बटौलीको ‘घ्यू’ काे कथा : पुर्ख्यौली घ्यूको विरासत धान्दै अनिल (भिडीयो सहित)

स्वस्तिक/शरण
२५ मंसिर २०७८, शनिबार
                 

बुटवल । कुनै बेला बुटवल, बुटवल नभएर बटौली थियो । अर्थको भण्डार, अञ्चल संरचनामा लुम्बिनीसँगै गण्डकी, धौलागिरी, राप्तीका अधिकांस जिल्लाको व्यापारिक केन्द्र हुन्थ्यो बटौली । अहिलेको बुटवलमा फगत बगर र बगरमा बयरघारी हुने गर्दथ्यो । अहिलेको पुल्चोक नजिकै केहि भुपडीहरु थिए जहाँ साना साना भट्टी पसलहरु थिए, जस्लाई खस्यौली भनिन्थ्यो ।

बटौली, जहाँ आजको ८–१० दशक अगाडिसम्म आधा नेपाललाई पुग्ने गरी खाद्यान्न, लत्ताकपडाको कारोबार हुन्थ्यो । माथिल्लो मुस्ताङदेखि जडिबुटी र कन्दमुल लिएर बटौलीमा व्यापार गर्न ढाक्रेहरु आउने गर्दथे । पश्चिमको रुकुम, रोल्पा, प्युठान, दाङ, उत्तरको बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र पूर्वको स्याङ्जा र कास्कीका केही स्थानका नागरिकहरु व्यापार गर्न बटौली नै आउने गर्दथे । कर्णालीका जुम्ला, हुम्ला र मुगु कालिकोटबाट समेत जडिबुटी लिएर बटौलीमा बेचबिखन गर्न आउने गर्दथे । गाँउबाट खरिद बिक्री गर्न आएका उपभोक्ताहरुलाई ढाक्रे भनिन्थ्यो । उनीहरुले लिएर आएका जडिबुटी, घ्यु, काम्लो, भेंडाको उन जस्ता सामाग्रीहरु बटौलीमा खरिद हुन्थ्यो भने उनीहरुले नुन, तेल, मट्टीतेल, लत्ता कपडा, साबुन, सुर्ति जस्ता आधारभुत आवश्यकताका सामान बटौलीबाट किनेर लैजान्थे । कपडाको थैलामा मोहर पोको पारेर भरियालाई बोकाउँदै कपडा र किराना सामान किन्न आउनेहरुको पनि बटौलीमा जमघट हुने गर्दथ्यो ।

प्रजातन्त्रको सपना बोक्दै बटौलीका केही युवाले खोलेको महावीर पुस्तकालय नजिकै एटा घर थियो । काठमाडौंको भेंडासिंङ नजिकैका एकजना व्यापारीले व्यापार गर्न बनाएको घर । ३ महिना बटौली बसेर मनग्य पैसा कमाएर काठमाडौं नै फर्कने गरेका ती व्यापारीको पेशा थियो पहाडबाट किसानले ल्याएको घ्यु खरिद गर्ने, त्यसलाई खार्ने र खारिएको टिनका टिन घ्यु एजेन्टहरुको माध्यमबाट भारतमा निकास गर्ने । भारतको गोरखपुर, रायबरेलीदेखि लखनऊ, बनारससम्म बटौलीको घ्युको निकै चर्चा हुने गर्दथ्यो । बटौलीमा घ्यूको कारोबार थाल्ने ती व्यापारीको नाम थियो –हिराबहादुर श्रेष्ठ । काठमाडौंको नागलबाट घ्यूको कारोबार गर्न बटौली झरेका हिराबहादुरको सन्तान पछि बटौलीवासी नै बने । ५ पुस्ता अघिदेखि पुर्खाले गरेको दुधजन्य कारोबार ५ पुस्तापछि अहिले पनाती पुस्ताले धानिरहेका छन् ।

त्यसो त श्रेष्ठ परिवारको ५ पुस्ता पहिलेको मानबहादुर श्रेष्ठले नै काठमाडौंको नगालमा घ्यूको व्यापार गर्दथे । घ्यूको राम्रो कारोबार हुने सुनेर मानबहादुरका छोरा पृथ्वी प्रसादले घ्यूको कारोबार गर्न बटौली झरे । पृथ्वीले सुरु गरेको बटौलीको घ्यू पसललाई उनको छोरा हिराबहादुरले निरन्तरता दिए ।

हिराबहादुरले घ्यू खार्न सुरु गरेपनि त्यसको ब्राण्डिङ भने उनकै छोरा अयोध्या प्रसादको नामबाट भयो । बटौलीमा मानिसहरु त्यो पसललाई अयोध्या प्रसादको घ्यू पसलकै नामले चिन्ने गर्दथे । घर अगाडि ठुलो कराही थियो, पहाडबाट ठेकामा, टिनमा ल्याइएका घ्यू कराहीमा खनाईन्थ्यो र खारेर भारतबाट आएको टिनमा भरिन्थ्यो । टिनमा जमाईएको घ्यू एजेन्टहरुमार्फत भारतका व्यापारीहरुले किनेर लैजान्थे ।

बटौली शहरमा कुनै बेला घ्युको व्यापार राम्रो थियो । अयोध्यप्रसादको घ्यु पसल निक्कै चलेको मानिन्थ्यो । महावीर पुस्तकालय नजिकै थियो त्यो घ्यू पसल । सिजनमा मुश्किलले ३ महिना चल्ने त्यो पसलको बारेमा भारतका धेरै शहरमा समेत चर्चा थियो । पहाड क्षेत्रबाट काँचो घ्यु लिएर पशुकिसान बटौली झर्थे । सिधै अयोध्याप्रसादको पसलमा त्यो घ्यु बेच्ने गर्दथे । काचो घ्युलाई कराहीमा खारिन्थ्यो । शुद्धिकरण (प्युरिफाई) गरेर टिनमा राखेर ठुलो परिमाणमा घ्यु बनाएर भारत बेच्थे । बुवा हिराबहादुरले सुरु गरेको घ्यूको कारोबार लामो समय अयोध्या प्रसादले धाने ।

बिस २०२१ देखि भने श्रेष्ठको परिवार स्थाई रुपमा बुटवल बसोबास गर्न लागे । निक्कै नाम कमाएको घ्यूको व्यापार बिस्तारै आधुनिकरणसँगै ओरोलो लाग्यो । आधुनिकता र औद्योगिकरणको नाममा बटौलीको ब्राण्ड बनेको सयौं वर्षको घ्यू एकादेशको कथा बन्न पुग्यो । तत्कालिन पञ्चायती व्यवस्थाका दरबारसम्म पहुँच भएका व्यक्तिहरुले खोलेको कारखानाले सत्ताको आडमा सेण्डिकेट लगायो । सर्वसाधारणको घ्यू खरिद गरेर भारत निकासी गर्ने एजेण्टहरुलाई नियमन गर्नु भन्दा डण्डा लगाएर भगाईयो र पहाडबाट कच्चा घ्यू बेच्न आउने किसानहरुलाई पनि सिधै कारखानामा घ्यू दिन बाध्य पारियो । त्यसैको परिणाम बटौलीको घ्यू नामबाट देश विदेशमा प्रसिद्ध ब्राण्ड समाप्त भयो । ढाक्रेहरुसँग सम्पर्क गरेर बुटवलमा व्यापार गर्नेहरुलाई धक्का लाग्यो ।

इन्जिनियर बसन्त लोहनीका नाममा दर्ता रहेको बुटवल घ्यू उद्योग उनका बाबु बेद प्रसाद लोहनीले खोलेका थिए । सो उद्योगको सेण्डिकेटका कारण बटौलीका अन्य घ्यू व्यवसाय धरासायी भएपछि तत्कालिन व्यापार संघले विरोध जनाएकै परिणाम नेपालको जेठो उद्योग व्यापार संघ विभाजन भएको थियो । व्यापार संघलाई काउण्टर दिँदै रुपन्देही उद्योग संघ घ्यूको सेण्डिकेटबाटै जन्मेको संस्था हो । ‘ब्राण्ड बनेको बटौलीको घ्यू व्यवसाय धारासायी भएपछि हामीले विरोध गर्यौं । व्यापारसँघले व्यापारीको समस्या मात्र बोक्यो उद्योगको कुरा गरेन भनेर साथीहरुले उद्योग संघ खोल्नु भयो ।’ बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जीवन ओझाले भने ।

बिस २०२७ सालदेखि घ्युको व्यापारमा प्रभाव पर्यो । बुटवलमा घ्यु फ्याक्ट्री खुलेसँगै बिस्तारै लोकल घ्यु उत्पादन बन्द भयो । घ्यूकै कारोबार र भविष्य देखेर बटौली झरेका अयोध्याप्रसादको कारोबार विस्थापित भयो । श्रेष्ठका अर्को पुस्ता कृष्णप्रसाद घ्यूको कारोबार छाडेर चकलेट, प्रिन्टिङ प्रेस, रोल प्लाष्टिक तिर लागे । कृष्ण प्रसाद सहितका भाईहरु मिलेर सगुन फुड्स प्रालि, मन्जुश्री प्रिन्टिङ प्रेस लगायत संचालन गरे । भाइहरुका बीचमा कारोबार बाँडफँट गर्ने क्रममा कृष्ण प्रसादलाई चकलेट उद्योग प¥यो ।

रगतमा दुधजन्य कारोबार बगिरहेको हिराबहादुरको चौथो पुस्ता अनिल श्रेष्ठ भने अहिले आफ्नै बुढो बाजेको पेशामा फर्केका छन् । दशकका हिसावले झण्डै ५० वर्ष पछि पुर्खाले सुरु गरेको दुधजन्य कारोबारलाई परिमार्जन गर्दै गाई पालेर घ्यू, पनिर तथा दुधको कारोबारमा अनिल फर्केका छन् । बुढो बाजेले पशुपालकसँग घ्यू किनेर खार्ने गरेपनि अनिलले भने सिधै गाई पालेर घ्यू खार्ने गरेका छन् ।

अनिलले अहिले देवदह नगरपालिकाको वडा नं ११, सिक्टहनमा साढे १८ बिगाहा क्षेत्रफलमा शुभारम्भ एग्रो फार्म प्रालि संचालन गरेका छन् । फर्ममा सय बढी होलेष्ट्रोन गाई छन । हजार बढि लोकल कुखुरा, ४ वटा माछा पोखरी, हाँस पनि छन । एमबीए अध्ययन गरेका अनिलको ब्यापारको विज्ञतामा छुट्टै पहिचान छ आधुनिक बुटवलमा ।

०७५ साल असार ८ गते शुभारम्भ भएको फार्ममा देशका बिभिन्न कृषि कलेजका विद्यार्थीहरु अध्ययन गर्न समेत आउने गरेका छन् । अनिलाई उद्योग, वाणिज्य क्षेत्रमा अध्यापन गराउने कलेजहरुले पनि कहिलेकाहीँ क्लास लिईदिन आग्रह गर्छन् र उनी उद्यमी बन्न चाहने नयाँ पुस्तालाई पढाउन पनि पुग्छन् । राज्यको जीडीपीमा योगदान गर्ने प्रमुख पेशा कृषि नै देखिएकाले आफुले कृषिमा लगानी गरेको अनिलको भनाई छ । ‘अनुत्पादक व्यवसायले राज्यको अर्थतन्त्रमा कुनै योगदान गर्दैन, नेपालमा उद्योग र त्यसमा पनि कृषिले जीडीपीमा ठुलो योगदान पु¥याएको छ, त्यसैले मैले कृषि रोजें’, उनी भन्छन्, ‘कृषि र उद्योगमा जति लगानी हुन सक्यो, त्यती नै राज्यको अर्थतन्त्र बलियो हुन्छ ।’

विषयगत विज्ञताको अभावमा चल्न नसकेको एउटा पुरानो गाईफर्मबाट अनिलले कृषि पेशाको प्रारम्भ गरेका थिए । शुरुवातमा ३४ वटा गाई लिएर सुरु भएको फार्ममा अहिले १ सय बढी गाई छन् । उनले भारतबाट राम्रो नश्लका गाईहरु थपे । साथै भएका गाईमा पनि नश्ल थप हुँदै गयो । होलेष्टन र जर्सी जातका सहित फर्ममा अहिले १ सय बढी गाईहरु छन् । फर्ममा दैनिक साढे ३ सय लिटर दूध बजारमा जाने गरेको अनिलले बताए । प्रजनन प्रक्रियामा धेरै गाईहरु छन् जसले गर्दा माघमा भने बढ्ने उनको अपेक्षा छ । ‘माघपछि करिब करिब ५ सय लिटर भन्दा बढि हुनुपर्छ’, उनले भने ।

फर्ममा १ हजार लोकल कुखुरा र ५० बढी बाख्रा तथा १ सय बढी हाँस पनि पालिएको छ । मासु र अण्डा पनि अनिलको अर्को व्यवसाय बनेको छ ।

अनिलले एग्रो इण्डष्ट्रिमा साथ पाएका छन् आफ्नै साला शैलेस श्रेष्ठको । अध्ययनले शैलेस श्रेष्ठ फुड टेक्निसियन हुन । स्वदेशमै उद्योगहरुमा अनुभव बटुलेका तथा वैदेशिक रोजगारमा समेत अनुभव लिएका उनी अहिले नै फर्मबाट उत्पादित दुध र मासुजन्य उत्पादनको गुणस्तर नियन्त्रण गरिरहेका छन् । नेपालको एउटा चाउचाउ कम्पनीबाट काम गर्न शुरुवात गरेका उनले २ वर्ष दुबईमा उद्योगमा काम गरे । अहिले फर्ममा पालिएका गाईको आहारविहार बारे उनी निरन्तर अध्ययनमा छन् । नेदरल्यान्डका विज्ञ (एक्सपर्ट)सँग समेत उनी न्युट्रिसियनको बारेमा आवश्यक छलफल गर्दै कसरी सुधार गर्ने भन्नेमा लागिरहन्छन । गाई फर्ममा ३० वर्षबढि अनुभव बटुलेका डा. पिटरले उनलाई निरन्तर सल्लाहसुझाव दिने गरेको शैलेसले बताए । फ्याक्ट र एसएनएफको गुणस्तर बढाउन उनीहरु लागिपरेका छन ।
सरकारी अनुदानमा पनि अलिअलि पाउन सफल भएका उनि अहिले कृषिबाट सन्तुष्ट नै छन । प्रदेश सरकारबाट साईलेस र ट्रयाक्टरमा अनुदान पाएको उनले बताए ।

दुधालु गाईलाई हरियो घाँस धेरै आवश्यक हुन्छ । बाह्रै महिना घाँस उपलब्ध नहुनु अर्को कृषि समस्या छ । यसलाई समाधान गर्न आफै घाँस खेती समेत गरिएको छ । साढे ४ बिगाहामा अहिले घाँस खेती हुन्छ । यसैगरी बाहिर किसानबाट समेत १६÷१७ विगाहामा घाँस खेति गराएर ल्याउने गरिन्छ । वर्षमा दुई पटक घाँस लगाईने उनले बताए । प्रोटिन बढि हुने जातका घाँसमा जोड दिदै आएको उनले बताए । शैलेसका अनुसार हिउदमा वर्षिम र जई घाँस लगाईने गरेको छ । सो घाँस ४ हप्तामा एकपटक काट्न सकिने उनको भनाई छ ।

हरियो घासको विकल्प खोज्ने क्रममा साईलेसको उत्पादन गरी प्रयोग भईरहेको उनले बताए । शुरुमा किनेर गाईलाई साईलेस खुवाएका उनीहरुले विस्तारै आफै यसबारे सोधखोज गरी आफै बनाउन लागे । ‘मकैको बोटबाट साईलेस बनाईन्छ’, उनी भन्छन्, ‘हामीले हरिेयो मकैको बोट नै किन्छौ र यहीँ बनाउछौ ।’

फर्ममा पिट बनाईएको छ जहाँ ३ लाख किलो साईलेस एकैपटक बनाईन्छ । लेयर बनाएर प्लास्टिकमा यसलाई राखिन्छ । जहाँ लेक्टिक एसिड फर्मेशन हुन्छ जुन गाईलाई धेरै आवश्यक हुने उनि बताउछन । थोरैमात्रमा अहिले ५०÷५० किलोको साईलेस बनाएर ब्यागमा बिक्री समेत गर्दै आएको उनले बताए । पशु चिकित्सकहरु समेत आएर बेलाबेलामा आवश्यक परामर्श दिने गरेका छन । कृषि ब्राण्ड र बजार अहिलेको आवश्यकता भएको उनी बताउछन ।

शुभारम्भ फर्ममा प्रत्यक्ष रुपमा १५ जना कामदारले रोजगार पाएका छन् भने अप्रत्यक्षरुपमा सयौंको संख्यामा रोजगार बनेका छन् । देवदह ११ सिक्टनमा वर्षेनी यत्तिकै सुकेर जाने घाँस काटेर फर्ममा बेच्नेहरुमात्र ५० बढी स्थानीयबासी छन् । त्यस आसपासमा मकैको खेतीगरेर फर्मको साइलेसलाई कच्चा पदार्थ आपुर्ति गर्नेहरुको संख्या पनि उत्तिकै छ ।

कृषि उद्योगका लागि सबैभन्दा बढी आवश्यक चरन क्षेत्र र घाँस लगाउने जग्गाको अभाव रहेको श्रेष्ठले बताए । स्थानीय तहले पालिकाअन्तर्गतका जग्गालाई भू–वर्गीकरण गरी कृषि उद्यमका लागि सदुपयोग गर्नुपर्ने श्रेष्ठको सुझाव छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*