१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

घरमै एकान्तबास बस्नेलाई थप सतर्कता आवश्यक



काठमाडौं । कोरोना (कोभिड-१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।

रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका स्वास्थ्य समस्या हुँदा तत्काल जाँच नगराई घरमै बस्दा उपचारमा ढिलाइ हुन सक्ने र त्यस्तो अवस्थामा जोखिम बढ्ने उनीहरूको अनुभव छ ।

लक्षणविहीन अवस्था, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्ति मात्र होम आइसोलेसनमा बस्न सुझाव दिँदै गम्भीर खालका लक्षण भएका सङ्क्रमित पनि होम आइसोलेसनमा बस्ने गरेका कारण जटिल समस्या सिर्जना भई अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले जानकारी दिए ।

उनले भने, “सङ्क्रमितहरू होम आइसोलेसनमा बस्नुपर्ने बाध्यता हो तर लक्षण देखिएपछि समयमै चिकित्सकसँग परामर्श लिने तथा जाँच गराउनुपर्छ । सङ्क्रमित गम्भीर अवस्थामा पुगेपछि उपचार गर्न हामीलाई पनि गाह्रो हुन्छ ।” गम्भीर खालका लक्षण भएका सङ्क्रमित होम आइसोलेसनमा बस्दा समस्या जटिल हुने र समयमै उपचार नपाउँदा बिरामीको ज्यान जोखिममा पर्न सक्ने डा. पुनले स्पष्ट पारे ।

होम आइसोलेसनमा बसेका कति सङ्क्रमितको मृत्यु भयो भन्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छुट्टै तथ्याङ्क भने छैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले भने, “लक्षण सहितका कोरोना सङ्क्रमितमा निमोनियाको लक्षण देखिन पाँचदेखि १० दिन लाग्छ । त्यो बेलासम्म ज्वरो हटिसकेको हुन्छ । कुनै व्यक्तिमा खोकी अलिअलि मात्र लागेको हुन्छ भने कोही व्यक्तिमा खोकी बढेर जान्छ । त्यसैले खोकीलाई निको पार्छु भन्दै कोही व्यक्ति औषधि खाएर घरमै बसिरहेका हुन्छन् ।

अहिले सङ्क्रमितहरू गाह्रो हुँदाहुँदै पनि घरमै आइसोलेसनमा बसिरहने र सङ्क्रमणले च्यापेपछि मात्र अस्पताल ल्याउने गरेको पाइन्छ,” उनले बताए । डा. बाँस्तोलाका अनुसार एक पटक छातिको एक्स–रे गर्ने तथा सम्बन्धित चिकित्सकसँग परामर्श लिएको खण्डमा धेरैको ज्यान जोगिन सक्छ । “आफू नै चिकित्सक, वैद्य भएर जे मन लाग्यो त्यही औषधि सेवन गरेमा समस्या झन् जटिल हुन्छ” उनले स्पष्ट पारे ।

यस पटक टेकु अस्पतालमा आएकामध्ये आधा जसो सङ्क्रमित निमोनियासहित ५० वर्ष मुनिका व्यक्तिहरू रहेको डा. बाँस्तोलाले बताए । थकान भएका, टाउको दुखेका र हल्का ज्वरो आएका व्यक्तिमा पनि निमोनिया देखिन थालेको चिकित्सकहरूले बताएका छन् ।

महामारीको पहिलो लहरमा बेवास्ता गरिएको युवा वर्ग नै दोस्रो लहरमा धेरै सङ्क्रमित भएको पाइएको छ । बालबालिका पनि प्रभावित हुन थालेका छन् । अझ तेस्रो लहरमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले दोस्रो लहरको महामारीमा धेरैलाई निमोनिया भइरहेको जानकारी दिए । पछिल्ला केही दिनमा अस्पताल भर्ना भएका सङ्क्रमितमा यसअघिका भन्दा फरक लक्षण धेरै देखिएको अनुभव उनको छ ।

बिरामीले आफैँ हैन, चिकित्सकको सल्लाहमा औषधि खानुपर्ने सुझाव डा. शाक्यको छ । जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढीलाई खोप नलगाएसम्म स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सुझाव उनको छ । प्रशस्त मात्रामा सुत्ने, यथेष्ट मात्रामा पानी पिउने, छ दिनभन्दा बढी ज्वरो आए घरमा नबसी तत्काल चिकित्सककहाँ जान पनि उनको सुझाव छ ।

डा.शाक्यले भने, “होम आइसोलेसनमा बसेका बिरामीहरू अस्पताल आउँदा अधिकांशमा निमोनिया देखिएको छ ।

‘घरमा बसेका सङ्क्रमितमा अक्सिजनको कमी हुँदा घरमै अक्सिजन सिलिन्डर लिएरसमेत जाने गरेका छन् ।” उनले थप स्पष्ट पार्नुभयो, “घरमै अक्सिजन दिँदा पनि रगतमा अक्सिजनको मात्रा देखिएन भने मात्र अस्पताल ल्याउने गरेको देखिन्छ । शरीरमा अक्सिजनको मात्रा कम भएको अवस्थामा मात्र अक्सिजन दिएर राम्रो हुने हो तर यसले निमोनियाको उपचार हुँदैन । निमोनियाको उपचार गर्न अस्पताल नै आउनुपर्छ ।”

यदि लक्षण भएका व्यक्तिहरू घरमै बसे भने समयमै उपचार पाउन नसक्ने र त्यस्ता व्यक्तिलाई गरिएको उपचार पनि प्रभावकारी नहुन सक्ने उनको भनाइ छ । डा. शाक्यले अस्पताल समयमै नपुगे ती व्यक्तिको होम आइसोलेसनमै मृत्युसमेत हुन सक्ने सम्भावना भएको बताए । गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ७ : १७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग