१ पुस २०८२, मंगलबार | December 16, 2025

बुटवलमा अटो रिक्सा संचालकले गरे आफुखुसी भाडा बृद्धि, इन्धनको मुल्य बढेको देखाएर ई-रिक्साको भाडा बढाइयो



बुटवल । मनोमानीढंगले यात्रुलाई ठगी गर्दै आएको बुटवलमा संचालनमा रहेका अटो रिक्सा संचालकहरुले आफुखुसी एकतर्फी भाडा बढाएका छन् । कायम रहेको न्यूनतम २५ रूपैयाँ रहेको भाडामा एकलौटी निर्णयबाट बृद्धि गर्दै ५ रूपैयाँ बढाएर ३० रूपैयाँ पुर्‍याइएको हो ।

भाडा समायोजनको अधिकार स्थानीय पालिका सरकारलाई भएपनि बुटवल उपमहानगरपालिकालाई कुनै जानकारी नदिई अटो संचालकहरुको संस्था हरियाली यातायात प्रालिले आफुखुसी भाडा बढाएको हो । व्यवसायी, चालक र नगरवासीको छलफलबाट असार १५ गतेदेखि लागू हुने गरी भाडादरमा वृद्धि गरिएको प्रालिका अध्यक्ष कृष्ण तिवारीले बताएका छन् ।

त्यसो त बुटवलमा स्थानीय सरकार र ट्राफिक प्रहरीको निश्क्रियताको फाईदा उठाउँदै अटो संचालकहरुले यात्रीहरुलाई भाडामा ठगी गर्दै आएका थिए । बुटवल उपमहानगर भित्र अटोमा चढ्दा २५ रुपैयाँ भाडा तोकिएपनि अटो चालकहरुले यात्रुसँग बार्गेनिङ गर्ने यात्रुले भनेको स्थानमा जान नमान्ने, फर्कँदा सवारी हुँदैन भनेर तोकिएको भाडाभन्दा दुई गुणा भाडा असुल्ने गर्दै आएका थिए ।

राजमार्ग चौराहा, बेस क्याम्प, पुरानो बसपार्क, मिलनचोक, गोलपार्क, देवीनगर चौपारी, योगीकुटी, नयाँ बसपार्क, पुष्पलाल पार्क, हिलपार्क ट्राफिकचोक, आम्दा अस्पताललाई केन्द्र मानेर भाडा तोकिएको भएपनि तोकिएको भाडादरमा भाडा नलिई बढी भाडा माग्ने गरेको उपभोक्ताको गुनासो छ ।

नयाँ बसपार्कबाट देबिनगर चौपारी पुग्दा एक सय भाडा नलिई नजाने अडान अटो चालकले लिएपछि देबीनगरका मिनबहादुर कार्की सय रुपैयाँ भाडा तिरेर अटोमा यात्रा गर्न बाध्य भए । राजमार्ग चौराहाबाट कालिका नगरको होराईजन चौक पुग्दा त्यहाँकी स्थानीय देबी भट्टराईलाई अटोले एक सय भन्दा कममा लैजान मानेन । ‘पुग्नु थियो जसरी पनि, सय तिरेर रिक्सामा चढें ।’ खबरकुरासँग भट्टराईले भनिन् ।

अटो रिक्साले चाहेको बाहेक यात्रु जानु परेको स्थानमा जान नमान्ने जानै परे बढी पैसा माग्ने अटो चालकहरुको नियती जस्तै बनेको छ । यात्रु ठग्ने कार्य जारी रहेकै बेला अटो संचालकहरुको संस्थाले औपचारिक रुपमै भाडा बृद्धि गरेको छ । भाडा समायोजनका नाममा बढाईएको भाडाका बिषयमा बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले अनविज्ञता जनाएका छन् । उनले आफुलाई भाडा बृद्धिको बिषयमा जानकारी नआएको बताए ।

यातायात संचालकका अध्यक्ष तिवारीले भने २०७२ सालदेखि ई–रिक्साको भाडादर अहिलेसम्म २५ रूपैयाँबाट नबढाइएकोमा ७ वर्ष पछि समायोजन गरेको दाबी गरे । उनले बढ्दो महंगीले स्वरोजगार मजदुरहरूलाई समस्या भएपछि उपभोक्तालाई मार नपर्ने गरी भाडादर थोरै वृद्धि गरिएको दाबी गरे । भाडा वृद्धिको जानकारी प्रालिले बुटवल उपमहानगरपालिकालाई गराइसकेको पनि उनले जनाए ।

अटो चालकले बढी भाडा असुलेको गुनासो आएमा चालकमाथि कारवाही गरिने अध्यक्ष तिवारीले बताए । ‘तोकिएको भन्दा बढी भाडा मागेको पाएमा समितिमा जानकारी दिनुहोस्, ठाँउका ठाँउ कारवाही हुन्छ ।’ उनले भने ।

बुटवल उपमहानगरमा १ हजार ४४० ई–रिक्सा दर्ता भए पनि बुटवलमा २ हजार बढी अटो रिक्सा सञ्चालनमा छन् । उपमहानगरले सूचीकृत भएका रिक्सालाई व्यवस्थापन र सूचीकृत नभएका रिक्सा संचालनमा कडाई नगर्दा अटोमा लगानी गरेका लगानीकर्ताहरुले लगानी नै जोखिममा पर्ने अवस्था आएको अध्यक्ष तिवारीले बताए । उपमहानगर आसपासका स्थानीय पालिकामा दर्ता भएका अटोहरुले आफ्नो रोजगारी खोसेको उनको गुनासो छ । आफुहरुलाई तिलोत्तमा, सैनामैना, देवदह सवारी लिएर जाँदा प्रवेश गर्न नदिएको तर बुटवलमा ती पालिकामा दर्ता भएका रिक्सा निर्वाध चलिरहेको एक अटो चालकले खबरकुरालाई बताए ।

उता बुटवल उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख विष्णु खनालले उपमहानगरलाई जानकारी नगराई भाडा बृद्धि गर्नु अराजकता भएको बताएका छन् । भाडा तोक्ने अधिकार ऐनले उपमहानगरलाई मात्र दिएको उल्लेख गर्दै खनालले व्यवसायीले आफुखुसी भाडा तोक्नु गैरकानुनी भएको बताए ।

यातायात प्रालिका सचिव सुमन रायमाझीका अनुसार तोकिएको १५ वटा चोक बाहेक लामो दूरीमा टाढा जानुपर्ने अवस्था भए ३० रुपैयाँभन्दा बढी भाडा हुनेछ । ‘बुटवल बेस क्याम्पबाट फूलबारी जानुपर्ने, चौराहाबाट मोतिपुर जानुपर्ने भए भाडा बढी हुन्छ,’ सचिव रायमाझीले भने ।

नगरपालिकाले केही रिक्सा दर्ता गरेर कर लिने तर दर्ता नभएका रिक्सालाई कानूनी दायरामा नल्याउँदा व्यवसायीमाथि विभेद गरेको मजदुर छविलाल रेग्मीले गुनासो गरे ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : ४५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष