१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

एमाले फर्कियो जेठ २ मा



काठमाडौं । एमाले २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यसकै सन्देश दिन सोमबार सुरु केन्द्रीय कमिटी बैठकलाई १० औँ बैठक भनिएको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नौवटा बैठक माओवादी केन्द्रसँगको एकताअघि २०७५ जेठ ३ सम्ममा बसेका थिए। तर, नेकपा एकता बदर भई गत फागुन २३ गते साविक पार्टीहरू ब्युँतिएपछि बसेका एमालेका चार बैठकलाई विशेष बैठकमा परिणत गरिएको छ ।

प्रवक्ता प्रदीपकुमार ज्ञवालीले असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमै यो बैठकलाई १० औं भनिएको बताए । प्रवक्ता ज्ञवालीका अनुसार २०७५ जेठ २ गतेपछिको निरन्तर सिलसिलाका रूपमा अहिलेको बैठकलाई लिइएको छ । ‘नवौं बैठक २०७५ जेठ २ र ३ गते बसेको थियो । यो बैठकलाई दसौं बैठक नामकरण गरेका छौं’, प्रवक्ता ज्ञवालीले भने, ‘१० बुँदे सहमति कार्यान्वयन सुरु भइसकेको छ । १० बुँदे प्रस्तावलाई यो बैठकले अनुमोदन गरेको छ । कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।’ बैठकले कार्यदलमा भएको १० बुँदे एकताको प्रस्तावलाई ग्रहण गर्दै अनुमोदन गरेको हो ।

स्थायी कमिटीको शनिबार बसेको बैठकले पनि १० बुँदे प्रस्ताव अनुमोदन गरेको थियो । जेठ २ पछिको बैठक भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य भने उपस्थित थिएनन् ।

केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टीको विवाद समाधान गर्न बनेको कार्यदलको १० बुँदे प्रस्तावको भावनालाई दृष्टिगत गरी यो बैठकलाई १० औँ बैठक भनिएको स्पष्ट पारे । ‘पार्टी मिल्नु (एमाले र माओवादीको एकीकरण)अघि नवौं बैठक भएको थियो। त्यसपछिको बैठक हो’, नेता तामाङले भने, ‘१० बुँदे प्रस्तावको भावनाअनुसार यसलाई दसौं बैठक भनिएको हो ।’

उनले गत फागुन २३ पछि भएका केन्द्रीय कमिटीका भनिएका बैठकलाई विशेष बैठकमा परिणत गरिएको जानकारी दिए । ‘यसबीच भएका बैठक विशेष बैठकमा परिणत भए’, उनले भने । उनले फागुन २८ देखिका बैठक विशेष बैठकमा परिणत गरी ती बैठकका निर्णयलाई मान्यता प्रदान गरिएको जानकारी दिए ।

एमालेको संस्थापन पक्षले फागुन २८ मा केन्द्रीय कमिटी भंग गर्दै दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । तर, दोस्रो तहका नेताको दबाब र सर्वोच्च अदालतको आदेशपछि असार १६ मा महाधिवेशन आयोजक कमिटी भंग गरेको थियो । निस्क्रिय रहेको कार्यदल अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच असार २० गते भेट भएपछि बिउँतिएको थियो । तब लगातारको प्रयासपछि असार २७ गते कार्यदलमा १० बुँदे सहमति भएको थियो । तर, त्यो सहमतिप्रति वरिष्ठ नेता नेपालले असहमति राख्दै आएका छन् ।

केन्द्रीय कार्यालयका सचिवसमेत रहेका तामाङले १० बुँदे प्रस्ताव कार्यान्वयनमा जाने बताए। उनका अनुसार कार्यान्वयनमा जाँदा २०७५ जेठ २ मा विद्यमान पार्टीको संरचना पुनस्स्थापित हुनेछ । २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने र २०७७ फागुन २३ गतेपछिका दुवैतर्फका राजनीतिक र संगठनात्मक कामकारबाही स्वतः बदर भएको १० बुँदे सहमतिमा उल्लेख छ ।

अब जनवर्गीय संगठन तथा मातहतका कमिटी पनि पुरानै संरचना फर्किनेछन् । ‘अब पार्टीको संरचना जेठ २ को हुनेछ’, उनले भने, ‘जो आउँछ उसले त्यही जिम्मेवारी पाउँछ । जो आउँदैन र एमालेमा बस्दिनँ भन्छ भने उसका लागि बाटो खुला छ ।’ आजको अन्नपूर्णपोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ०९ बजे

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा