१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

के भन्छन् धनगढी उपमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवार ?



धनगढी । सुदूरपश्चिम प्रदेशकै एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा मेयर पदका लागि १० जनाको उम्मेदवारी परेको छ । ३० वैशाखमा हुने निर्वाचनका लागि उम्मेदवारी दिएका दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घर दैलो अभियानमा जुटेका छन् ।

धनगढी उपमहानगरको मेयर तथा उपमेयर पदका लागि उम्मेदवारी दिएकामध्ये मेयरमा एमाले, कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उपमेयरमा गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिस्पर्धामा रहेका उनै मेयर तथा उपमेयरले मुख्य प्रतिष्पर्धामा देखिएका उम्मेदवारका यस्ता छन् चुनावी एजेन्डाः

नृपबहादुर वड, कांग्रेस

सत्तारुढ गठबन्धनका तर्फबाट धनगढीको मेयरमा साझा उम्मेदवारी दिएका वड बहालवाला मेयर हुन् । पाँच वर्षे कार्यकाल सकेर फेरि मेयर बन्ने दौडमा रहेका वड आफ्ना अधुरा काम पूरा गरी स्मार्ट धनगढी बनाउन पुनः उम्मेदवारी दिएको बताउँछन् । आफूले पाँच वर्षसम्म गरेका कामलाई जनतासामु लैजाने भन्दै वडले आफ्नै कार्यकालमा थालनी भएका अधुरा काम पूरा गर्ने वाचा जनतासामु गर्ने बताए ।

‘अघिल्लो कार्यकालमा स्मार्ट धनगढी बनाउने खालका केही कामको थालनी भएको छ,’ वडले भने, ‘ती काम पूरा गर्न मैले पुनः उम्मेदवारी दिएको छु, जनताले मलाई त्यसरी नै बुझेर भोट दिने छन् ।’

गठबन्धनको आफू एक्लो उम्मेदवार भएका कारण यसपटक सहजै जीत हुने उनी बताउँछन् । ‘त्यसै पनि म धनगढीवासीको सेवा गर्न जन्मिएको मान्छे हुँ, मेरो उपनाम पनि नागरिकले एम्बुलेन्स राखेका छन्,’ वडले भने, ‘त्यसैले मेरो सहज जीत हुने सुनिश्चित छ, त्यसैमा चार दलको एक्लो उम्मेदवार बनेको छु, त्यसले झनै सहजता प्रदान गर्ने छ ।’ उनी कांग्रेसबाट निर्वाचित भएका हुन् ।

शान्तिकुमारी अधिकारी, उपमेयर उम्मेदवार

गठबन्धनबाटै धनगढीको उपमेयरमा साझा उम्मेदवार दिएकी शान्तिकुमारी अधिकारी अघिल्लो निर्वाचनमा पराजित भएकी थिइन् । उपमेयरमै पुनः दोहोरिएर टिकट पाएकी अधिकारीले धनगढीको विकास र समृद्धि आफ्नो उद्देश्य भएको बताइन् । शिक्षा क्षेत्रमा काम गर्दै आएकी अधिकारीले शिक्षाको अनुभवलाई विकासमा परिणत गर्ने आफ्नो योजना रहेको टिप्पणी गरिन् । ‘आफूले जेतेमा धनगढीको एकीकृत तरिकाले विकासको योजना बनाएर कार्यक्षेत्रको दायरामा बस्दै काम गर्नेछ,’ अधिकारीले भनिन्, ‘यसपटक जनताले विश्वास गर्नेछन् भन्ने अपेक्षा छ ।’

रणबहादुर चन्द, एमाले, मेयर उम्मेदवार

धनगढीको मेयरका लागि एमालेबाट रणबहादुर चन्दले उम्मेदवारी दिएका छन् । लामो समयसम्म एमालेका विभिन्न संगठनमा रहेर काम गरेका चन्दले अहिलेसम्म कुनै पनि जनमतमा भाग लगेका छैनन् । ‘सर्वसम्मत उम्मेदवारी दिएका कारण एमाले एकढिक्का छ । धनगढीको समग्र विकासका लागि हो । अव्यवस्थित छ । लथालिंग छ । त्यसलाई सुव्यवस्थित बनाउन आवश्यक छ । एमालेको नेतृत्वले मात्रै धनगढीको विकास सम्भव छ । एमालेले समावेशी नेतृत्व पनि ल्याएको छ । सामाजिक भौगोलिक बनोटका आधारमा पनि तेतृत्व मिलेका कारण हामी सबै क्षेत्रलाई समेट्न सक्छौं,’ उनले भने ।

पहिलो पटक आमनिर्वाचनमा भाग लिन लागेका चन्दले धनगढीको विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए । ‘कांग्रेसको नेतृत्वबाट धनगढीको विकास सम्भव देखिँदैन,’ चन्दले भने, ‘धनगढीमा बढेको भ्रष्टाचार, बेथिति हटाइ समृद्ध नगर बनाउन मैले उम्मेदवारी दिएको हु ।’ अहिले सबै दलले विभिन्न आश्वासन बाँडेर जनतालाई झुक्याउन खोजेको भन्दै उनले अव कसैका झुटा आश्वासनलाई जनताले नपत्याउने बताए । उनले देशभर एमालेको लहर आएको भन्दै धनगढीमा पनि जनताले एमालेकै नेतृत्व चाहेको बताए । ‘अपबित्र गठबन्धनका कारण जनता रुष्ट बनेका छन्,’ उनले भने, ‘देश विकासका लासिग एमाले नै चाहिन्छ भन्ने सवैले बुझेका छन्, त्यसैे मेरो जित सुनिश्चित छ ।’

कन्दकला राना, उपमेयर उम्मेदवार

एमालेबाट धनगढीको उपमेयरमा उम्मेदवारी दिएकी कन्दकला रानाले लामो समय समाजिक क्षेत्रमा काम गरेर बटुलेको अनुभवलाई धनगढीको विकासमा प्रयोग गरिने बताइन् । झन्डै १६(१७ वर्षसम्म सामाजिक क्षेत्रमा काम गरेको बताउँदै उनले सामाजिक क्षेत्रमा काम गर्दा बटुलेको अनुभवलाई सदुपयोग गरेर न्यायोचित विकास गर्न आफूले उम्मेदवारी दिएको बताइन् ।
आफूले काम गर्ने मौका पाए युवा रोजगारी, जेष्ठ नागरिक हेरचाह केन्द्र, महिला उद्यमशीलता जस्ता कार्यक्रम लागू गर्दै सवैलाई समेट्ने बताइन् । उनले घरदैलो अभियानमा जाँदा जनताको राम्रो प्रतिक्रया पाएका कारण आफ्नो जीत सुनिश्चित जस्तै बनेको बताइन् ।

गोपाल हमाल, मेयरका स्वतन्त्र उम्मेदवार

धनगढीको मेयरमा दोस्रोपटक स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी गोपाल हमालले धनगढी मोडेलको नारा दिएर घरदैलो अभियान गरिरहेका छन् । भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको उदाहरण दिँदै उनले धनगढीलाई केजरीवालको विकास मोडेलमा लैजाने दबी गरे । ‘म भ्रष्टाचार हुनै दिन्न,’ हमालले भने, ‘नगरका कुनै सेवासुविधा पनि लग्ने छैन, आफू जन्मेको हुर्केको ठाउँलाई नमुना बनाउने योजनाका साथ उम्मेदवारी दिएको हुँ ।’

मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हमालले आफू मेयरमा विजयी भए कुनै पनि सेवासुविधा नलग्ने घोषणा गरेका छन् । सवारीसाधन आफ्नै चलाउने र इन्धन खर्चसमेत नलग्ने बताएका उनले मेयरका लागि दिइने अन्य सुविधा पनि नलग्ने बताएका छन् । उनले मेयर भएर एक रुपैयाँ पनि नलग्ने आफू नेपालकै पहिलो जनप्रतिनिधि हुनेसमेत दाबी गरे ।

‘मलाई कुनै प्रलोभन छैन,’ उनले भने, ‘मेरो स्वार्थ भनेको धनगढीलाई नमुना मोडल बनाउने हो, त्यसका लागि जनताले एकपटक मौका दिने छने भन्ने अपेक्षा गर्दछु ।’ उनले धनगढीको मेयरमा आफू अन्तिमपटक लड्नेसमेत दावी गरेका छन् ।
२०७४ मा सम्पन्न स्थानीयको निर्वाचनमा पनि हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवार थिए । तर नेपाली कांग्रेसका उम्मेदवार नृप वडसँग उनी २७ सय मतअन्तरले पराजित भएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  २ : ३२ बजे

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल

बिहीबार वर्षाले अवरुद्ध नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि

काठमाडौं । बिहीबारदेखि हुने भनेको नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

आजको मौसम : बाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा