कृषिमा फड्को मार्दै तिलोत्तमा : चार वर्षमा खर्चियो १० करोड

लक्ष्मण पौडेल
८ चैत्र २०७८, मंगलवार
                 

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वैशाख २०७७ मा खेतीयोग्य जमिन बाँझो राख्न नपाउने निर्णय गर्‍यो । नगरपालिकाले गरेको यो निर्णय नगरलाई कृषिमा आत्मनिर्भर बनाउन केन्द्रित थियो । नगरपालिकाले निर्णय गर्नासाथ तिलोत्तमा–४ भक्तपुरपथमा प्रेम मरासिनीले आफ्नो घरसँग साँध जोडिएको एक कट्ठा जग्गामा तरकारी लगाए । बर्सेनि तरकारी किनेर खाने गरेका उनी त्यसयता आफ्नै उत्पादनले धानिएको बताउँछन् ।

नगरपालिकाले जग्गा बाँझो नराख्ने निर्णय मात्र गरेन, कार्यान्वयनमा समेत कडाई गर्‍यो । जसको फलस्वरुप अहिले धेरैजसोका घरछेउँका जग्गा बाँझो छैनन् । कतिपयले तरकारी खेती गरेका छन् भने कतिपयले धान त कतिपयले फूलका बिरुवा रोपेका छन् । तिलोत्तमा–१ निबासी कमल कंडेलले आफ्नै घरछेउँको एक कट्ठा भन्दा बढी जग्गामा बर्सेनि धान फलाउन थालेका छन् । ‘जग्गा बाँझो नराख्ने निर्णयले कृषिजन्य वस्तु उत्पादन बढाउन महत्वपूर्ण योगदान पुर्‍याउँछ’, उनी भन्छन् ।

बाँझो जमिनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए संधियार ९छिमेकी० वा अन्य व्यक्तिले खेती गर्न सक्ने नगर कार्यपालिका बैठकले निर्णय गरेको थियो । यो निर्णयसँगै आफ्नो घर वरिपरि भएका खाली जग्गामा मौसमी खेती गर्न तिलोत्तमावासीलाई बाटो खुल्यो र धेरैले यसबाट लाभ लिँदै आएका छन् । यसबाट तरकारीलगायत कृषि उत्पादन बढ्न थालेको नगरपालिकाको अनुमान छ ।

यसरी गरिने खेतीमा जग्गाधनीको कुनै हक नलाग्ने र जग्गाधनी आफैंले जग्गा उपयोग गर्न चाहेमा ४५ दिनअघि नै खेती गर्नेलाई त्यसको जानकारी दिनुपर्ने नगरपालिकाले जनाएको छ । तिलोत्तमामा खेतीयोग्य जमिनलाई प्लटिङ गरेर छाडेका र घडेरीमा घर नबनाई त्यत्तिकै छाडिएका जग्गा कूल खेतीयोग्य जग्गाको करिब १० प्रतिशत हाराहारीमा रहेको नगरपालिकाको अनुमान छ । यो निर्णयले वर्षौंसम्म जग्गा बाँझो रहने तर संधियार वा छिमेकीले त्यो जग्गामा खेती गर्न नपाउने परिस्थितिलाई सहजीकरण गरेको नगर प्रमुख वासुदेव घिमिरे बताउँछन् ।

‘खेतीयोग्य जमिन बांँझो रहन नदिने र सबै नगरवासीलाई कम्तीमा तरकारीमा आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो, ‘नगर प्रमुख वासुदेव घिमिरे भन्छन्, ‘सयौं घडेरीका जग्गा बाँझो छन्, न घर बनेका छन् न खेती भएको छ, अझ कोरोना महामारीसँगै भएको लकडाउनका कारण उत्पन्न परिस्थितिले भविष्यमा हुनसक्ने खाद्य संकटसँग जुध्न पनि जग्गा बाँझो राख्न नपाउने निर्णय कडाइका साथ कार्यान्वयन गरिएको हो ।’

तीव्र शहरीकरण भइरहेको तिलोत्तमामा ठूलो मात्रामा जग्गा घडेरीको रुपमा विकास भएर बाँझै बसेकाले यस्तै जग्गालाई लक्षित गरी नगरपालिकाले यस्तो निर्णय गरेको थियो । एक सय २६ वर्ग किलोमिटर क्षेत्रफलको तिलोत्तमामा वार्षिक २२ हजार ४६० मेट्रिक टन धान, आठ हजार एक सय मेट्रिक टन गहुँ, ४१ हजार ४५० मेट्रिक टन तरकारी, दुई हजार ४५० मेट्रिक टन मकै उत्पादन हुने गरेको कृषि शाखाको तथ्यांक छ । कृषिको उत्पादकत्व बढाउन गहुँ र मकैको बिउमा ४० प्रतिशत अनुदान दिँदै आएको तिलोत्तमाले दूधमा पनि अनुदान दिइरहेको छ । तिलोत्तमाले यसअघि नै भारतीय तरकारी र फूलको प्रयोगमा रोक लगाएको छ ।

नगरवासीलाई कृषि उपजमा आत्मनिर्भर बनाउने उद्देश्यले तिलोत्तमा नगरपालिकाले जनप्रतिनिधि आएयता विभिन्न कार्यक्रम सुरु गरेको छ । नगरपालिकाका कार्यक्रमहरूमा स्थानीयको सक्रिय सहभागिता देखिएको छ । नगरपालिकाको कृषि शाखामार्फत उन्नत गहुँको बिउ अनुदानमा वितरण गर्नेदेखि लिएर दुध उत्पादन बढाउन दुग्ध उत्पादक किसानलाई अनुदानका कार्यक्रमसम्म समेटिएका छन् ।

कृषि उपकरणको प्रयोगले कृषिमा आधुनिकीकरण

तिलोत्तमा नगरपालिकाले किसानलाई व्यवसायिक कृषितर्फ आकर्षित गराउन अनुदानमा विभिन्न कृषि उपकरणहरु प्रदान गरिरहेको छ । धान काट्ने मेसिन, आलु लगाउने मेसिन, च्याउ बनाउने मेसिनहरू लगायतका उपकरण नगरपालिकाले विभिन्न परियोजनाहरुमार्फत किसानलाई प्रदान गर्ने गरेको हो । यन्त्रको प्रयोगले उत्पादन वृद्धिका साथै भण्डारणका बेला हुने १५ देखि २० प्रतिशतको नोक्सानीसमेत कम भएको नगरपालिकाको कृषि शाखाको दावी छ । तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले कृषिको आधुनिकीकरणको लागि यान्त्रिकीकरण अपरिहार्य रहेकोले परियोजना अन्तर्गत किसानलाई विभिन्न कृषि उपकरण सहयोग गर्दै आएको बताए ।

गहुँको बिउमा बर्सेनि अनुदान, गहुँको खेती गर्ने बढे

जनप्रतिनिधि आएदेखि नै तिलोत्तमाका किसानले अनुदानमा गहुँको बिउ प्राप्त गर्दै आएका छन् । नगरपालिकाले यसका लागि ४० प्रतिशत अनुदान दिने गरेको छ । तिलोत्तमा नगरपालिकाले किसानलाई लक्षित गरी गहुँको न्यूनतम समर्थन मूल्य तोक्नेदेखि गहुँ बिक्री नभए नगरपालिकाले खरीद गर्नेसम्मको जिम्मा लियो । जसले किसानलाई उत्साहित पनि बनायो । संघीय सरकारले समेत मूल्य तोक्न नसकिरहेको बेला तिलोत्तमाले न्यूनतम समर्थन मूल्य तोकेपछि किसानहरू गहुँ खेतीका लागि अग्रसर भएका छन् । किसानले लागतअनुसारको लाभ प्राप्त गर्न नसकेको गुनासो किसानबाट आएपछि नगरपालिकाले गहुँको समर्थन मूल्य तोकेको कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए ।

समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हटेको नगरपालिकाको दावी छ । तिलोत्तमामा दुई हजार ७ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेकोमा करिब आठ हजार मेट्रिक टन उत्पादन हुँदै आएको छ । नगरपालिकाले वडा नं. १७ लाई गहुँको पकेट क्षेत्र तोकेको छ । त्यसैगरी वडा नं. ११, १२, १३, १४, १५, १६, ६, ७, ८, ९, १० मासमेत ठूलो क्षेत्रफलमा गहुँ खेती गरिएको छ । संघीय सरकारले धानको लागि तोकेको न्यूनतम समर्थन मूल्य कार्यान्वयनमा पनि नगरपालिकाले सहजीकरण गरेपछि साना किसान सहकारी संस्थाहरुले किसानको धान खरीद गर्न थालेका छन् ।

तरकारी उत्पादनमा नमूना कहलिँदै

कोरोना महामारीको बेलामा समेत अन्य पालिकाहरुमा भारतीय तरकारी भित्रिरहँदा तिलोत्तमा नगरपालिकाले नगरभित्र किसानले उत्पादन गरेका तरकारी खेतबारीबाट उपभोक्ताको घर–दैलोमै पुर्‍याउने काम गर्‍यो । बाहिरबाट आउने तरकारी नियन्त्रण गर्दै आफ्नै उत्पादन उपभोगका घरदैलोमा पुर्‍याउनु कम्ती चुनौतीपूर्ण थिएन, तर यो अभ्यास सहजै सफल पनि भयो । यसबाट तिलोत्तमा तरकारी उत्पादनमा नमूना कहलिँदै गएको मान्न सकिन्छ ।

एक घर, एक करेसाबारी स् पकेट क्षेत्रमा व्यावसायिक तरकारी’ भन्ने नाराका साथ वडा नम्बर १४ लाई ‘तरकारी पकेट क्षेत्र’ र अन्य वडाहरूमा ‘एक घर स् एक करेसाबारी’ को नीति अवलम्बन गर्दै अगाडि बढेको तिलोत्तमा यतिबेला तरकारीमा आत्मनिर्भर छ । कृषि तथा पशुपालनमा अनुदानका विभिन्न कार्यक्रम अघि सार्दै नगरपालिकाले ‘व्यावसायिक रुपमा काम गर्ने किसानलाई नगरपालिकाको सम्मान : सबै किसानलाई उत्पादनमा आधारित अनुदान’ नीति अवलम्बन गरेपछि तरकारी खेतीका लागि किसान अग्रसर भएको नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी बताउँछिन् । ‘किसानमुखी नीतिले नै तिलोत्तमामा कृषिमा आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको हो’, उनी भन्छिन् ।

तिलोत्तमाले वडा नम्बर १४ लाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि प्रदेश सरकारले स्मार्ट कृषि गाउँको रुपमा समेत बजेट छुट्टयायो । रुपन्देहीको तिलोत्तमा-१४ का रामप्रताप केवटले दुई वर्ष अघिसम्म पाँच कट्ठा जग्गामा तरकारी खेती गर्दै आएका थिए । तरकारी पकेट क्षेत्र तोकिनु र स्मार्ट कृषि गाउँ घोषणा भएपछि उनले १० कट्ठा जग्गामा तरकारी खेती थाले । विगत १० वर्षदेखि व्यावसायिक रुपले तरकारी उत्पादन गर्दै आएका केवटले सिँचाइ र पूर्वाधारको क्षेत्रमा नगरपालिका र प्रदेश सरकारबाट समेत ठूलो सहयोग मिलेको बताउँछन् । तिलोत्तमा–१४ को जितपुरमा तरकारी खेती गरिरहेका उनको गाउँमा डेढसय जना किसान व्यावसायिक तरकारी खेतीमा आवद्ध छन् भने १६० बिगाहा क्षेत्रफलमा तरकारी खेती भइरहेको छ ।

स्मार्ट कृषि गाउँका संयोजक पन्नालाल केवट भन्छन्। ‘यहाँका करिब डेढ सय किसानले वार्षिक साढे चार करोडसम्म आम्दानी गर्छन् ।’ यहाँ दैनिक कम्तीमा २० क्विन्टल तरकारी उत्पादन हुन्छ । पकेट क्षेत्रमा मात्र २० समूहमा आवद्ध पाँच सय बढी किसानले ५० हेक्टर बढी जग्गामा तरकारी खेती गर्दै आएका छन् ।

किसानले कम्तीमा पाँच कठ्ठादेखि बढीमा १० बिघा जग्गामा तरकारी खेती गरेका छन् । पकेट क्षेत्रमा मात्र दैनिक २० क्विन्टल तरकारी उत्पादन हुने गर्छ । नगरभित्र करेसाबारीसहित एक हजार एक सय ५० हेक्टर जग्गामा तरकारी खेती हुने गरेको र वार्षिक ५० हजार पाँच सय मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि शाखाका प्रमुख दोमलाल भुसाल बताउँछन् ।

तरकारीमा सिँचाइका लागि वडाभित्र ९० वटा बोरिङ गाडिएको र प्रतियुनिट चार रुपैयाँ दरमा विद्युत उपलब्ध गराइएको छ । तरकारी बिक्रीका लागि नगरपालिकाले पकेट क्षेत्र रेहरामा ५० लाख लगानीमा कृषि हाटबजार समेत सञ्चालन गरेको छ । तिलोत्तमाको वडा नंं. १३, १४, १५ तथा छिमेकी गाउँपालिका सियारीका भैंसाखादर, सीतापुर, भर्तापुर, हर्नैया, मैनहिया,अमुवा गाउँमा उत्पादन हुने तरकारी यहाँबाट बिक्री हुन्छन् ।

कृषि हाट बजारबाट १५ हजार किसान लाभान्वित भएका छन् । नगरपालिकाको लगानीमा सरस्वती आधारभूत विद्यालयको १५ बिघा जग्गामा हाटबजारका लागि दशवटा सेड, स्टोर, कार्यालय, क्यान्टिन र शौचालय लगायतका पूर्वाधार बनेका छन् । एउटा सेडमा चार वटाका दरले ४० वटा पसल रहने बजारमा हप्ताको सातै दिन ताजा तरकारी थोक तथा फुटकर बिक्री वितरण हुन्छ । नगरपालिकाले सिंगो नगरपालिकालाई नै अर्गानिक जोनका रुपमा विकास गर्ने लक्ष्य लिएर अगाडि बढेको नगरप्रमुख घिमिरेको भनाइ छ ।

‘किसानलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहित गर्न कृषि प्राविधिकहरु नियुक्त गरिसकेका छौं,अब प्रांगारिक मलमा अनुदान दिएर रासायनिक मल र विषादीमुक्त तरकारी उत्पादनलाई बढावा दिन्छौं’,  हाटबजारमा कोल्ड स्टोर राख्न तथा गुणस्तरीय बिउ, मल समयमै उपलब्ध गराउन नगरपालिकाले विशेष अभियान चलाउने भुसालको भनाइ छ ।

कृषिका ठूला परियोजना बन्दै

तिलोत्तमा नगरपालिकामा देशकै पहिलो नमुना दुग्ध उद्योग स्थापना हुँदै छ । सहकारी ऐन, २०७४ तथा प्रदेश सहकारी ऐन, २०७६ को व्यवस्थाअनुसार विभिन्न प्रकृतिका सहकारीको लगानीमा उद्योग व्यवसाय सञ्चालन गर्ने गरी स्थापना भएको लुम्बिनी विशिष्टीकृत सहकारी संघले उक्त उद्योग बनाउन लागेको हो । तिलोत्तमा नगरपालिका–६ मा लुम्बिनी दुग्ध सहकारी उद्योग बन्ने छ । लुम्बिनी प्रदेशका दाङ, रोल्पा, प्यूठान र रुकुमबाहेकका जिल्लाका ८५ सहकारी संस्था संलग्न रहेको संघको उद्योग सञ्चालनको योजनाअनुसार उद्योग निर्माण गर्न लागिएको हो । सहकारीमा आबद्ध किसानको उत्पादन बिक्रीको सुनिश्चितता र मूल्य अभिवृद्धि गर्ने, उपभोक्ताका लागि उचित मूल्यमा वस्तु उपलब्ध गराउने र देशमै रोजगारीको वातावरण सिर्जना गर्ने उद्देश्यले दुग्ध उद्योग सञ्चालनको परिकल्पना अघि बढेको हो ।

उच्च प्रविधियुक्त बृहत् स्तरको यूएचटी दुग्ध प्रशोधन परियोजनाअन्तर्गत स्थापना हुने उद्योगमा प्रशोधित दूध, पनिर, घिउ, बटर, नौनी, कुराउनी, आइसक्रिम, लस्सी, चकलेट, चिज, छुर्पी, मोही, पाउडर दूध आदि दुग्ध परिकार उत्पादन हुने छ । यसका लागि ५९ करोड ८५ लाख रुपैयाँको डीपीआर तयार भएको छ । उद्योग निर्माण गर्न तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा वार्षिक १ लाख ५० हजार रुपैयाँ तिर्ने गरी नगरपालिकाले साढे २ बिघा १० कट्ठा जग्गा भाडामा दिने सम्झौता भएको छ । उद्योग बनाउने योजनाअनुरूप पहिलो चरणमा आईईपी गरी तारबार लगाउने, सडक, माटो सम्याउने काम र स्टोर कोठा अनि शौचालय निर्माणका काम भइसकेको छ । तिलोत्तमा नगरपालिकामा गरिएको लगानी सम्मेलनबाट नगरभित्र दुग्ध उत्पादन केन्द्र स्थापना गर्ने प्रस्तावमा सहकारी संघ परियोजना निर्माण गरी सञ्चालन गर्ने गरी अघि बढेको हो । सहकारी संस्थासँग ठूलो पुँजी नभएकाले संघमा आबद्ध सहकारीबाट संकलित ४० करोड र सरकारको बजेट सहयोगमा दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको छ । उद्योगमा दैनिक ५० हजार लिटर दूध संकलन गर्ने लक्ष्य रहेको छ ।

तिलोत्तमामा अरु दुईवटा ठूला फार्म पनि सञ्चालनमा छन् । तिलोत्तमाको टिकुलीगढमा शशि पौडेलले देशकै ठूलो गाई फार्म सञ्चालन गरेका छन् भने सिपी शर्माले गंगोलियामा अष्ट्रिच फार्म सञ्चालन गरेका छन् । यी दुई फार्ममा अरवौं लगानी छ । यसबाट पनि तिलोत्तमालाई कृषिमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ । कृषिमा आधारित दुग्ध उद्योग, मत्स्यपालन, माछाभुरा उत्पादन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरेज आदिलाई परियोजना स्थापनाको ७ वर्षसम्म नगरपालिकाले लिने व्यावसायिक कर र नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिने नीति नगरपालिकाले लिएको छ ।

फूलमा आत्मनिर्भर

तिलोत्तमा नगरपालिका फूलमा आत्मनिर्भर बनेको छ । यहाँ उत्पादन हुने फूल बाहिरी जिल्लाहरुमा समेत निर्यात हुन्छ । तिलोत्तमामा पहिलो पटक २०२२ सालमा स्व। रघुनाथ गुप्ताले सुरु गरेको गुप्ता नर्सरी यस क्षेत्रको चर्चित नर्सरी हो । रघुनाथले सुरुमा यसलाई तरकारी खेतीसँग जोडेर नर्सरी गरेका थिए । अहिले यो नर्सरी व्यवसायलाई उनको तेस्रो पुस्ताले निरन्तरता दिएका छन् । गुप्ता नर्सरीले फूलसँगै फूलका बिरुवा र फलफूलका बिरुवाहरू उत्पादन र बिक्री गर्दै आएको छ । ५४ वर्षदेखि पुष्प व्यवसायमा रमेको गुप्ता परिवारमा अहिले ६ परिवारका २५ जनाभन्दा बढीले साथ दिएका छन् । ६ दाजुभाइहरू मिलेर गरेको यो नर्सरी व्यवसायबाट उनीहरूले मनग्य आम्दानी पनि गरेका छन् । मेला, महोत्सवमा गुप्ता नर्सरी अनिवार्य जस्तै छ यस क्षेत्रमा ।

धेरै मेलामा उत्कृष्ट स्टलको पुरस्कार हात पार्ने यस नर्सरीले पछिल्लो समय चाडपर्व लक्षित फूलहरू पनि उत्पादन गर्दै आइरहेको छ । यहाँका मेला, महोत्सव, विवाह, ब्रतबन्धमा गुप्ता नर्सरीका फूलहरू पुग्छन् । त्यति मात्र होइन, बुटवलबाहिर पनि फूलहरू निर्यात गरिरहेको छ यस नर्सरीले । रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, पोखरा र काठमाडौं गुप्ता नर्सरीका मुख्य बजारहरू हुन् । लुम्बिनी नर्सरीले पनि फूलको ठूलो कारोबार गर्ने गरेको छ । तिलोत्तमामा चारवटा समूहले पुष्प व्यवसाय सञ्चालन गरिरहेका छन् । यसमा नगरपालिकाले पनि सहयोग पुर्‍याएको छ ।

चार वर्षमा १० करोड खर्च

तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएपछि कृषिले प्राथमिकता पाउन थालेको हो । नगरपालिकाले चार वर्षयता कृषि क्षेत्रको विकासका लागि झण्डै १० करोड रुपियाँ खर्चिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५र७६ को बजेटमा कृषि क्षेत्रका लागि तीन करोड ९१ लाख ८३ हजार रुपियाँ बजेट बिनियोजन गरेको थियो । जसमा दुई करोड ६० लाख ८१ हजार ९०९ रुपियाँ खर्च भयो । यो कुल बजेटको ६६।५६ प्रतिशत हो ।

त्यस्तै आर्थिक वर्ष २०७६र७७ मा नगरपालिकाले कृषिमा एक करोड ९४ लाख रुपियाँ बिनियोजन गर्‍यो । जसमा कुल बजेटको ७८ प्रतिशत अर्थात एक करोड ५१ लाख ५० हजार ५३६ रुपियाँ खर्च भयो । प्रमुख लेखा अधिकृत रमेश बस्यालका अनुसार तिलोत्तमाले आर्थिक वर्ष २०७७र७८ मा कोभिड महामारीका बीच पनि कृषिको विकासका लागि भन्दै आठ करोड ५० लाख ५७ हजार बजेट विनियोजन गर्‍यो । तर यो वर्ष धेरै बजेट खर्च हुन सकेन । कुल बजेटको ५७।५५ प्रतिशत अर्थात चार करोड ८९ लाख ४६ हजार ६४ रुपियाँ यो वर्ष खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८र७९ का लागि तिलोत्तमाले ६ करोड ४२ लाख ८४ हजार ६७७ रुपियाँ कृषि क्षेत्रको लागि छुट्टयाएको छ । अहिलेसम्म एक करोड भन्दा बढी खर्च भइसकेको प्रमुख लेखा अधिकृत बस्यालले बताए । – न्युज कारखाना

यसमा तपाइको मत

Your email address will not be published.


*