२१ चैत्र २०८२, शनिबार | April 4, 2026

मनरुपा नेपालीकाे पीडा : २६ वर्षको अन्तरमा एकै ठाउँ पहिरोले पुर्‍यो दुई छोरा



पाँचथर । जोखिमपूर्ण स्थानमा बस्नुपर्ने बाध्यताले मानिसलाई कतिसम्म पीडा दिन्छ भन्ने बुझ्न पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ अठभैयाकी मनरुपा नेपालीलाई हेरे पुग्छ । अहिले नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ ।

खेती लगाउन खेतबारी पहिरो गएर भीर बनेको छ । घर वरिपरी पहिरो गएको छ । बसाईं सरेर जाने ठाउँ पनि छैन् । ठूलो पानी परे पहिरोले घर नै तान्ला भन्ने पीर त छँदै छ, आफ्नै ठाउँमा पहिरोका कारण दुई जना छोरा गुमाउनु पर्दा मनरुपाको मन थामिएको छैन ।

६२ वर्षकी मनरुपाले पहिरोकै कारण दुई जना छोरा र चार जना आफन्त गुमाउनु परेको छ । तर, अझै पनि पहिरोका कारण कति बेला के हुने हो भन्ने पीरमै उनका दिन बितिरहेका छन् ।

‘मेरो त भाग्य नै यस्तै होला,’ गहभरी आँशु पार्दै मनरुपाले भनिन्, ‘पहिरोले पहिले साइलो छोरा लग्यो, अहिले काँइलो ।’

२६ वर्षको अन्तरालमा दुई जना छोराको पहिरोमा परी मृत्यु भएपछि मनरुपा विक्षिप्त छिन् । जोखिमपूर्ण बस्ती मिक्लाजुङ गाउँपालिका–१ अठभैयाका एकाघरका दाजुभाइको २६ वर्षको अन्तरालमा पहिरोले पुरेर मृत्यु भएको हो ।

मनरुपाका अनुसार २०५२ सालमा गएको पहिरोमा उनका साइलो छोरासहित उनकी बहिनी, बहिनीका दुई जना छोरा र मनरुपाका मामाको ज्यान गएको थियो । पहिरोको जोखिम हुँदाहुँदै पनि अन्यत्रै बसोबास गर्नसक्ने अवस्था नभएपछि अठभैयाका सात दलित परिवार सोही स्थानमा बसोबास गर्दै आएका थिए ।

यस वर्ष बेमौसमी वर्षाले पुस्तौँदेखि खेती गर्दै आएका बारी तथा भीरपाखा भत्किए । मनरुपाका काइला छोरा सन्तोष नेपाली २६ वर्षअघि पहिरो गएको स्थानभन्दा केही तल घर बनाई बसेका थिए । गत कात्तिक २ गते अत्यधिक वर्षा भएका कारण गाई गोठमा पानी पसेपछि सन्तोष भल कटाउँदै थिए । क्षणभरमै आफैँले खेती गर्ने गरेको बारी भत्किएर सन्तोषलाई पुर्‍याे । उनकी श्रीमती र छोराछोरीले उद्धारका लागि चिच्याए । नजिक भएकाहरु घटनास्थल पुगिसक्दा सन्तोषको मृत्यु भइसकेको थियो । आँखैअघि दुई छोरा गुमाएर पनि जोखिममै बस्नुपर्दा मनरुपाको मन मानेको छैन ।

‘हामी यस्तैमा बसेका छौँ । माथिबाट पहिरोले थिच्दैछ, तलबाट तान्दैछ,‘ सन्तोषका तीन वर्षे छोरालाई काखमा च्यापेर आँगनमा आइपुगेको पहिरो देखाउँदै मनरुपाले भनिन् ।

सात दलित सहित अठभैयाका नौ परिवार वर्षौँदेखि जोखिमपूर्ण रुपमा बसोबास गरिरहेका छन् । दुई खोल्सीका वीचमा रहेको पाखामा घर बनाएर बसेकाहरु दुवैतर्फ पहिरो झर्दै गएपछि अत्तालिएका छन् । यहाँकी सविना नेपालीले भनिन्, ‘अलिअलि पहिरो वर्षैपिच्छे गइरहेको थियो । यसपाली ठूलो पानी परेपछि यहाँ बस्नै नसकिने अवस्था आयो ।’

तर पीडितहरुले जोखिममा गुजारा चलाउँदै आएका भएपनि अहिलेसम्म यहाँ सरकारी उपस्थिति हुन सकेको छैन । पहिरोका कारण सबै घर जोखिममा छन् भने मृतक सन्तोष नेपालीको घर बस्नै नसकिने अवस्थामा छ । सन्तोषकी श्रीमती र दुई छोराछोरी मूल घरमा आश्रय लिएर बसेका छन् । ‘पहिले मेरो छोरो सहित आफन्त वित्दा सरकारले सात हजार राहत, भाँडाकुँडा, ओढ्ने ओच्छ्याउने दिएको थियो,’ मनरुपाले भनिन्, ‘यसपालि हामीलाई हेर्न कोही पनि आउनुभएन ।’

हुन त मनरुपाको जस्तै दुःख पाँचथरको मिक्लाजुङ गाउँपालिकाका धेरै स्थानीयवासीहरुको छ । बाढी र पहिरोमा परी हालसम्म मिक्लाजुङमा मात्रै २२ जनाको ज्यान जानुका साथै तीन जना वेपत्ता छन् । यहाँ सडक, विद्युत, खानेपानी, सिंचाई, घर तथा गोठहरु, सार्वजनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्था, खेतवारी तथा कृषिमा बाढी र पहिरोले निकै ठूलो क्षति पुर्‍याएको छ । बाढी र पहिरोले सिङ्गो गाउँपालिका नै क्षतिविक्षत र अस्तब्यस्त हुँदा क्षतिको पूर्ण विवरण समेत तयार पार्न नसकिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए ।

बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पीडित बनाएका सर्वसाधारणलाई राहत र पुनःस्थापनामा सरकारी निकायबाट हालसम्म कुनै पनि काम हुन नसकेको मिक्लाजुङ-७ लेखगाउँका सञ्जय राईले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ९ : १० बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ