७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नेपालको आर्थिक वृद्घिदरमा सुधार आउने संकेत, सन् २०२२ मा ४ दशमलव १ प्रतिशत हुने एडीबीको प्रक्षेपण



काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले कोरोना महामारीको चपेटामा परेको मुलुकको अर्थतन्त्रसँगै आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ ।

नेपालमा जारी कोभिड-१९ विरुद्धको खोप अभियानले अर्थतन्त्रमा सुधार ल्याउने संकेत देखिएको र सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण एडीबीले गरेको हो ।

एएडीबीद्वारा बुधवार प्रकाशित ‘एशियन डेभलपमेण्ट आउटलुक २०२१’ मा वर्ष २०२१ मा २ दशमलव ३ प्रतिशतमा सीमित हुने आर्थिक वृद्धिदर अर्को वर्ष बढ्ने अनुमान गरिएको छ । तर, उक्त अनुमान यसअघि गरिएको प्रक्षेपणभन्दा न्यून हो । एडीबीले गत अप्रिलमा यो वर्ष ३ दशमलव १ प्रतिशत र २०२२ मा ५ दशमलव १ प्रतिशत आर्थिक वृद्धि प्राप्त हुने प्रक्षेपण गरेको थियो । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखेको छ ।

‘हाल चलिरहेको खोप अभियानले ठूलो मात्रामा सहयोग पुर्‍याउनेछ किनकि राष्ट्रिय खोप योजना नेपालको आर्थिक सुधारका लागि महत्त्वपूर्ण रहेको छ,’ एडीबीका नेपाल निर्देशक अरनौड काउचोइसले भने, ‘कोभिडको जोखिम न्यून हुँदै जानु र रोकथामका कडा उपायहरूका कारण २०२१ मा क्रमिक आर्थिक सुधार बढाउन सक्छ ।’

प्रतिवेदनअनुसार यस वर्ष प्रशस्त वर्षात् भएसँगै धान रोपाइँ बढेकाले नेपालको कृषिक्षेत्रमा वृद्धि हुने सम्भावना छ । उद्योग उत्पादन बढ्ने अपेक्षा गरिएको छ, निर्यातको मात्रामा ठूलो वृद्धि र संक्रमण दर घटाउन राष्ट्रिय खोप अभियानको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ ।

स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन सरकारको वित्तीय नीति केन्द्रित रहेको, मौद्रिक नीतिमा पुनर्कर्जा सुविधा, प्राथमिकता परियोजनाहरू र प्रभावित व्यवसायहरूका लागि सहुलियत प्रदान गरिएकाले अर्थतन्त्रमा सुधार हुने एडीबीको प्रतिवेदनमा उल्लेख छ ।

थोक तथा खुद्रा व्यापार, ढुवानी र वित्तीय सेवाहरूका साथसाथै देशव्यापी आर्थिक गतिविधिहरू बढेकाले आर्थिक वृद्धिमा सहयोग पुग्ने औंल्याइएको छ । ‘ट्रेकिङ रूट र आरोहण खुलेसँगै विदेशी पर्यटक आवागमन बढ्न सक्छ, जुन २०२० मा ८० प्रतिशतले घट्न पुगेको थियो । यद्यपि, होटल, रेस्टुराँ, यात्रा र पर्यटन कोभिड-१९ महामाारीको पूर्वअवस्थामा फर्कन केही समय लाग्नेछ,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा २०२२ मा मूल्य वृद्धि ५ दशमलव २ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरिएको छ, जुन २०२१ मा ३ दशमलव ६ प्रतिशत अनुमान गरिएको थियो । विश्वव्यापी तेलको उच्च मूल्य वृद्धि र आन्तरिक मागमा क्रमिक सुधारका कारण मूल्य वृद्धि बढ्न सक्ने अनुमान छ । आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ७ : ०९ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी