११ कार्तिक २०८३, बुधबार | October 28, 2026

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा



भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन समस्या हुन थालेको छ । खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा पाकेको धान समयमै भित्र्याउन नसक्ने अवस्था आएको किसानले बताएका छन् ।

वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान बाली भित्र्याउने समयमा कामदार खोज्नुपर्ने बाध्यता किसानलाई छ । वैदेशिक रोजगारी र अन्य अवसरको खोजीमा गाउँ छाड्ने युवाको सङ्ख्या बढ्दै गएपछि कृषि क्षेत्रमा जनशक्ति अभाव देखिन थालेको हो ।

धान काट्ने, बिटा बाँध्ने, खेतबाट खलोमा पुर्‍याउने, झाँट्ने, बत्ताउने र घरसम्म भित्र्याउने काममा शारीरिक श्रम बढी आवश्यक पर्ने भएकाले युवा जनशक्ति अभावले किसानलाई थप समस्या भएको छ ।

टेम्केमैयुङ गाउँपालिका-६ का किसान बलबहादुर राईले वैदेशिक रोजगारी र सहर केन्द्रित बसाइँसराइका कारण गाउँमा युवा जनशक्ति घट्दै गएको बताए। पहिले गाउँघरमै पर्याप्त कामदार पाइने गरे पनि अहिले धान थन्क्याउने समयमा मानिस खोज्न कठिन हुने गरेको उनको भनाइ छ ।

‘गाउँमा खेती गर्ने युवा घट्दै गएका छन् । धान पाकेपछि काट्ने, बिटा बाँध्ने, बोकेर खलोमा पुर्‍याउने र झाँटेर घरसम्म भित्र्याउने काममा बलियो जनशक्ति चाहिन्छ । तर, अहिले गाउँमा युवा नहुँदा यी काम गर्न कठिन भएको छ,’ राईले भने ।

हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान जयबहादुर थापाले खेतीपातीको काम महिला र ज्येष्ठ नागरिककै भरमा गर्नुपर्ने अवस्था रहेको बताए । युवा जनशक्ति गाउँमा नहुँदा परिवारका सदस्य मिलेर खेतीको काम पूरा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

शारीरिक श्रम बढी लाग्ने भएकाले महिला तथा ज्येष्ठ नागरिकलाई धान काट्ने र थन्क्याउने काममा कठिनाइ हुने गरेको किसान बताउँछन् । कामदार नपाउँदा परिवारकै सदस्यले बढी मेहनत गर्नुपर्ने र बाली भित्र्याउनसमेत लामो समय लाग्ने गरेको छ ।

परम्परागत रूपमा गाउँघरमा एकअर्काको खेतीमा सघाउने मेलापातको चलन रहे पनि पछिल्लो समय युवा जनशक्ति घट्दै जाँदा यो परम्परा पनि प्रभावित हुन थालेको छ । पहिले छिमेकी र आफन्त मिलेर पालैपालो धान काट्ने तथा थन्क्याउने गरिन्थ्यो । अहिले काम गर्ने मानिसको अभावमा किसानले आफ्नै परिवारको भरमा खेतीको काम गर्नुपर्ने अवस्था बढेको छ ।

कृषि क्षेत्रमा देखिएको जनशक्ति अभाव समाधान गर्न स्थानीय सरकारले युवालाई गाउँमै बसेर कृषि पेसा अपनाउने वातावरण बनाउनुपर्ने किसानको माग छ । साथै, आधुनिक कृषि प्रणाली, कृषि उपकरणको प्रयोग र कृषिमा युवाको आकर्षण बढाउने कार्यक्रम सञ्चालन गर्न सके खेतीपातीको काम सहज हुने उनीहरूको अपेक्षा छ ।

ग्रामीण क्षेत्रमा बढ्दो युवा पलायनले कृषि उत्पादनदेखि परम्परागत खेती प्रणालीसम्म प्रभाव पार्न थालेपछि किसानले कृषि क्षेत्रमा जनशक्ति व्यवस्थापन र आधुनिकीकरणमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ७ : ५० बजे

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२