मदन पौडेलको स्मृतिमा बटौली

स्वस्तिक श्रेष्ठ
६ असार २०७९, सोमबार
                 

बुटवल । बुटवलका पुराना अग्रज पत्रकार हुन मदन पौडेल । विसं २०१२ सालदेखि बुटवलका बासिन्दा उनी बटौलीबाट आधुनिक बुटवलसम्मका साक्षी पनि हुन । ६ महिनाको व्यापार हुने थलो बटौली बजार उनका आफनै आँखाले हेरे, बुझे र अनुभव गरे । काठमाडौं र तानसेनका नेवार, भारतबाट मारवाडीहरु आउने यो थलो वास्तवमा सिजनल व्यापारीको थलो भएको उनी बताउँछन् ।

उनको बाल्यकाल बुटवलमै बित्यो । बुटवलमै जवान भए । परिवारको माया जालमा जेलिए । अहिले ७५ वर्षमा टेकेका छन । बीचमा लामो समय निक्कै बिरामी परे । पटकपटक शल्यक्रियापछि नयाँ जीवन पाएका पौडेलले ‘मृत्युले मुसारेका मान्छे’ नामक पुस्तक समेत प्रकाशन गरेका छन् । रुपन्देहीको पत्रकारिता विकासमा उनको ठुलो योगदान रहेको समकालीन पत्रकारहरु बताउँछन् । पौडेलले पत्रकारिता क्षेत्रमा विसं २०२२ सालमा प्रवेश गरे । तत्कालिन समयमा खुब चलेको लुम्बिनी साप्ताहिकमा उनको लेखन सुरु भएको थियो । पत्रिकामा समाचार प्रकाशित हुँदा युद्ध जितेको अनुभूति हुन्थ्यो । उनले बिगत सुनाउँछन् । पत्रिकाको सम्पादक थिए सुर्यलाल प्रधान भने माधव ओमले पत्रिका तयार गर्दथे ।

नेपाल भारतको नाका मानिने रुपन्देही घना वन क्षेत्र हुँदा मानव वस्ती पातलो भएको उनी बताउँछन् । १९६० मा रेल नौतनवामा रेल आयो । भारत जानुपर्दा तिनाउ नदीको किनाराकिनार बेथरी, मर्यादपुर हुँदै नौतनवा जाने गरिन्थ्यो । नौतनवा नै मुल बजार थियो । जब बुटवल– भैरहवा सडक निर्माण भयो त्यसपछि भने बेथरीबाट भैरहवा गाउँमा बस्ती विकास भयो । भारतीय सेनाका जम्दार चित्रबहादुर गुरुङले ९० सालमा यो बाटो (बुटवल भैरहवा) खोलेका हुन् । उनले त्यतिबेला १२ वटा ट्रक ल्याएर ढुँगा विछ्याएर बाटो खोलेका थिए । भारतीय पेन्सनर उनले भोला बहादुर क्षेत्री, महावीर श्रेष्ठ र भैरवबहादुर नामका चालकहरु भित्राएर काम सम्पन्न गरेका थिए । गुरुङले नै ती ड्राईभरहरुलाई जग्गा दिएर बसाले । ड्राईभरहरुको घर भएको टोलको नाम पछि ड्राईभर टोल बन्यो ।

ढाक्रेहरुले पहाडबाट घ्यु लिएर बटौली झर्थे भने भारतबाट ल्याएको छिट, नैनासुत जस्ता कपडाहरुको यहाँ व्यापार हुन्थ्यो । पहाडका घ्यु, नुन भारत जाने र चुरोट, कपडाहरु पहाड लैजाने गरेको पाउँछौ । त्यति बेला कोरा कमसल कपडा मानिन्थ्यो भने छिट मध्यम मानिन्थ्यो । तोरलिन र नैनसुत कपडा उच्च गुणस्तरको मानिन्थ्यो । फागुनसम्म यो व्यापार राम्रो चल्थ्यो ।

फाेटाे-सामाजिक सञ्जाल

आधुनिक बुटवलको विकास गर्ने श्रेय रुद्रसम्शेर राणालाई पाउँछौ । उनले अहिलेको महेन्द्रपार्कबाट उत्तरतर्फको सडकबत्ती बाल्ने काम गरे । सो समयमा मट्टीतेलको बत्ति बाटामा राखेर झिलिमिलि गर्ने, ठाउँठाउँमा पिउने पानीको धाराहरु राख्ने, टेलिफोन जडान गरेर बुटवललाई पाल्पा र भैरहवासँग सम्पर्क गर्न मिल्नेसम्मको काममा रुद्रसम्शेर राणाले योगदान दिएको पाउँछौं । बुटवलमा भैयन कसाई, केशव श्रेष्ठ लगायतका तत्कालिन फोटो खिच्ने व्यापारीहरु थिए ।

रुपन्देहीका धेरै स्थानहरुको नामाकरणको विषय पनि रोचक भएको उनि बताउँछन् । राममणि आचार्य विद्घान थिए । उनले नेपालको ईतिहास लेखेका थिए । सोहीवापत मणिहरुले सरकारबाट तत्कालिन समयमा १६ सय बिगाहा विर्ता पाएका थिए । उनले यो क्षेत्रमा १९९५ सालदेखि आवाद गर्न थाले । जहाँ ४, ३, १२, १० नम्बर जस्ता ठाउँको प्लटहरु बनाए जुन अहिले पनि सोही नामबाट रहेको छ । सोही क्षेत्र अहिलेको मणिग्राम हो ।

यसैगरी डिङर कुवा नामाकरण पनि अचम्म मध्येको एक हो । डिङर संस्कृत शब्द हो जसको नेपालीमा अर्थ चोर भन्ने हुन्छ । चोरहरुले पानी खाने स्थानको रुपमा यसलाई मानिन्छ । तत्कालिन बिट्रिस सेनाका प्रमुख जेलिस्पीको आफनो पल्टनलाई पानी पिलाउन सो क्षेत्रमा २ वटा कुवा खनाएको ईतिहास छ । डिङ्गर कुवालाई अहिले डिङ्ग नगर भनिन्छ । चोरको अर्थमा बस्तीमा नाम राख्न राम्रो हुँदैन ।

शैक्षिक विकासको गति हेर्दा विसं २००४ सालमा बुटवलमा शुरुवात भएको मदन बताउँछन् । बिसं २०२३ सालमा हालको बुटवल मावि बुटवल वडा नं १ को डाँडामा सर्यो । यसैगरी आधुनिक तालिम र रोजगारको सृजना गर्ने काम बिटिआई, प्याईउड फैक्ट्री जस्ता औद्योगिक प्रतिष्ठानबाट भएको पाउँछौं । जहाँ सीप सिकाउने र रोजगार दिने थलोका रुपमा रहेको पाउछौ । नगर पचायतले ५ वटा अनिवार्य पाठशाला संचालन गरे । घरधुरीमा रहेको बालबालिकाहरुको संख्या हेरेर पढाउने गर्दथे । तिनाउमा बाढि आउने धेरै डर हुन्थ्यो । त्यसबेला कालो बोका कन्या ढुंगा नजिकबाट खसालेको संस्कार थियो । कृणाष्टमीको भब्य पूजा गर्ने प्रचलन थियो । ढाक्रेहरुले तिनाउ नदी किनारमा फोहोर गर्नेलाई रोक्ने गरेको पाउँछौ । २०१८ सालपछि बिस्तारै हैजाको प्रकोप रोकिएको हो । बिसं २०१५ सालमा सम्झौता भएर भारतले मर्चवारसम्म लैजाने गरी देवीनगरमा तिनाउ ड्याम हेडबक्स निर्माण भएको थियो । जुन तिनाउ सिचाईं आयोजना नामाकरण भएको थियो । तर यो असफल भएपछि बन्द भएको थियो ।

यता निम चोक नेवारहरुको बाक्लो बस्तिका रुपमा चिनिन्थ्यो । जहाँ मणिध्वज मास्केका परिवार थिए । उनको १४ सय विगाहा जग्गा थियो । उनीहरुले सामाजिक क्षेत्रमा खासै योगदान भएको पाइँदैन तर लाकौल परिवारले भने सामाजिक कार्यमा लागेको पाउँछौ । नया बुटवलको कुरा गर्दा द्वारिका उदय पुराना व्यक्तिमध्ये एक हुन । उनी बुटवलमा घडि बनाउने पसल थापेका थिए । नयाँ नयाँ विषयमा रुचि लिने उनी आधुनिक प्रविधि भित्राउन माहिर मानिन्थे । उनले लाईट र बत्ति भएको साईकल, टेपरिकर्डर बजाउने जस्ता नयाँ नयाँ उपकरणहरु त्यो समयमा भित्राएका थिए ।

मारवाडीहरु महावीर भन्ने भगवानलाई पुज्छन् । पारी बुटवलको महावीर पुस्तकालय माहाबीर भगवानकै नामबाट स्थापना भएको हो । यद्यपी त्यो पुस्तकालय स्थापना गर्नेहरु भने नेवारहरु हुन् । राणाको विरोधमा संगठित हुने प्रयास स्वरुप पुस्तकालय बनेको हो । त्यतीबेला महाबिर नामको एउटा संस्थामार्फत विभिन्न सामाजिक काम गरेको पाईन्छ । भित्रभित्रै प्रजातन्त्रको आन्दोलनको तयारीमा जुटेकै बेला ज्यानकाजी भन्ने ब्यापारीको घरमा २००२ सालमा गणेशमान सिह आएर बसेको भन्ने सुनेको हो ।

बुटवलमा कम्युनिस्टहरुको संगठन भने २०१२ साल पछि मात्र सुरु भएको थियो । तत्कालिन समयमा सेक्रेटरी पृथ्वीचन्द्र शेरचनले अगुवाई गरेको पाउछौं । शेरचन नै बुटवलमा कम्युनिष्ट पार्टीको पहिलो नेता हुन् । उनले २०१२ सालमा पार्टी क्रियाशिल गराएका थिए । त्यतिबेलाको संगठन विस्तारमा शेरचन पछि सेक्रेटरीका रुपमा लालसिह भण्डारी, पिभि मल्ल, देबेन्द्र घिमिरे, देविप्रसाद पाण्डे, ओमकुमार सुधाकर, मदनलाल पौडेलले जिम्मेवारी सम्हालेका थिए । त्यसपछि भने पार्टी फुट्यो, छिन्नभिन्न भयोे ।

उद्योगका कुरा गर्दा जवाहरको कासी राईस मिल पुरानो मध्येको मानिन्छ । यसैगरी शतिस कसौधनको बुबाहरुले डल्लो साबुन बनाएर बुटवलमा उद्योग सुरुवात गरेका थिए । लाल कुमार अमात्यको मिल पनि पारी बुटवलको पुरानो मध्येको एक हो । यसैगरी पाउरोटी फैक्ट्री थियो ।

बुटवललाई दोभानसम्मको एकदिनको बाटोलाई २ घण्टामा पुग्ने सहज गराउने काममा प्रतिमान बोहराको योगदान मानिन्छ । चिडियाखोलाबाट दोभानसम्मको बाटो आफै अघि बढेर बोहराले खनेका थिए । उनी राणाकालमा टहलुवा (सरकारी पियन) थिए । पछि बडाहाकिम समेत भएका थिए ।

बटौलीमा धेरै राम नामका व्यक्ति थिए । चिन्ने गारो । बुटवलमा राम नाम गरेका धेरै भएपनि तत्कालिन समयमा उनिहरुको विशेषता अनुसार उपनाम राखिएको थियो । नाटक त्यससमयको निक्कै चर्चामा रहन्थ्यो । वेश्याको रुपमा आफनो भुमिका निभाउने राम उनको अभिनयका कारण उनलाई वेश्याराम । यसैगरी बोकेराम, बाघको चित्र कोर्ने बाघेराम, दाउरे टोलमा बस्ने दाउरे राम, यसैगरी नौतनहवाबाट व्यापार व्यवसाय गर्ने अर्को नौतनहवाका राम र पापी रामसमेत रहेका थिए ।

(मिडिया चियागफ सामाजिक सञ्जालमा बुटवलका पुराना अभियन्ता मदनलाल पौडेलले व्यक्त गरेको विचारमा आधारित)

यसमा तपाइको मत

Your email address will not be published.


*