काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावित भएका शहरी क्षेत्रका विद्यालयहरु बैशाख भर बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले बैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्दै वैकल्पिक रुपमा पठनपाठन गराउन सिफारिस गरेको थियो ।
त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।
आजको बैठकले कोभिड-१९ सम्बन्धी नयाँ आदेश जारी गरेको स्रोतले जनाएको छ । नेपालमा कोरोना संक्रमण रोकथामका लागि के गर्ने भन्ने विषयमा छलफल गर्न आजको मन्त्रिपरिषद्को बैठक बसेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले काठमाडौं उपत्यकासहित चितवन, रुपन्देही, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई कोरोना अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।
प्रतिक्रिया