१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

नपत्याएको खोलाले तहसनहस मनाङ : वर्षाको रेकर्ड अहिलेसम्मकै उच्च



पोखरा । ‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ । हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन् । सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन । किनकी अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन ।

तर उखानले भनेझै यसपटक नपत्याउने खोलाले सिंगो बस्ती नै बगायो। संयोगवश बाढीले मानवीय क्षति नगरे पनि ठूलो आकारमा भौतिक नोक्सानी पुयाएको छ । बाढीले तटीय क्षेत्रका धेरै बासिन्दाको उठीबास लगाइदिएको छ । भौतिक क्षति कति भयो भन्ने अहिलेसम्म यकिन छैन । बाढीको कहर अझै कम भइसकेको छैन ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले भन्छन्, ‘हिमाली जिल्लामा यस्तो भीषण बाढी आउला भन्ने हामीलाई पत्यारै थिएन । तर नसोचेको अवस्था आयो। बाढीले सिंगो जिल्लालाई नै थिलथिलो पारेको छ ।’ उनका अनुसार मर्स्याङ्दी सहजै तर्न सकिने खोला हो । कतिपय ठाउँमा झोलुंगे त कतैकतै काठे पुलबाट वारपार गर्ने चलन थियो । तर अहिले भने बाढीले सबैतिर ध्वस्त बनाएको उनले बताए ।

‘हामीले आजसम्म यो अवस्था भोग्नुपरेको थिएन, अग्रजले पनि यस्तो संकट बेहोर्नुपरेको थिएन,’ घलेले भने, ‘योपटक भने नपत्याएको खोलाले बगाएको छ । चामेमा मात्र ५ सयजना मान्छे घरविहीन भइसकेका छन् । खोला किनारका बस्तीबारे सोच्ने बेला भएको छ ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा कम पानी पर्ने जिल्ला मनाङ हो । तर योपटक मनाङले भारी वर्षासँगै निम्तिएको संकट र क्षतिको सामना गर्नुपरेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी शाखाका अनुसार यो वर्ष (२०२१) को मनसुनी वर्षाले अघिल्ला वर्षसम्मका सबै रेकर्डलाई उछिनेको छ ।

शाखाको मनाङ हुम्देस्थित स्टेसनको रेकर्ड अनुसार जुन १६ (२०७८ असार २) मा मनाङमा अहिलेसम्मकै बढी वर्षा भयो । त्यस दिन हुम्देमा ८२.२ मिलिमिटर वर्षा भयो । अघिल्लो दिन असार १ गते हुम्देमा ५४.६ मिलिमिटर वर्षा भएको थियो । गत जेठ १५ मा ६०.६ मिलिमिटर वर्षा भएको थियो । तर यो वर्षको मनसुन सुरु भएपछिको दुई दिनमै मनसुनी प्रणाली देशभर फैलिँदा मनाङले अघिल्ला वर्षका सबै रेकर्ड तोड्दै नयाँ कायम गरेको विभागका पोखरास्थित प्रमुख राजाराम ढकालले बताए ।

‘यो वर्षको मनसुनी वर्षाले मनाङमा अघिल्ला सबै रेकर्डलाई उछिनेको छ । त्यसै भएर बढी क्षति भएको हो,’ ढकालले भने । ढकालका अनुसार यस वर्ष नेपालमा मनसुन भित्रिएको भोलिपल्ट जेठ २९ देखि असार २ सम्मको अवधिमा हुम्देमा मात्र १७५.८ मिलिमिटर वर्षा भएको थियो । असार १ मा ५४.६ मिलिमिटर र २ गते ८२.२ मिलिमिटर वर्षा भएको छ ।

‘यसअघि कहिल्यै यति धेरै वर्षा भएको थिएन । यसपटक मनसुनी प्रभाव हिमाली भेगबाट देखियो,’ ढकालले भने । उनका अनुसार हिमाली भेगमा २४ घण्टामा ५० मिलिमिटिर भन्दा बढी वर्षा हुनुलाई अधिक मानिन्छ ।

अन्यत्रका लागि २४ घण्टामा ५० मिमिमिटर वर्षा हुनु सामान्य भए पनि हिमाली जिल्लामा भीषण मानिने उनले बताए । ‘वर्षभरिमा हुम्देमा २ सय ५० मिलिमिटर वर्षा हुनुपर्नेमा यसपटक पाँच दिनमै १ सय ७५ मिलिमिटर कटिसक्यो, यो हिमाली भेगका लागि चुनौतीको संकेत हो,’ ढकालले भने, ‘हिमाली जिल्लामा यति सारो क्षति होला भन्ने आँकलन नै थिएन ।’

प्रि-मनसुनका बेला (गत जेठ १५ मा) पनि त्यो बेलासम्मको सबैभन्दा बढी ६०.६ मिलिमिटर वर्षा हुँदा मनाङमा बाढीपहिरो निम्तिएको थियो । त्यसबेला पनि बाढीपहिरोले सडक, पुल, पुलेसासहित बस्तीमा असर गरेको थियो । जेठ १५ को असर कम हुन नपाउँदै पुनः मनसुनी वर्षाले तहसनहस पारेको उनले बताए । ‘साँघुरो खोंच हुँदै मनाङमा खोलानाला बगेका छन् । सिरान क्षेत्रमा हिउँ थुप्रिएको र पानी पर्दा हिउँ पग्लिने र त्यसले खोलामा बहाव बढाउँदा आसपासका बस्तीमा क्षति पुगेको हो,’ उनले भने, ‘साँघुरो खोंचमा भेलबाढी पस्दा आसपासका क्षेत्रमा असर पारेको छ ।’

हिमाली भेगमा कम पानी पर्ने हुँदा बाढीको त्रासबिना ढुक्कले बसेका स्थानीय योपटक पहिलोचोटि बाढीको चपेटामा परेको उनले बताए । ‘कम पानी पर्ने भएकाले तटीय क्षेत्रका बासिन्दा बाढीको आँकलन गर्ने अवस्थामा थिएनन् । तर अहिले बाढीले झुक्यायो,’ ढकालले भने, ‘अब हिमाली क्षेत्रमा पनि खतराको जोखिम बढेको छ ।’ पृथ्वीको तापक्रम बर्सेनि ०.०६ डिग्री सेन्टिग्रेड वृद्धि भइरहँदा हिमशृंखला पग्लने क्रम पनि बढेकाले थोरै पानी पर्नासाथ हिमाली भेकमा बाढीपहिरोको जोखिम निम्तिने उनले बताए । मनाङमा मनसुन अवधिमा २ सय ३४ मिलिमिटर वर्षालाई औसत मानिन्छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार अहिले मनाङवासीले प्राकृतिक प्रकोपको पहिलोपटक तितो अनुभव बटुलेका छन्। ‘मैले ९० वर्ष हाराहारीमा पुगेका वृद्धवृद्धासँग कुराकानी गर्दा यस्तो बाढीपहिरोको अनुभव अहिलेसम्म भएको रहेनछ । अहिले त बाढी प्रकोप बनेरै आयो,’ लामिछानेले भने, ‘यस्तो क्षतिको अनुमान स्थानीयवासीसँग त थिएन नै हामीले पनि अनुमान गरेका थिएनौं ।’ उनका अनुसार मनाङका अधिकांश खोलानाला कुला आकारका खोल्साखोल्सी छन्। धेरैठाउँमा पैदल र कतैकतै काठेपुलबाटै वारपार गर्न सकिने अवस्था भए पनि अहिले अवस्था बदलिएको उनले बताए ।

‘तटीय क्षेत्रमा सन्त्रास छाएको छ । तटीय क्षेत्रमा जोखिम निम्तिने संकेत देखिएको छ। यहाँका बासिन्दा पनि ढुक्क छैनन्,’ उनले भने, ‘यस्तो क्षति हुनुमा जलवायु परिवर्तनको असर हुन सक्छ । प्रकृतिमा परिवर्तन आएको अनुमान हाम्रो छ । कहिल्यै अनुमान नगरेको विपत् अहिले निम्तिएको छ । यो सबै अध्ययनको विषय हो ।’ उनका अनुसार सदरकमुकाम चामे, तल्लो भेक धारापानी र तालगाउँ योपटक बाढीबाट बढी प्रभावित भएका छन् । अहिलेसम्मको तथ्यांकमा ५५ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । मर्स्याङ्दी र आसपास नदीमा गरी आठवटा झोलुंगे र २ वटा पक्की पुल पनि बगेका छन् ।

हिमाली क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि अनुसन्धान गरिरहेका श्रीकमल द्विवेदी भन्छन्, ‘जलवायु परिवर्तनको असरको सबैभन्दा ठूलो मार अब हिमाली क्षेत्रका बासिन्दाले खेप्नुपर्ने संकेत देखिएको छ ।’ उनका अनुसार वर्षभरिमा २ सय मिलिमिटर हाराहारीमा पानी पर्ने ठाउँमा छोटो समयमा भीषण वर्षा हुँदा क्षति पुगेको हो । ‘छोटो समयमा भीषण वर्षा भएको छ । एकाएक ठूलो वर्षा हुँदा नोक्सान बढी भएको हो,’ उनले भने । माथिल्लो भेगसम्म पानी पर्न थाल्दा नयाँ खालको प्राकृतिक विपद्को संकेत मिलेको उनले बताए ।

‘यसले उच्च हिमाली भेकमा जोखिम बढिरहेको संकेत गरेको छ । आगामी दिनका लागि त अझै जोखिमपूर्ण छ,’ द्विवेदीले भने, ‘अब जतिसक्दो छिटो हिमाली भेगका खोलाको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्छ।’ कम पानी पर्ने र यसअघि खोलानालामा बाढी नआएकाले पनि खोलाकिनारका बासिन्दा ढुक्क भएर बसेका थिए । तर अब त्यसरी ढुक्क हुने अवस्था नरहेको उनले बताए । ‘मनाङमा समथर मैदान नभएकाले पनि स्थानीय खोलाकिनारमा बसेका थिए । तर अब तटीय क्षेत्र झनै जोखिमपूर्ण छ । अब योजनाबद्ध रूपमा उनीहरूरूलाई सुरक्षित ठाउँमा सार्नुको विकल्प छैन,’ उनले भने । आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : ११ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम