१८ चैत्र २०८२, बुधबार | April 1, 2026

बालेनको लौरो – स्वतस्फुर्त राजनीतिक विद्रोह



भनिन्छ – ‘मिठो खान पाहुना जानु’ । आफ्नै घरमा समय अनुसार फरक परिकार तयार हुने भए नयाँ स्वाद खोज्दै अन्त जानु पर्दैन । मानव स्वभाव नै यथास्थितिका विरुद्धमा परिवर्तनको खोजी गर्ने प्रकृतिको हुन्छ । यस्तै परिवर्तनको चाहनालाई प्रतिविम्वित गर्ने राजनीतिक घटनाको रुपमा देशको राजधानी शहरमा लौरो चुनाव चिन्ह लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने बालेन्द्र (बालेन) शाहप्रति जनताले व्यक्त गरेको जनमतलाई लिन सकिन्छ ।

हुनतः जनताले तत्कालिन राजनीतिक नेतृत्वको भद्र अवज्ञा गर्दै विरोधको बिम्बको रुपमा काठमाडौंमा नानीमैयाँ दाहाल र झापामा प्वाँतुलाल राजवंशी जस्ता पात्रहरुलाई विजयी गराई नेतृत्वप्रति तिब्र असन्तुष्टि जनाएको कुरा इतिहासको अध्ययनबाट स्पष्ट हुन्छ । बालेन्द्र शाहको क्षमता, इमान्दारिता, जुझारुपन, क्रियाशिलता समेतमा कुनै शंका गर्नुपर्ने अवस्था हाललाई देखिँदैन । बरु, दशकौंदेखि देश र जनताका नाममा क्रियाशिल रहेको बताउने राजनीतिक दल र तिनीहरुको भद्दा सांगठनिक संरचनालाई धज्जी उडाउँदै लौरो चिन्ह लिएर एक्लै चुनावमा भिडेका शाहलाई प्राप्त जनमतले विद्रोहको संकेत गरेको भने पक्कै देखिन्छ ।

बहुदलीय व्यवस्थामा दलबिहीन व्यक्तिहरुले जनमत प्राप्त गर्नुलाई समग्रतामा उचित ठान्न सकिँदैन । तर, काठमाडौं महानगरका जनताले व्यक्त गरेको अभिमतलाई हेर्दा राजनीतिक दलहरुले जनताप्रतिको आफ्नो उत्तरदायित्वलाई नयाँ ढंगबाट तत्काल परिमार्जन गर्नुपर्ने आवश्यकता देखिन्छ । चुनाव प्रचारको क्रममा राजनीतिक दलका तर्फबाट प्रस्तुत भएका उम्मेदवारहरुले जनता समक्ष पेश गरेका भद्दा तथा तर्कहीन अभिव्यक्तिप्रति जनअसन्तुष्टि व्यक्त गर्न काठमाडौंवासीले स्वतःस्फुर्त लौरोमा मतदान गरेको प्रष्ट देखिन्छ ।

काठमाडौंवासीले लौरो चिन्हमा व्यापक मतदान गरी युवा पुस्तालाई राजनीतितर्फ आकर्षित हुन प्रेरणा समेत दिएका छन् । विज्ञान र प्रविधिप्रति विश्वस्त युवा पुस्तालाई राजनीतिको मुलधारतर्फ आकर्षित गरी समय सापेक्ष रुपमा राजनीतिक संस्कारलाई आधुनिकतातर्फ अग्रसर गराउनु आफैमा सकारात्मक हो । यद्यपी, बहुदलीय व्यवस्थामा दलहरुको भूमिकालाई परिष्कृत गर्नुको सट्टा दलहरुप्रति वितृष्णा सृजना गर्दा झनै विकराल अवस्था निम्तिन पनि सक्छ ।

भारतको राजधानी नयाँ दिल्लीमा भ्रष्टाचार विरुद्धका अभियन्ता अरविन्द केजरीवालले अन्ततः आम आद्मी पार्टी गठन गरी निर्वाचनमा होमिएर जनताको मन जितेको तथ्यलाई नजिकैको सकारात्मक उदाहरण लिन सकिन्छ । केजरीवालले स्वतन्त्र रुपमा नभै राजनीतिक दलको ओतभित्रबाट संगठनलाई मजबुत बनाएर जनअपेक्षाअनुसार काम गरेकै कारण उनको दल दिल्लीबाट पञ्जाव हुँदै गुजरात र हिमाञ्चल लगायतका राज्यहरुमा लोकप्रिय बन्दै गएको छ । यसर्थ, बालेन्द्र शाहलाई प्राप्त जनमतलाई, यहाँ नेपालमा, तत्कालका लागि वर्तमान राजनीति र राजनीतिक दलप्रतिको विद्रोह भन्दा पनि दलीय पद्दतिमा सुधार र परिवर्तनको जनचाहनाको अभिव्यक्तिको रुपमा लिनु उचित हुन्छ । समयमै दलहरु रुपान्तरण हुन सकेनन भने जनताले विकल्प खोज्न सक्छन् भन्ने सन्देश काठमाडौं महानगरको ‘बालेनको लौरो’ले दिएको छ ।

आफु मात्रै योग्य भएको र आफुले मात्र कुर्सी ओगटीरहनु पर्छ भन्ने गलत पुरातन चिन्तनबाट राजनीतिक नेतृत्व माथि उठ्न नसक्ने हो भने धेरै बालेन्द्रहरु लौरो टेकेर आउन सक्छन् । राजनीतिमा अप्रत्यासित रुपमा प्रकट हुने बालेन्द्र प्रवृतिले बहुदलीय व्यवस्थालाई एकात्मकतातर्फ धकेल्न सक्नेतर्फ पनि सबैजना सचेत हुनुपर्दछ ।

युवा भएको नाताले मेरो पनि बालेन्द्र शाहप्रति सहानुभूति र शुभकामना दुबै रहनु स्वभाविक हो । तरपनि, देशलाई निरंकुशताको कालखण्डबाट मुक्त गराई लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइपु-याउने राजनीतिक नेतृत्वले आफ्नो दल र समग्र राजनीतिक व्यवस्थामा बालेन्द्र शाह र बालेन्द्र शाहले प्रतिनिधित्व गर्ने जनभावनालाई राजनीतिको मुलधारमा नै समेटि देशलाई दलविहीन राजनीतिक व्यवस्थातर्फ अग्रसर हुनबाट निरुत्साहित गर्नु चाहिँ आजको आवश्यकता हो ।

(सापकोटा नेपाल ल क्याम्पसमा बीएएलएलबी दोस्रो सेमेस्टरमा अध्ययनरत छिन्।)

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ८ : २७ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”