरेर रातिको १०ः०० बजेपछि बाजा बजाउन रोक लगाएको छ । गाउँपालिकाले राति १०ः०० बजेपछि बाजा बजाउन नपाइने सहमति गरेर सबै वडामा निर्देशन दिएको वडा नं १ का वडाध्यक्ष धनीराम चौधरी बताउँछन् । “हामीले गाउँका बडघर तथा अगुवा नागरिकलाई भेला गरेर रातिको समयमा अरुलाई असर पार्ने गरी बाजा नबजाउने विषयमा छलफल र सहमति गरेका छौँ”, उनले भने, “तर नागरिकले अटेरी गर्दा डिजे आतङ्क नियन्त्रण गर्न सकिएको छैन ।” रासस

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : ३१ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु