२२ मंसिर २०८२, सोमबार | December 8, 2025

जनतामा उच्चस्तरको लोकतान्त्रिक आचरण छ, कसैलाई अति गर्न दिँदैनन : सभामुख सापकोटा



धुलिखेल । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचारण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताएका छन् ।

राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान गर्न आज धुलिखेलमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीलाई नजिकबाट हेरिरहेको बताए ।

सभामुख सापकोटाले भने, “ संसद्लाई जीवन्त र जनमुखी बनाउन वातावरण बनाउने काम भइरहेको छ, संसद्काबारे धेरै प्रश्न उठेको छ, मेरो पहलकदमी कहाँ पुगेको छैन, कहाँ बढाउनुपर्छ भन्नेतर्फ काम गरिरहेको छु, सभामुखको नेतृत्वमा सबै सांसदले स्वतन्त्र भएर निर्णय गर्न पाउँछन् त भन्ने प्रश्न छ, आलोचना र आएका सुझावलाई सकारात्मक रूपमा लिएको छु ।”

अहिले भइरहेका बहसले हामीलाई देशहितका लागि निष्कर्षमा पु¥याउने उल्लेख गर्दै उनले भने, “इतिहास राम्रो अध्ययन गरेका जनता नै सर्वोपरी हुन् । देशभक्त भावनाले ओतप्रोत जनताले ठिक निर्णय गर्नेछन, तटस्थ, निष्पक्ष र स्वतन्त्र हुनुमा मेरो पनि ठूलो तागत छ ।”

देशले एकपछि अर्को गर्दै महामारी, राजनीतिक र जलवायु सङ्कट भोग्नुपरेको उल्लेख गर्दै सभामुख सापकोटाले सकारात्मक सोच विचारले मात्रै राम्रा नतिजा हासिल गर्ने भएकाले संसदले मुख्य कार्यभार कानुन निर्माणमै जोड दिनुपर्ने बताए ।

उनले भने, “विश्व समुदायजस्तै नेपालमा पनि नयाँ राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ, मातृभूमिप्रति इमान्दार र निष्ठामा रही बढाइने सोच र विचारले देश र जनताको हित हुनेछ ।” सभामुख र उपसभामुखलाई सबैसँगको छलफल र अन्तरघुलनबाट सभा सञ्चालन गर्न सहज तुल्याउने बताउँदै सभामुख सापकोटाले सबै उपसभामुखमा नयाँ र चुनौतीपूर्ण जिम्मेवारीले आत्मविश्वास बढाएको उल्लेख गरे ।

लोकतन्त्र प्रवचन दिने विषय नभई आत्मसात र व्यवहारमा लागू गर्ने विषय भएको जनाउँदै उनले संसद्मा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो भए तापनि विविध कारणले योग्यता र क्षमताको गतिलो अभ्यास गर्न नसकिरहेको जनाए ।

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले पछिल्लो दुई वर्षमा कोभिड– १९ महामारीका कारण अन्य क्षेत्रजस्तै संसद् पनि प्रभावित भएका कारण कानुन निर्माण तथा संसदीय अभ्यासका काम सोचेअनुरुप गर्न नसकिएको बताइन । उनले पर्याप्त बैठक तथा छलफल हुन नपाउँदा सदनमा आएका विधेयक तथा जनसरोकारका अन्य विषय प्रभावित हुन पुगेका तथा नियमित संसद् बैठक सञ्चालन नहुँदा सिकाइका विविध पक्ष छुटेको उल्लेख गरिन ।

उपाध्यक्ष दाहालले भनिन, “ऐन, कानुन निर्माणदेखि सदन सञ्चालनसम्मका संसदीय गतिविधिमा सबै सांसदको भूमिका बराबरी रहन्छ । तर महिला पदाधिकारी तथा सांसदले यी अभ्यासमा अपवादबाहेक आफू ओझेलमा परेको अनुभव गर्नुभएको छ ।”

प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले अत्यन्तै अप्ठेरो परिस्थितिमा प्रदेशसभाले काम गर्नुपरेको अनुभव सुनाउँदै उपसभामुखले आफ्नो अधिकारका लागि लड्नुपरेको अवस्था र घटना सुनाइन। उनले भनिन, “सभाको प्रारम्भ र अन्त्य गर्ने अधिकार उपसभामुखलाई दिनुपर्छ भनी गरिएको पहलपछि बाधा फुकेको छ, अहिले मिलेर सभा सञ्चालन गरिएको छ, उपसभामुखको मर्यादा तल झारिएकामा सच्याउन सफल भएका छौँ । प्रदेशमा भएका अभ्यासले महिलाको नेतृत्व विकास हुँदै गएको छ । आगामी दिनमा कम्तीमा तीन प्रदेशमा सभामुख महिला हुने व्यवस्था होस् ।”

मधेस प्रदेशका उपसभामुख उपमाकुमारी देवले प्रदेशसभा सञ्चालन र अन्त्य गर्ने अभ्यास गरिरहेकाले पुरुषका तुलनामा कहीँ कतै कमी कमजोरी नभएकाले आफू सक्षम रहेको दाबी गरिन । उनले भनिन, “महिला हुनका नाताले विभिन्न चुनौती र समस्या भोगिरहनपरेको छ, प्रदेशको नामकरण भएको छ, ५० भन्दा बढी विधेयक पारित भएका छन्, केही छलफलका चरणमा रहेका छन् ।”

बागमती प्रदेशका उपसभामुख राधिका तामाङले प्रदेशसभाले ६१ वटा विधेयक पारितसहित चार वर्षको अवधिमा भए–गरेका कामकारबाही तथा समावेशी र समानुपातिक प्रतिनिधित्वबारे जानकारी गराइन । उनले भनिन, “महिला सांसदको क्षमता अभिवृद्धिका लागि गरिएको अन्तरप्रदेश अनुभव आदान–प्रदान कार्यक्रमले कानुन निर्माणमा महिला सदस्यको सक्रियता बढाएको छ, कतिपय संसद्का गतिविधि मिडियाबाट मात्रै थाहा हुँदा नमिठो लागेको अनुभव छ, आगामी दिनमा अधिकारसहितको उपसभामुखको व्यवस्था होस् ।”

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले ५० विधेयक पारित गरेको, विशेष अधिवेशनको अभ्यास भएको, राष्ट्रिय राजनीतिको अवस्थाले कानुन निर्माण र विकासलगायतका काम अप्ठ्यारो परेको अनुभव सुनाइन । संसदीय समिति र मन्त्रिमण्डलमा महिलाको प्रतिनिधित्व कमजोर हुँदा संविधानको मर्म र भावना आत्मसाथ गर्न नसकेको अनुभूति सुनाउँदै उनले सभा चलाउने जिम्मेवारी सभामुखको पालो दिनेमात्रै उपसभामुखको हो भन्ने बेलाबखतमा आभास भएको उल्लेख गरिन् ।

कर्णाली प्रदेशका पुष्पा घर्तीले उपसभामुखको पद ‘माया बैगुनी नभई नहुने’ जस्तो रहेको आफूले अनुभव गरेको प्रतिक्रिया दिइन । उनले भनिन, “संविधानको मर्म र भावनाअनुरुप आगामी दिनमा सात प्रदेशमध्ये कम्तीमा तीन जना सभामुख महिला हुने व्यवस्था सुनिश्चित गरिनुपर्छ ।”

सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडालले प्रदेश सरकारमा दुई मन्त्री, तीन राज्यमन्त्री तथा दुईवटा समिति सभापतिको नेतृत्व महिलाबाट भइरहेको जानकारी दिइन । “प्रदेशसभाले चार वर्षमा ४१ ऐन तर्जुमा गरेता पनि कतिपय प्राविधिक कारणले जनसरोकारसँग जोडिएका कानुन तर्जुमा गर्न अझै सकिएको छैन, कर्मचारीको अभावले विकास निर्माण काम प्रभावित भएको छ ।”, उनले भनिन ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  १ : ५१ बजे

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता

नागढुङ्गा-नौबिसे सडक मङ्सिर २४ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे

मोबाइलदेखि कम्प्युटरसम्म, आँखादेखि कानसम्म : यी हुन् दलहरूका चुनाव चिह्न

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई