२ पुस २०८२, बुधबार | December 17, 2025

आजदेखि तिहार शुरु



काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ ।

मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।

बुधबार बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७:१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उनले भने ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको उनले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४२ शुरु हुन्छ ।

भाइटीका कात्तिक २० गते ११:०२ बजे उत्तम साइत

कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११:०२ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाए । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २० गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न शुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पड्कन भने छोडेको छैन ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : ३५ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन