२१ चैत्र २०८२, शनिबार | April 4, 2026

नेपाली साहित्यका महाकवि देवकोटाको आज ११३ औँ जन्मजयन्ती



काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका थिए ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए ।

विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशु कवित्वको क्षमता थियो । देवकोटाको कवि-प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो ।

महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैले अङ्ग्रेजीमा अनुवाद गरेका थिए। उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका थिए । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ६ : ३८ बजे

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति