चुनाव

कथा
गणेशबहादुर जीसी
८ जेष्ठ २०७८, शनिबार
                 

प्रभातकालीन रविको उदयसंगै सुरेशको घरमा दुइचार जना मान्छेहरु, भुरेदेखि टाकुरेसम्मका नेताहरुको जमघट भैरहन्थ्यो । उदारवादी,देशप्रेमी उनीकाँ राजनीतिकर्मी मात्र नभएर अधिकांशतः दुःखी,पीडितहरु नै आउँथे,अपेक्षाको आँचल थाप्दै ।

समाजवादी पार्टीले बहुमत पाएर राज्य सञ्चालनको अवसर पाएको बेला राष्ट्रवादी कुशल,इमानदार प्रधानमन्त्री ज्ञानमणीको कार्यकालमा अर्थमन्त्री थिए,सुरेन्द्रबहादुर । राष्ट्रको आमूल परिवर्तन र दु्रत्तर विकास हुने योजनाहरु मन्त्री परिषदबाट पारित गरेर राष्ट्रीय योजना आयोगमा अभिलिखित थियो ।

कथाकार

जस अनुसार निःशुल्क तथा आधुनिक व्यवसायिक शिक्षा प्रणाली । सबै प्रदेशमा साहित्यिक प्रज्ञा प्रतिष्ठानहरु र प्राविधिक शिक्षा तालिम प्रतिष्ठानहरु स्थापना । निःशुल्क स्वास्थ्य सेवा, आयुर्वेदिक,एलोपेथि तथा होमियोपेथिक । स्वास्थ्य शिक्षा तर्फ अद्र्ध देखि उच्च दक्ष शिक्षालयहरु स्थापना । कृषि तथा सिंचाई,वन तथा जडिबुटी । कृषि तथा वन सम्बन्धी अद्र्धदेखि उच्च प्राविधिक शिक्षालय स्थापना । यातायात,जलविद्युत,भूमि व्यवस्थापन,श्रम,रोजगारी,ग्रामिण विकास,समानतामुलक सामाजिक विकास,पिछडा तथा जेष्ठ नागरिक र बेरोजगारी भत्ता, आदि । राजनीति र प्रशासन सेवा देखि हरेक क्षेत्रमा जाति,लिङ्ग,वर्ग,वर्ण आदि हरेक बिषयमा भेदभाव रहित समानताको समाजवाद उन्मुख राज्य व्यवस्थाका पञ्च बर्षीय कार्यक्रमहरु मन्त्री परिषदबाट पारित भएर राष्ट्रिय योजना आयोगमा समेत अभिलित भै क्रमशः दु्रत्तर कार्यान्वयन हुन गैरहेका थिए ।

साधा जीवन उच्च विचारका धनी, जनसेवामा हरहमेसा तत्पर रहने उनी जनताहरुका प्रिय थिए । यसरी आमूल परिवर्तनको लागि समर्पित उनी र उनको दल थियो । दुर्भाग्यवस एकदिन,“सतिले सरापेको देश”भने जस्तै भयो,देशको राजनीतिमा ।

अघिल्लो चुनावमा परीक्षणको लागि जनताले अरु भन्दा ठूलो बनाइदिएकाले योजना अनुसार कामको गति दु्रत्तर रुपमा भैरहेको समयमा सो पार्टीको प्रभावकारी कार्यशैलीदेखि इष्र्याग्रसित,आग्रही भै ज्ञानहीन,योजनाहीन,विवेकहीन, विकास विरोधी,राज्यको उन्नति विरोधी, प्रमुख प्रतिपक्षदल,नेपाली जनता पार्टीलाई असैह्य भएकोले अन्य साना पार्टीहरुसंग समिकरण गरी केवल दश महिनामै प्रगतिशील समाजवादी पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ज्ञानमणी अस्वस्थ भै अस्पताल भर्ना भैरहेको अवस्थामै समाजवादी पार्टीको सरकार ढाल्ने काम भयो । जसका कारण आफूले प्रारम्भ गरेका देशको मुहार फेर्ने सपना अधुरो रहन गएकोमा हृदयघात भएर उनको देहान्त भयो । यसपाली सो पदमा सुरेन्द्रबहादुर नै उम्मेदवार बनेका थिए,पार्टीको निर्णयबाट ।

समाजबादी पार्टीबाट सत्ताको साँचो खोसेको, जनताको नाम तेर्साएर राजनीति गर्ने अकर्मण्य “नेपाली जनता पार्टी” र सत्ताको चोक्टा लुछ्न पाएका भुरे पार्टी समेतले हर्षको उन्माद मनाएका थिए । यस अवस्थाबाट समाजबादी पार्टी मात्र नभई बहुसंख्यक देशभक्त,देश प्रेमी जनताहरु सबै ओइलाएको फूल जस्तै भए,नैराश्यताको भुमरीभित्र ।

अन्ततः त्यो दिशाहीन,चिन्तनहीन, सत्तालोलुप नेपाली जनता पार्टीले आर्थिक श्रोत भएको महत्वपूर्णपद पाउने मन्त्रालय जति आफैलाई पारेपछि तीन महिनामै सहकर्मी कोलिशन पार्टीहरुले खुट्टा झिकेकाले अल्पमतमा परेको त्यो पार्टीले, अवधि मध्ये नपुगे पनि डेढबर्षमै मध्यावधि चुनाव घोषणा गरेको हुँदा नेपालको हस्तिनापुर मैदानमा पुनः चुनावी युद्ध शुरु हुने भयो ।

काठमाण्डौं जिल्लाको हस्तिनापुर क्षेत्रको चुनावी रण मैदानमा समाजवादी पार्टीका कर्मठ नेता सुरेन्द्रबहादुरसंग कुस्ती खेल्न पहलमान बनेर निस्क्यो, सोभिराम । जो दुई बर्ष अघि मात्र भ्रष्टाचार काण्डमा जागिरबाट बर्खासी भएपछि नेपाली जनता पार्टीमा प्रवेश गरेको थियो । ऊ मालपोत कार्यालयको पियनबाट ना सु हुँदासम्म टेबुल मुनी र माथिबाट पैसा टिप्ने र हाकिमलाई कानेखुसी गरेर ठाउँ ठाउँमा रहेका ऐलानीका सरकारी जग्गाहरुको कारोबारी गर्ने, रातो लालपुर्जालाई कालो र कालो लालपुर्जालाई रातो बनाएर कैयन निमुखाहरुको बिल्लीबाँठ, रुवाबासी पारेर अथाह धनराशी आर्जन गरेको उसलाई महालेखापरीक्षकले कोट्याएपछि बर्खासीमा परेको थियो । जागिर नामको दम्भको दारा फुक्लिए तापनि छेउ पुच्छर दबाएर कुनाकानीमा दबाइराखेको लाखौं सम्पत्तिको धोक्रे धाक भजाएर नेपाली जनता पार्टीमा घुस्रिएको ऊ छिट्टै उपाध्यक्ष पद हात पार्न सफल भएको थियो ।

संविधान,कानूनतःभ्रष्टाचारी,हत्या,बलात्कार जस्तो फौजदारी अभियोग लागेका व्यक्ति सरकारी पद, अझ सांसद जस्तो गरिमामय पदमा उम्मेदवार हुन नपाउने प्रावधान भए तापनि, सत्ता प्राप्तीको एक मात्र उद्देश्य भएको नेपाली जनता पार्टीमा यस्ता दूराचारीहरुको भीड नै थियो । सामन्ती सत्ता ढाल्दा क्रान्तिको सहयोद्धा समाजवादी पार्टी पनि थियो । तथापी त्यसमा आफूले अग्रणी भूमिका खेलेको भनेर आफूलाई ठूलो पार्टी भन्ने उक्त पार्टीले प्रजातन्त्र प्राप्ती पश्चात पहिलो पटक संसदमा बढी संख्या जित्नमा सफल भएको उन्माद चढेकोले न्यायपालिकाको उपहास गर्दै आफनै राजनीति र आर्थिक स्वार्थ अनुसार स्वेच्छाचारी ढङ्गले राजनीतिक तथा कुटनीतिक नियुक्ति र मनोनयन गर्ने गरेको थियो ।

समाजवादी पार्टीलाई ढालेर भुरे पार्टीको जगमा सत्तामा पुगेको,तर जग भत्किएपछि चुनाव घोषणा गरेको नेपाली जनता पार्टीको प्रधानमन्त्री गिरिधरले समाजबादी पार्टीका जनप्रिय नेता,भावी प्रधानमन्त्रीका योग्य उम्मेदवार सुरेन्द्रबहादुरलाई परास्त गर्न सक्ने,आर्थिक शक्तिको बलियो भनिएको उही सोभितरामलाई भावी प्रधानमन्त्रीको योग्य सांसदको उम्मेदवारको रुपमा टिकट दिएको थियो ।

त्यही धनबल र वाकबलका कारण अरु पुराना कार्यकर्ताहरुलाई टपेर छिट्टै नेपाली जनता पार्टीको उपाध्यक्ष पदमा आसिन हुन पुगेपछि उसले आफूसंगै पार्टीलाई सफल र सबल बनाउने भनेर गुण्डाहरुलाई पार्टीको केन्द्रीय कमिटीमा पु¥याउन सफल पनि भएको थियो ।
त्यस्तै उसको सहयोगी साथी थियो, रवीन्द्र । निरीह सर्वसाधारणसंग पुलिश वर्दीको आवरणमा खस्रो र चिल्लो वाक पटुताको प्रभावमा बटुलेको कालो धनको पहाड बनाएको कर्तुत सार्वजनिक भएपछि स.ई .जागिरबाट दश बर्ष जेलयात्रा गरे पनि छेउपुच्छर दबाएर राखेको उसको पनि आधा करोड जति कालो धन सुरक्षित थियोे ।

सोभितको अर्को सहकर्मी थियो,भोलाप्रसाद । नामको भोला कामको चोलाप्रसाद ऊ गाउँबाट रिमरिमे विहानीमा पात बेच्न बजारतिर हिडेकी विचरी केटीहरुलाई समूहनै लिएर गै बाटैमा बलात्कारपछि हत्या गरेर बोर्डर पारी छिरेको थियो । साथमा लगेका अरु साथीहरु पक्राउ परेर सजाय भुक्तान गरिसकेपछि सीमापारीबाट फुत्त निस्केर आफनो चाटुकारी कलाबाट पुलिशलाई भुलिस बनाएर राजनीतिक दलमा घुसेर पार्टीको कर्मठ योग्य सदस्यमा दर्ज गराएको थियो,सोभितले ।

यी तीनजना मात्र हैन नेपाली जनता पार्टीमा यस्ता पतीत काण्ड नायक,खल पात्रहरुको भीड नै थियो, निकृष्ट सोभितरामका हस्तीहरु । जसको घृणित तस्वीरहरु जनताका आँखामा घुमिरहेका थिए । गतः चुनावमा अरु भन्दा बढी सिट ल्याएको समाजबादी पार्टीको कार्यशैली र इमान्दारिताबाट बुज्रुक जनताहरुमा अमीट छाप परिसकेको थियो ।

त्यसैले नेपाली जनता पार्टीको लागि सबैभन्दा ठूलो आँखाको कसिङ्गर, सुरेन्द्र थिए । किनकी उनी पूर्व प्रधानमन्त्री ज्ञानमणीका सल्लाकार र कुशल योजनाकार पनि थिए,०आकर्षणको केन्द्र । समाजवादी पार्टीले लागु गरेको लोकप्रिय कार्यक्रमको प्रमुख योजनाकार पनि उनै थिए । त्यसैले बुजु्रक बहुसंख्यक जनताका प्रिय नेता पनि भएकोले पनि राजनीतिमा उनलाई पल्टाउन नेपाली जनता पार्टीको लागि कोशे ढुङ्गा थियो ।
०००
हस्तिनापुर नगर चुनावी रौनकताले जतासुकै रङ्गिएको थियो ,ध्वजा पताका,वालपेन्ट र झण्डाहरुले । खेल मैदानको दर्शक दीर्घामा र टीभी स्क्रिन अगाडि बसेका आ–आफनो पक्षका दर्शकहरु जस्तै देशका भावी प्रधानमन्त्रीको दाबेदार सुरेन्द्र र सोभितराम सांसद पदको उम्मेदवार थिए, आजको रणभूमिका पहलमानहरु ।
क्रमशः

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*