८ बैशाख २०८१, शनिबार | April 20, 2024

अक्सिजनको झन हाहाकार : अस्पतालबाट निकालिए बिरामी



काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ-आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलवार बिहान सूचना जारी गर्‍यो ।

अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र स्वास्थ्य मन्त्रालयलाई समेत गराएको सूचनामा उल्लेख थियो । सूचनापछि उपचाररत कोरोना संक्रमित र उनका आफन्त आत्तिए । ‘राति पनि अक्सिजन चाहिनेजति दिइएन । बिहान त अक्सिजनै सकिने सूचना आयो,’ एक संक्रमितका आफन्तले भने ।

नेपाल मेडिकल कलेजको अस्पतालमा अक्सिजन सपोर्टमा ९९ संक्रमित उपचाररत थिए । भनसुन गरेर र पालो कुरेर बल्ल बेड पाएकाहरू धेरै थिए । सूचनापछि बन्दोबस्त मिलाएर २२ जना अन्यत्रै गएका छन् । जसमा आईसीयूमा उपचाररत १ जना कोरोना संक्रमित पनि छन् ।

संक्रमितको संख्या हरेक दिन बढे पनि अक्सिजन पाउनै समस्या भएपछि भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका निर्देशक डा. राजेशकिशोर श्रेष्ठले बताए ।

‘म आफैं रातभरि लाइन बसें । यता अस्पतालमा अक्सिजन सकिन लाग्यो भनेर बारम्बार फोन आउँथ्यो । लाइन बस्दाबस्दै अक्सिजन भर्ने मशिन बिग्रियो भनेपछि के हुन्छ होला ?’ उनले भने, ‘अक्सिजन सकिन लाग्यो भनेर बिरामी पनि रुन थाले । अक्सिजन नभएकैले हुन सक्ने दुर्घटना रोक्न बिरामी डिस्चार्ज गर्न बाध्य भयौं ।’ डा. श्रेष्ठले अक्सिजन प्लान्टमा लाइन बसेका बेला पनि अरूले पालो मिच्ने गरेको सुनाए । उनले अब नयाँ बिरामी पनि नलिने निधो गरेको बताए ।

ललितपुरको नेपाल मेडिसिटी अस्पतालले पनि अक्सिजन अभावकै कारण थप संक्रमित भर्ना लिन छाडेको भन्दै मंगलवार विज्ञप्ति जारी गरेको छ । अस्पतालले विज्ञप्तिमा भर्ना भएका संक्रमितलाई पनि अक्सिजन अभावका कारण उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्ने जनाएको छ । स्थिति सामान्य बनेर आवश्यक अक्सिजन र अन्य सामग्री प्राप्त भएसँगै नयाँ भर्नाका लागि अस्पताल व्यवस्थापनबाट अर्को सूचना जारी हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हरेक दिन ४५० देखि ५०० सिलिन्डर अक्सिजन आवश्यक पर्नेमा सरकारबाट १०० सिलिन्डर मात्र उपलब्ध गराउने जानकारी पाएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाले बताए । मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री र दीर्घायुले अक्सिजन नभएकै कारण बिरामी लिने अवस्था नरहेको भन्दै आइतवार नै विज्ञप्ति निकालेको थियो । ‘अक्सिजन दिनुपर्ने बिरामी भर्ना लिन सकिएको छैन,’ मेडिकेयर अस्पतालका प्रशासकीय प्रबन्धक हरिभक्त सिग्देलले भने, ‘अक्सिजन सहज नभई बिरामी लिँदा अप्रिय घटना हुन्छ । त्यसैले अक्सिजन सहज नभएसम्म जटिल खालका बिरामी लिन सक्दैनौं ।’

ओम अस्पतालले पनि अक्सिजनको अभावमा नयाँ बिरामी भर्ना गर्न नसक्ने विज्ञप्ति जारी गरेको छ । ‘सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन अपर्याप्त भएकाले बिरामीको उपचारका लागि तत्पर र तीव्र इच्छा हुँदाहुँदै चिकित्सक, नर्सलगायतका मानव संसाधनसमेत पर्याप्त रहेको अवस्थामा पनि अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना गर्न असमर्थ भएको जानकारी गराउन चाहन्छौं,’ अस्पताल प्रशासनले सोमवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अक्सिजन आपूर्ति सहज हुनासाथ उपचार सेवा पूर्ववत् सञ्चालन हुनेछ ।’

सरकारी अस्पतालमा पनि अक्सिजन अभाव छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक संक्रमितले अक्सिजन नपाएपछि जोहो गरिदिन सामाजिक सञ्जालमा आह्वान नै गरिएको छ । पत्रकार प्रकाश रिमालले लेखेका छन्, ‘टिचिङ अस्पतालमा भएका एक बिरामीलाई अक्सिजन चाहिएको छ । डाक्टरले प्रतिमिनेट २ लिटर लिन भनेका छन्, बिरामीले १ लिटर लिइराख्नुभएको छ र अक्सिजन सकिन लागेको छ ।’

अस्पताल प्रशासनले आफैं अक्सिजन खोज्न आग्रह गरेपछि सबैलाई हारगुहार गरेको बिरामीका श्रीमान्ले बताए । ‘अस्पतालले आधा सिलिन्डर दिएको छ । एक रातलाई पुग्छ होला, भोलिलाई छैन,’ उनले भने, ‘सबैतिर गुहारिसकें, कतै पाइएन ।’ अक्सिजन नपाएकै कारण संक्रमितको मृत्युदर पनि बढेको छ । सोमवार १३९ जनाको मृत्यु भएकामा मंगलवार ज्यान गुमाउनेको संख्या २२५ पुगेको छ । यसअनुसार हरेक ६ मिनेटमा १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अक्सिजन व्यवस्थापनको जिम्मेवारी सीसीएमसीले लिएको बताए । सीसीएमसीले अस्पताललाई अक्सिजन सिलिन्डरको कोटा तोकिदिएको छ । तर कोटाअनुसार पनि अक्सिजन पाउन गाह्रो भएको नेपाल मेडिकल कलेजका निर्देशक डा. श्रेष्ठले बताए । सीता अक्सिजन ग्यास उत्पादन कम्पनीका अध्यक्ष प्रह्लाद तिमल्सिनाले आवश्यकभन्दा न्यून उत्पादन भएकाले अक्सिजन अभाव भएको बताए । उनले चौबीसै घण्टा उत्पादन गर्दा पनि माग पूरा गर्न नसकिने बताए । सीसीएमसीले अस्पतालअनुसार तोकेको कोटा लागू हुन बाँकी रहेको उनले बताए । सीसीएमसीका सचिव खगराज बरालले अस्पताल अक्सिजन प्लान्ट जडान नगरी सिलिन्डरको भर पर्दा हाहाकारको अवस्था आएको बताए ।

‘अहिले मागअनुसार उत्पादन आधा मात्रै छ । चौबीसै घण्टा मेसिन चल्दैन । अहिले भएको उद्योगले अक्सिजनको माग थेग्न सक्ने अवस्था देखिएको छैन ।’ उनले दिनमा १५ हजार सिलिन्डर माग भए पनि उत्पादन ७ हजार २०० मात्रै पाइएको जानकारी दिए । ‘उद्योगले पहिला उत्पादन गर्न सकिन्छ, सिलिन्डर छैन भन्यो । अहिले सिलिन्डरमा जोहो गरियो । अब केही सहज हुन सक्छ,’ उनले भने । चीन सरकारले पहिलो चरणमा ४ सय थान सिलिन्डर उपलब्ध गराएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सीसीएमसीका सचिव खगराज बरालले काठमाडौंका मात्रै उद्योगले अक्सिजन दिन नसकेपछि संक्रमण न्यून भएका ठाउँबाट भरेर ल्याउन थालिएको बताए । ‘खाली सिलिन्डर काठमाडौंबाहिर रिफिल गरेर ल्याउन थालेका छौं । मंगलवार पनि २०० सिलिन्डर पोखरा पठायौं,’ उनले भने । अहिलेको समस्या समाधान गर्न थोरै अक्सिजन चाहिनेलाई अक्सिजन कन्सन्ट्रेटरबाट दिने तथा लिक्विड र एयरबेस अक्सिजन प्लान्ट जडान गर्ने विकल्प रहेको बरालले बताए । काठमाडौंस्थित ट्रमा सेन्टर, टेकु अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा लिक्विड अक्सिजन प्लान्ट छ । त्रिवि शिक्षण अस्पताल र भेरी अस्पतालमा पनि यस्तै प्लान्ट जडान गर्न लागिएको स्वास्थ्य सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

‘चीनबाट तत्काल यसका उपकरण ल्याउने विषयमा छलफल भइरहेको छ,’ सीसीएमसीका सचिव बरालले भने । अक्सिजन आपूर्ति सहज बनाउन कोटा प्रणाली ल्याइए पनि कार्यान्वयनमा ल्याउन नसकिएको उनले बताए । ‘पहुँचवाला र हुनेखानेले सिलिन्डर नै किनेर लैजान थालेपछि न्यायोचित वितरण गर्न कोटा सिस्टम तोकिएको हो । यो पनि कार्यान्वयन गर्न गाह्रो भइरहेको छ,’ उनले भने ।

स्वास्थ्यमन्त्री त्रिपाठीले अक्सिजनको उत्पादन क्षमता र मागमा अन्तराल आएकाले व्यवस्थापन गर्न नसकेको बताए । ‘बिग्रिएको अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएको छ । उत्पादन बढाउने प्रयास जारी छ,’ उनले भने, ‘तर अस्पतालमा आवश्यकताअनुसार आपूर्ति गर्न सकिएको छैन ।’ उनले अक्सिजन प्लान्ट नभएसम्म समस्या उस्तै हुने बताए ।

स्वास्थ्य सचिव अर्यालले कोरोनाको दोस्रो लहरमा ३० हजारलाई अक्सिजन दिनुपर्ने प्रक्षेपण भए पनि पूर्वाधार तयार गर्नुअघि नै संक्रमण ह्वात्तै आएकाले समस्या बढेको बताए । ‘जेठ अन्तिम र असार पहिलो साता यस्तो अवस्थामा पुग्न सक्ने हाम्रो अनुमान थियो,’ उनले भने, ‘उत्पादन कम भएकाले अक्सिजन व्यवस्थापन हुनै सकेको छैन ।’ मुलुकमा पर्याप्त अक्सिजन व्यवस्थापन गर्न ५ लाख ६६ हजार सिलिन्डर आवश्यक पर्ने उनले बताए ।

अक्सिजन प्लान्ट जडान गर्न चाहनेलाई भन्सारदेखि अन्य शुल्क पनि नलाग्ने निर्णय सरकारले गरिसकेको उनले बताए । चीन सरकारले उपलब्ध गराएको केही सिलिन्डर आइसकेको जानकारी दिँदै केही सिलिन्डर आउने क्रममा रहेकाले त्यसपछि केही हदसम्म सहज हुने उनले बताए । युनिसेफ र विश्व बैंकसँग पनि सिलिन्डर माग गरेको उनको भनाइ छ । ‘२०० भन्दा बढी बेड भएका सरकारी र निजी अस्पतालले अक्सिजन प्लान्ट राख्न चाहे भने सरकारले सहयोग गर्छ,’ उनले भने ।

कोरोना संक्रमण र मृत्युदर बढेकाले अहिले सरकारले चालेको कदम पर्याप्त नभएको स्वास्थ्य मन्त्रालयको ठहर छ । ‘नयाँ कदम उठाउनुपर्नेछ । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने, लकडाउन लम्ब्याउने के हो, गर्छ,’ मन्त्री त्रिपाठीले भने । उक्त समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : ५३ बजे

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच