मिस्टर प्रभा

लघुकथा
गणेशबहादुर जीसी
१ जेष्ठ २०७८, शनिबार

नव धनाढ्य श्रीमान कुलभूषणको छोरो मिस्टर प्रभातभूषण र मध्यम वर्गीय सुब्बा देवीलालको छोरो दिलिपको घर करीब एक मिटर दूरीमा थियो । ताते ताते गर्ने खुट्टा र पाते पाते गर्ने बोली खुल्दादेखि उनीहरुको मित्रताको गाँठो कसिलो थियो । फूल र वासना जस्तै अभिन्न हुनेगरी गाँसिएको थियो ।

छिमेकी ती दुबै बालकहरुको दिमागीमा अलिकति चैतन्य तन्तु घुस्नासाथ किड स्कूल हालिदिएका थिए,उनका अभिभावकहरुले । स्कूलको कक्षामा पनि अँगालो मार्दै, हाँस्दै, रमाउदै संगै बस्न चाहने उनीहरु घरमा पनि अबिभावकहरुलाई हँसाउथे । बालकृडाको क्रममा कहिलेकाँही मुक्कामुक्की गरेर बाललीला देखाउँदा प्रभातकी आमा तुषिएर बाँउठिन्थी र आफनो छोरालाई पाक्कपुक्क गरेर लगे पनि एकैछिनमा रुदै दिलिप खोज्दै आइहाल्थ्यो । अनि दिलिपलाई तानेर आफनो घर लैजान्थ्यो ।

कथाकार

उनीहरुको बाल मित्रताको लालित्य फुलेको देखेर प्रभातभूषणकी आमा बैजन्तीको अभिमानी कटाक्ष दृष्टिले दिलिपलाई टोक्न खोज्थी , सम्पन्नताको दम्भ उचाल्दै । अनि भन्थी–“छी,..एइ तँ जा । सँधै किन आउछस ह्याँ ? । अनि बालक दिलिप जान खोज्दा, ट्याप्प समातेर रोक्दै आफनो आमालाई हकाथ्र्यो–“मुवा, किन मेरो साथीलाई हप्काइसिएको हजुरले ? मसंग खेल्न आको मेरो साथीलाई हप्काउने हजुर कोहो ?” पछि छोराको आशयलाई उलङघन गरेर दिलिपलाई दुव्र्यवहार गर्न कम गरेकी थिई,बैजयन्तीले । दुई बच्चावीचको मित्रतामा कुनै ओस लागेन । खुशीको पखेटाले झन माथि माथि उडान भरिदै रह्यो,उनीहरुको बालप्रेम प्रगाढता ।

स्कूलको क्लास टाइम, घरको सुत्ने, खाने र वाध्यकारी होमवर्क टाइम, बाबुआमाको अँगालोमा बेरिने टाइम बाहेक उनीहरुको अधिकांंश समय मैत्रीपूर्ण बालक्रिडामै रमाएर वित्थ्यो । बग्दो पानी जस्तो समयको अविरल गतिसंंगै उनीहरुको शारीरिक,मानसिक,बौद्धिक गति पनि क्रमशः उकालो चढ्दै, बढ्दै पानी सिञ्चित अङगुरको लहरा जस्तै लहरिदै,झाङिगदै गयो । पढाईमा प्रभात भन्दा दिलिपको गति तीब्र हुदै थियो ।

शोषण, दमन, थोरै सेतो,धेरै कालो धन्दाबाट द्रुत्तर आर्थिक हैसियत बनाएको कुलभूषण पत्नी बैजन्तीबाट बेलाबेलामा, दम्भ र उपेक्षाको हुङकारको झटारो दिलिपकी आमा विमलामाथि बज्रिने गथ्र्यो,चिमोटीरहन्थ्यो – “आफनो बच्चा सम्हालेर राख्न सकिन्न ? किन सधैभरि अर्काकाँ हुल्ने ?” बैजयन्तीको अभिमानी हुंकारलाई कहिलेकाँहि कुलभूषणले मत्थर पार्थे–“हुन देउ न त बच्चाहरु खेलिरहेका छन्, रमाई रमाई । के भो त नि” भनेर ।

सुब्बा देवीलाल शर्माको आर्थिक हैसियत कछुवा गति जस्तो मन्द भएकोले अलिअलि ऋणको चिन्ताले चिमटे तापनि छोरा दिलिपको पढाइको गतिमा अवरोध हुन दिएका थिएनन् । त्यसैले तीक्ष्ण मनस्थितिको दिलिपको पढाइको गति तेजपत्ता जस्तै चिल्लो थियो ।

बालक्रिडामा प्रभात र दिलिप प्रायः लोग्ने स्वास्नी भएर खेल्ने गर्थे । प्रभात जहिले पनि स्वास्नी हुन चाहन्थ्यो भने दिलिप जहिले पनि लोग्ने । पछि यो क्रम रुपमा केही परिवर्तन भए पनि सारमा प्रभातको बोलिचालीको शैली, हाउ भाउ, कृयाकलापमा पनि अधिकांशतः नारीझल्को प्रतीत हुन थाल्यो ।

एवम प्रकारले समकालीन उनीहरुको हरेक कृयाकलापमा हार्दिकता थियो, अखण्डत । चाहे स्कूल पिरियड होस,चाहे घरायसी । हरेकमा सहकृया । उमेरको गतिसंगै परिवर्तन आउनु पर्ने पुरुष हर्मोनको संकेत दिलिममा प्रष्ट आइसकेको थियो, मोटो स्वर,जुङ्गाको रेखी । भने प्रभातकोमा त्यो कुनै परिवर्तन भएको थिएन । उसको झन नारीजनित हाउभाउ,कृयाहरु देखा प¥यो,सोह्र कटेर कलेज पढ्दा पनि यथास्थिति । मसिनो स्वर,लज्जालुपन, कटाक्ष मुस्कान, आदि । स्कूल कलेजमा सहपाठी साथीहरुले प्रभातलाई मिस प्रभात भन्न थाले ।

समयको कालखण्डमा दुबैको पढाइमा पनि अग्रगति हुदै रह्यो, यद्यपी प्रभातको कृयाकलापमा उही बैसालु नारीको हाउभाउ ।
समयले उचाल्दै गर्दा दिलिपको बिवाहको चर्चा पारिवारिक रुपमा चल्यो । सो सुनेर प्रभातको मनमा कांँडा झैँ बिझ्यो,च्वास्स । एकदिन,प्रभातले प्रस्ताव राख्यो–“म बरु लिङ्ग परिवर्तन गर्छु तँ अन्त विहा नगर, हामी नै विहा गरौंला” । उनीहरु वीच सल्लाह भयो, दिलिपले स्वीका¥यो उसको प्रस्तावलाई ।

प्रभातले आफनो परिवारमा दबाबमुलक प्रस्ताव राख्यो– “डेडी, म प्राकृत रुपमै नारी जस्तो भएँ, न त मेरो जुङ्गा छ,न त स्वरमा कुनै परिवर्तन । म पुुरुष बनेर पुरुषोत्व निभाउन सक्तिन । त्यसैले म लिङग परिवर्तन गर्छु । ” भनेर ।
पहिले बलियो विरोध गरे पनि प्रभातको हठ हल्लाउन नसकिने सबल भएपछि उसको आकांक्षालाई पूरा गर्न धनकुबेर बाबु आमा धन खन्याउन सहमत भए । अनि अप्रेशनको लागि युरोप जाने सुनिश्चित भयो । कुलभूषणले छोरा प्रभातलाई युरोप लगेर लिङग परिवर्तन गराई छोरी प्रभा बनाई ल्याएर उसको मनोकांक्षा पूरा गरिदिए ।

अप्रेशनकर्ता डाक्टरले उसको नाम मजाकमा “मिस जुलिया” राखे तापनि स्वदेशमा साथीहरुले उसलाई मिस्टर प्रभा भनेर सम्बोधन गर्न थाले । दिलिपका विहा चर्चा पनि ओझेल प¥यो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*