२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

अब व्यावसायिक र आवासीय घरजग्गाको भिन्दाभिन्दै कर



काठमाडौं । घरजग्गा कारोबारमा वास्तविक कारोबार रकम लुकाउने र अवास्तविक कारोबार अंक देखाएर न्यून कर लाग्ने गरी कर छली गर्ने प्रवृत्ति कायमै रहेको बेला यसलाई नियन्त्रण गर्न नेपाल राजस्व परामर्श समितिले सरकारलाई भिन्दाभिन्दै कर असुल्न सुझाव दिएको छ ।

नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा झन्डै साढे ९ प्रतिशत योगदान रहेको घरजग्गा व्यवसाय अझै संस्थागत नभएर अनौपचारिक तरिकाले सञ्चालन भइरहेको भन्दै राजस्व परामर्श समितिले सरकारलाई यस्तो सुझाव दिएको हो ।

घरजग्गाको कारोबारमा वास्तविक कारोबार रकम लुकाउने प्रवृत्ति नियन्त्रण गर्न समितिले सरकारलाई नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुधारका लागि विभिन्न सुझावसहितको प्रतिवेदन बुझाएको छ । समितिले तयार पारेको ‘घरजग्गा कारोबारमा संलग्न एजेन्सीलाई करको दायरामा समेट्नेसम्बन्धी अध्ययन, विश्लेषण प्रतिवेदन २०७७’ ले घरजग्गा क्षेत्रलाई कसरी औपचारिक बनाउन सकिन्छ भनेर सरकारलाई यस्तो सुझाव दिएको हो ।

यसैगरी, समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा कानुनी सुधारतर्फ घरकर्जा सीमालाई वृद्धि गरी ३ करोड रुपैयाँ पुर्याउनुपर्ने उल्लेख छ । व्यक्तिगत घर बनाउनुभन्दा संस्थागत रूपमा जग्गा प्लानिङ गर्न स्वीकृत प्राप्त रियलस्टेट कम्पनीबाट निर्मित संयुक्त आवास तथा सामूहिक आवासलाई प्राथमिकता दिइनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, व्यापारिक र बसोबास प्रयोजनको भवन छुट्याई सोहीअनुसार भाडादर कायम गर्ने र बसोबास गर्ने प्रयोजनका लागि सरकारलाई बुझाउनुपर्ने करको दायरा ५ प्रतिशतभन्दा कम निर्धारण गर्न पनि समितिले सरकारलाई सुझाएको छ ।

घरजग्गा रजिस्ट्रेसन शुल्क घटाउनुपर्ने र नेपालमा विदेशी नागरिकले समेत घरजग्गा खरिद गर्न पाउनुपर्ने व्यवस्था गर्न समितिले सुझाव दिएको छ । त्यस्तै, घरजग्गाको मूल्य निर्धारण गर्ने आधिकारिक दायित्व सरकारको कुनै प्राविधिक विभागलाई तोकी हाल कार्यरत मूल्यांकनकर्तालाई सोही विभाग मातहतमा ल्याई नेपाल स्टक एक्सचेन्जको जस्तो अवधारणामा ‘मल्टिलिस्टिङ सिस्टम’को प्रयोग गर्न सकिने पनि समितिद्वारा तयार पारिएको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

समितिले घरजग्गा व्यवसायको कानुनी सुधारतर्फ पनि सरकारलाई सुझाव दिएको छ । घरजग्गा तथा अपार्टमेन्ट बनाउन हाउजिङ कम्पनीलाई उद्योगसरहको सुविधा दिनुपर्ने तथा एजेन्ट र एजेन्सी भएर काम गर्न निश्चित धरौटी राखी इजाजतपत्र लिनुपर्ने व्यवस्था लागू गर्न सकिने पनि सो समितिको सरकारलाई सुझाव दिएको छ ।

एजेन्ट र एजेन्सी भएर काम गर्न तथा घरजग्गा र भाडामा ब्रोकिङ गर्न अनिवार्य तालिम लिनुपर्ने, त्यससम्बन्धी तोकिएको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेजस्ता निश्चित योग्यता, मापदण्ड तथा सर्त पूरा गर्नुपर्ने र उनीहरूले निर्धारित सेवा शुल्क वा कमिसन मात्र लिन पाउने व्यवस्था गर्नुपर्ने सो प्रतिवेदनमा उल्लेख छ ।

संरचनागत सुधारतर्फ घरजग्गाको कारोबार गर्ने उद्देश्यले ऋण प्रवाह गर्ने अलग्गै रियल स्टेट फाइनान्सिङ अथवा मोर्टगेज कम्पनी स्थापना गर्ने र घरजग्गा कारोबार गर्ने फर्म तथा एजेन्सीहरू व्यवसायका रूपमा स्थानीय पालिकामा दर्ता गर्नुपर्ने सुझाव पनि समितिले दिएको छ ।

केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको जीडीपीमा घरजग्गा कारोबारको हिस्सा ९ दशमलव ४३ प्रतिशत बराबर रहेको छ । सो तथ्यांकको आधारमा मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको घरजग्गा व्यवसायको मूल्य भने एकदमै अस्थिर हुने गरेको छ ।

काठमाडौं उपत्यकामा मात्र जग्गा कारोबारको औसत वार्षिक वृद्धिदर ४० देखि ५० प्रतिशतसम्म रहेको समितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ । घरजग्गा बजार व्यवस्थित र नियमित रहेका विकसित देशहरूमा मूल्य निर्धारण सरकार वा नियमन गर्ने निकायले वैज्ञानिक तरिकाले निर्धारण गर्छन् । अब नेपालमा पनि सोहीअनुरूप अहिलेको नियममा क्रमशः परिमार्जन हुनुपर्ने राजस्व परामर्श समितिको सुझाव छ । समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : ५२ बजे

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक