१५ असार २०८३, सोमबार | June 30, 2026

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु



टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु भएको छ । थारू साहित्य तथा सांस्कृतिक उत्सवको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तले उद्घाटन गरे ।

सो अवसरमा पन्तले मानिसको जीवनसँग जोडिएको साहित्य, कला र संस्कृति संरक्षण गर्नु विश्वविद्यालयको समेत दायित्व हुने बताए । “देशभरका साहित्य सर्जक जम्मा गरी साहित्य र कलासम्बन्धी तालिम दिएर विद्यार्थीलाई साहित्य लेखन र नाटक सिकाउनुभएकामा आयोजक साहित्य समाजलाई धन्यवाद”, उनले भने, “साहित्य र कला विकास विश्वविद्यालयको पनि दायित्व हो । हाम्रा विद्यार्थीलाई पनि साहित्यमा रुचि जगाउने काम यो महोत्सवले गरेको छ ।”

सङ्गीतकार रेशमलाल चौधरीले थारू समुदायको भित्रसम्म पुगेर लेख्ने र पात्र छनोट गर्ने प्रवृत्ति महेशविक्रम शाहमा भएकाले शाहको उचाइ निकै माथि पुगेको बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले सुदूरपश्चिम कला र साहित्यको भूमि भएको बताए । “सङ्घीयतापछि कला र साहित्य विकासका लागि प्रज्ञा प्रतिष्ठान लागिरहेको छ, गत वर्षदेखि हामी साहित्य समाजसँग सहकार्य गरेर साहित्य र कला संरक्षणका प्रयासमा लागेका छौँ”, उनले भने, “कला र संस्कृतिको धनी सुदूरका संस्कृतिको चर्चा र संरक्षण आवश्यक छ ।”

नेपाली चलचित्र क्षेत्रका रङ्गकर्मी नीर शाहले जीवनदेखि बाहिर पनि अर्को जीवन छ, त्यो साहित्य र सङ्गीत भएकाले जीवन महत्त्वपूर्ण बनाउन साहित्य र सङ्गीत चाहिने बताए ।

साहित्यकार तथा राजनीतिक विश्लेषक केशव दाहालले समाजमा अक्षर, गीत, किताब नभए कस्तो होला, सुदूरमा देउडा नभए कति खल्लो होला भनी प्रश्न गर्दै यी सबै चिज भएर समाज समृद्ध भएको, मानवीय भावना जीवित भएको बताए ।

नाट्यकर्मी अशिष मल्लले क्रिएटिभ मानिसहरू दुई प्रकारका हुने बताउँदै, कोही लेखेर बस्ने, कोही केही नयाँ गर्न खोज्ने खालका हुने देखेको बताए । उनले टीकापुर साहित्य महोत्सवको चर्चा देशभरि भइरहेको, आफूले पनि नाटक प्रशिक्षण गर्दा यहाँको संस्कृति सिक्न पाएको बताए ।

साहित्यकार निलम कार्की नेहारिकाले नेपालको भूगोल नेपालीलाई राम्रोसँग नचिनाइएको बताउँदै शिक्षासँग इतिहास, इतिहाससँग संस्कृति जोडरे लिनुपर्नेमा जोड दिइन् । उनले स्वर्गीय महेन्द्र राजासँग जोडिएको इतिहास टीकापुर पार्कमा जोगाएर राखेकामा टीकापुरवासीलाई धन्यवाद दिइन् ।

टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीले साहित्य महोत्सवले धर्म, संस्कृति र कलालाई संरक्षणमा योगदान दिने उद्देश्यले कार्यक्रम भएकाले आयोजक साहित्य समाजलाई धन्यवाद दिए । साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रम तीन दिनसम्म चल्नेछ ।

साहित्य महोत्सवअघि प्रदेशस्तरीय कविता प्रतियोगिता भएको थियो । प्रतियोगितामा कविहरूका कविता माग गरिएको थियो । कविता प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा कवि चेतन शर्मा प्रथम भए । उनले १५ हजार नगद र प्रमाणपत्र प्राप्त गरे । कविता प्रतियोगितामा उद्गम मिसन द्वितीय भए । उनले नगद रु १० हजार र प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी तृतीय स्थान हासिल गरेकी स्वीकृति शर्माले नगद रु पाँच हजार र प्रमाणपत्र प्राप्त गरिन् भने सान्त्वना स्थान हासिल गरेका रचना डिसी र कमल ढुङ्गानाले प्रमाणपत्र पाए ।

कार्यक्रममा थारू समुदायका सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियोे । विसं २०७९ मा स्थापना भएको टीकापुर साहित्य समाजले ‘साहित्यमार्फत सामाजिक सदभाव’ भन्ने उद्घोषका साथ बर्सेनि महोत्सव गर्दै आएको छ । यस वर्ष थारू साहित्य तथा संस्कृति विशेषका रूपमा मनाइँदैछ । महोत्सवको पूर्वसन्ध्यामा नाटक लेखन प्रदर्शन र लेखन कार्यशाला भएको थियो । महोत्सव टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सयुक्त आयोजनामा भइरहेको छ । महोत्सवमा थारू साहित्य तथा संस्कृतिमाथि बौदिक विमर्श, विभिन्न विषयमा बहस हुनेछन् । कार्यक्रममा देशैभरिका सयौँ साहित्यकार, लेखक तथा सङ्गीतकार सहभागी भएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ८ : ३० बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै