२१ माघ २०८२, बुधबार | February 4, 2026

हरेक हात्तीको पछाडि गस्ती टोली !



काठमाडौं । कोसी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीले उदयपुर, सुनसरी र सप्तरीका गाउँबस्तीमा पसेर क्षति पुर्याउन थालेपछि हरेक हात्तीको पछाडि आरक्षका कर्मचारी खट्न थालेका छन् ।

यो क्रम विगत छ महिनादेखि निरन्तर चलिरहे पनि बर्खामा अझ बढेको छ । बर्खामा कोसी नदीमा पानीको बहाव बढेसँगै आरक्षभित्रका वन्यजन्तु सुरक्षित स्थानतिर पस्न थालेपछि हरेक हात्तीको पछाडि कर्मचारीले गस्ती गर्नैपर्ने अवस्था सिर्जना भएको छ ।

यसअघि आरक्षभित्र सातवटा रैथाने हात्ती बस्दै आएका थिए भने थप आठवटा जङ्गली हात्ती भारतबाट प्रवेश गरेपछि आरक्ष क्षेत्र वरपर हात्ती आतङ्क फैलिएको छ । गाउँबस्तीमा पसेर मानवीय क्षति मात्र होइन, बालीनाली नोक्सानी गर्ने, घर भत्काउने, अन्नपात खान थालेपछि बस्तीमा रातदिन आतङ्क फैलिएको छ ।

आरक्षका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले भने, “हरेक हात्तीको पछाडि मानिस खटाउनुपर्ने अवस्था आएको छ । जसका लागि चौबिसै घण्टा दुईवटा गाडी, दुईवटा ट्याक्टरमा १२ जना आरक्षका कर्मचारी र १२ जना नेपाली सेनाको टोली खटाउने गरिएको छ । यति गर्दा पनि दैनिकजसो कम्तीमा १० वटा घर भत्काउने गरेकोले कोसी टप्पुका लागि हात्ती आतङ्क जटिल समस्याका रूपमा देखिएको छ ।”

प्रायःजसो राति बस्तीमा हात्ती पस्दा स्थानीयवासीले आगो बाल्ने, होहल्ला गर्ने, ट्याक्टर, गाडी चलाएर भगाउने प्रवृत्तिले हात्ती झन् रिसाएर अन्धाधुन्ध रूपमा गाउँ पस्ने, घर भत्काउने गरेकोले क्षति बढी हुने गरेको उनको अनुभव छ ।

यहाँ रहेको मकुना हात्तीले वरपरका बस्तीमा गत वर्ष छ जनाको ज्यान लिएको थियो भने सोही हात्ती भारत अररिया जिल्लासम्म पुगेर चार जनाको ज्यान लिएको थियो । हाल सो मकुना हात्ती कोसी टप्पुको पूर्वी भेगमा बेला-बेला बस्ती पसेर आतङ्क फैलाउँदै आएको छ ।

हात्तीले नोक्सानी गर्न थालेपछि सप्तरीमा स्थानीय बासिन्दाले करेन्ट छाडेको पासोमा परेर दुईवटा हात्ती मरिसकेका छन् । आरक्षले दैनिकजसो हात्तीका लागि राखेको पासो निकाल्दै हात्तीको ज्यान बचाउने काम गरिरहेको छ ।

आरक्ष प्रमुख रामले भने, “एकातिर जङ्गली हात्तीको घरपालुवा जनावर जस्तै हेरालो लाग्नुपरेको छ । अर्कोतिर हात्तीलाई बचाउन स्थानीय बासिन्दाले राखेका पासो खोजेर हटाउने काम गर्नुपरेको छ ।

संरक्षणको काम राम्रो भएकाले वन्यजन्तुको सङ्ख्या वृद्धि भइरहेका बेला आरक्षको क्षेत्र विस्तार गर्नुपर्ने आवाज उठिरहेको छ । उनले भने, “आरक्षको क्षेत्र विस्तार गर्न आवश्यक भइरहेका बेला हाल आरक्षभित्रबाट पुनः पुल, पुलेसा, सडक, भवन बनाउने होडबाजी चलिरहेको छ । यही तरिकाले संरक्षित क्षेत्रभित्र विकास निर्माणका गतिविधि सञ्चालन हुँदै जाने हुन् भने भविष्यमा मावन वन्यजन्तुको द्वन्द्व थप बढ्ने छ ।”

आरक्षको क्षेत्र सानो भएकाले यसको क्षेत्र विस्तार गर्न तत्कालीन वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यका पालामा एक अध्ययन समिति गठन गरिएको थियो । सो समितिले आरक्षको क्षेत्र विस्तार नगरे कोसी टप्पु क्षेत्रको पश्चिम कुशाहा, हरिपुर, मधुवन, प्रकाशपुर, श्रीपुर, कमलपुर, गोदराहा, भागलपुर, कञ्चनपुर तथा भारदह क्षेत्रका बस्तीमा वन्यजन्तुबाट क्षति बढ्न सक्ने प्रतिवेदन दिएको थियो । सो प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित हुन सकेको छैन ।

नेपालको पहिलो रामसार सूचीमा सूचीकृत कोसी टप्पु आरक्षको १७५ वर्ग किलोमिटर क्षेत्र थप गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हाल आरक्षको क्षेत्रफल १७५ वर्गकिलोमिटर छ । विश्वमै दुर्लभ मानिएको जङ्गली भैँसी अर्नाको सुरक्षित बासस्थान मानिएको कोसी टप्पुमा पाँच सय प्रजातिभन्दा बढी चराचुरुङ्गी छन् । हिउँदमा साइबेरिया क्षेत्रबाट सयौँ प्रजातिका पाहुना चरा कोसी टप्पु क्षेत्रमा विचरण गर्न आउने गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्याय र जयकृष्ण यादवले लेखेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : १८ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता