भूकम्पपछिको कुमारी घर : प्राविधिक अध्ययन गरेको ६ वर्ष बित्यो, भवन अझै टेकोका भरमा

खबर कुरा
१७ पुष २०७८, शनिबार
                 

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घरमा साढे छ वर्षअघिको भूकम्पले क्षति पु(यायो ।

भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरे । पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उनले कुमारी घरलाई पुनःनिर्माणको सूचीमा राख्न निर्देशन पनि दिए । कुमारी घरमा भूकम्पले गरेको क्षतिका बारेमा गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले छुट्टाछुट्टै प्राविधिक अध्ययन गरे । तीनवटै निकायले एकरएक महिना लगाएर भवनको प्राविधिक अध्ययन गरेको ६ वर्ष बितिसक्दा पनि भवन भने टेकोका भरमा अडिएको छ । कुनै पनि निकायले पुनःनिर्माणमा चासो देखाएका छैनन् ।

सनातनदेखि चली आएको इन्द्रजात्रामा जीवित देवी कुमारीको पनि रथयात्रा गराउने चलनको सुरुआत मल्लकालमा भयो । कुमारीको रथयात्रा चलाउन कुमारी राख्ने घर जयप्रकाश मल्लका पालामा बनेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य बताउँछन्। त्यसपछि बेलाबेलामा भवनको मर्मतसम्भार गरिए पनि पुनःनिर्माण भएको छैन । पच्चीस वर्षअघि चार इञ्चको चिल्लो इँटाको गारो बाहिरबाट थपिएकाले भवन नयाँ नै हो कि भन्ने लाग्छ । मल्लकालीन भवन भएकाले भूकम्पले भित्रभित्रै जीर्ण बनेको छ ।

भित्री गारो जीर्ण भएकाले भवन जोखिममा परेको समितिले जनाएको छ । कुमारी घरको पश्चिमी भागमा भित्रबाट टेको लगाएर राखिएको छ । इन्द्रजात्रामा गुठी संस्थानले प्रयोग गर्ने कोठासमेत रहेको पश्चिमी भाग धेरै जीर्ण भएकाले नै तालाबन्दी गरी राखिएको छ । वसन्तपुर डबलीको भागमा भने बाहिरपट्टिबाटै टेकोका भरमा कुमारी घरलाई अड्याइएको छ ।

“भवनको भित्री भाग चर्किएको छ, दलिन कुहिएको छ, वरिपरि टेकोका भरमा भवन अडिएको छ, भित्री चोकको टेको भने यसै वर्ष इन्द्रजात्रा बेला निकालियो, भ(याङ जीर्ण भएर हनुमानढोका दरबार हेरचाह अड्डाले बनाइदिएको छ, मूल भवन भने अझै बनाउने अत्तोपत्तो छैन”, उनले भने ।

धेरै विदेशी पर्यटकको आवतजावत हुने वसन्तपुर डबली क्षेत्रमा राखिएको टेकोले नकारात्मक सन्देश प्रवाह गरे पनि पुनःनिर्माण नहुनु दुःखद् भएको यहाँ अवलोकनका लागि आएका राजेन्द्र डङ्गोल बताउँछन् ।

जीवित देवीका रुपमा पुजिने कुमारी घर बनाउन गत आर्थिक वर्षमै काठमाडौँ महानगरपालिकाले रु ५० लाख बजेट विनियोजन गरे पनि काम भने सुरु गरेन । गत आर्थिक वर्षमा वडा नं २३ का अध्यक्षको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन खोजे पनि बजेट अपुग भएर काम सुरु हुन नसकेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यले राससलाई जानकारी दिए ।

महानगरपालिकाले चालू आर्थिक वर्षमा कुमारी घर पुनःनिर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । पुनःनिर्माणका लागि रु तीन करोड बजेट लाग्ने अनुमानित लागत यसअघि नै तयार गरिएको छ । पुनःनिर्माणको लागत एकैपटक जुटाउन नसक्दा काम हुन नसकेको दरबार संरक्षण कार्यक्रमले जनाएको छ । दरबार क्षेत्रका सम्पदा हेर्न महानगर र पुरातत्व विभागले फरकफरक निकायको स्थापना गरे पनि संरक्षणमा ध्यान नदिएको स्थानीयवासी सन्तबहादुर श्रेष्ठ बताउँछन् ।

घरबाट वर्षमा १३ पटक निकालिन्छ कुमारीलाई

कुमारी घरबाट वर्षमा १३ पटक विभिन्न सांस्कृतिक गतिविधिका लागि कुमारीलाई निकाल्ने गरिन्छ । इन्द्रजात्राकै क्रममा तीनपटक कुमारीलाई घरबाट बाहिर निकालिन्छ । वडादसैँमा हनुमानढोका दरबारमा कुमारीको पूजाआजा गरिन्छ । रामनवमीका दिन कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिन्छ ।

चैतेदसैँकै बेला हुने सेतो मच्छिन्द्रनाथको रथयात्राका क्रममा कुमारीलाई लगनटोल लगिन्छ । माघ महिनामा हुने सेतो मच्छिन्द्रनाथको स्नानका क्रममा पनि कुमारीलाई मच्छिन्द्रबहाल लैजाने परम्परा रहेको छ । गाईजात्राको भोलिपल्ट ठमेलस्थित भगवानबहालमा लगिन्छ । गाईजात्राको भोलिपल्ट ठमेलमा बौद्धमार्गीका बहिल देवताको प्रदर्शनी गरिएको हुन्छ ।

माघमै चाँगुनारायणलाई हनुमानढोका दरबार ल्याउने क्रममा पनि कुमारीलाई घरबाट निकालेर दर्शनका लागि लगिन्छ । गाईजात्राको चार दिनअघि पनि चाँगुनारायणलाई हनुमानढोका दरबारमा ल्याउँदासमेत कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ । आश्विन शुक्ल पञ्चमीमा पचलीभैरव जात्रा हनुमानढोका दरबार लैजाँदा पनि कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ । यसैगरी घोडेजात्रा क्रममा कुमारीलाई नेपाल वायुसेवा निगम भवन लगेर राखी जात्रा देखाउने गरिन्छ । विसं २०६५ मा कुमारी परम्परा सुरु भएको २५० वर्षको विशेष कार्यक्रम गरी मनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*