५ श्रावण २०८३, मंगलबार | July 22, 2026

जसपा फुटाएर लोसपासँग एकीकरण गर्ने बाबुरामको तयारी



काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदै छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो ।

भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति गरिसकेका छन् । यसअघि महन्थ ठाकुर, राजेन्द्र महतोले जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन गरिसकेका छन् ।

भट्टराईको नेतृत्वमा फेरि विभाजन हुन लागेको जसपा ठाकुर नेतृत्वको लोसपासँग पार्टी एकीकरण गर्ने रणनीति रहेको स्रोतले जनाएको छ । उपेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बाबुरामले आफ्नो नेतृत्वमा नयाँ पार्टीको घोषणा गर्ने भएका छन् ।

मंगलबार र बुधबार (२८, २९ असार) मा भट्टराई समूहको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंको जडीबुटीमा बस्दै छ । सोही बैठकबाट नयाँ पार्टीको घोषणा गरिनेछ । उता, उपेन्द्र समूहको केन्द्रीय समितिको विस्तारित बैठक बुधबार र बिहीबार (२९, ३० असार)मा वीरगन्जमा बस्दै छ ।

बाबुराम र उपेन्द्र समूहको छुटाछुटै केन्द्रीय समितिको बैठक बसेसँगै पार्टी स्पष्ट रूपमा विभाजन भएको हो । बाबुराम समूहले केन्द्रीय समिति बैठकको एजेन्डासमेत तय गरेको छ । बैठकमा संघीय परिषद् अध्यक्ष बाबुरामले समसामयिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने बताइएको छ ।

बाबुरामनिकट नेता विश्वदीप पाण्डेले राजनीतिक प्रतिवेदनसँगै समसामयिक विषय’ बैठकमा छलफल हुने बताए । ‘छलफल हुने विभिन्न एजेन्डा तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य तथा संघीय परिषद् सदस्यलाई पठाइएको छ ।

जसपाको केन्द्रीय समितिको विस्तारित बैठकका एजेन्डाहरूमा पार्टीको आन्तरिक अवस्था’ छलफल, स्थानीय निर्वाचनको समीक्षा, संगठन, आगामी कार्ययोजनालगायतका विषयमा छलफल र विविध रहेका छन्,’ पाण्डेले भने ।

उता बाबुराम समूहले बैठक बोलाएपछि उपेन्द्र समूहले सो बैठकलाई अवैधानिक बैठक भएको टिप्पणी गरेको छ । पार्टीको आधिकारिक बैठक वीरगन्जमा भइरहेको बताउँदै उपेन्द्रनिकट नेता प्रकाश अधिकारीले काठमाडौंमा पार्टीको कुनै बैठक नभएको बताए ।

गत १३ असारमा बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार वीरगन्जमा बस्ने बैठक नै आधिकारिक भएको अधिकारीले बताए । अधिकारीले गैरजिम्मेवार व्यक्तिले विधानविपरीत बैठक बोलाएको आरोप लगाए ।

बाबुराम समूहले बैठक बोलाएपछि उपेन्द्र समूहले अनधिकृत व्यक्तिले बोलाएको बैठकमा नजान आग्रह गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको बुझिन आएको छ । तर, त्यो बैठक पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ ।’

यसअघि नै बाबुराम र उपेन्द्रबीच अघिल्लो साता एउटै पार्टीमा रहन सक्ने अवस्था नरहेको भन्दै सहमतिमै अलगअलग बाटो लाग्ने सहमति भएको थियो । जसपाका दुवै बैठकमा समसामयिक विषयमा छलफल हुने बताए पनि उपेन्द्र समूहले सकेसम्म नेता तथा कार्यकर्तालाई रोक्ने र बाबुराम समूहले पनि नेता/कार्यकर्ता आफूसँग ल्याउने कसरत गरिरहेका छन् । पार्टी अध्यक्ष महन्थ ठाकुर २० प्रतिशत सांसदसहित गत ३ साउनमा बाहिरिएपछि सुरु भएको जसपाको विवाद अहिले फुटको संघारमा पुगेको हो ।

महन्थ ठाकुरको स्थानमा को रहने भन्ने विषयले पार्टीभित्र विवाद विजारोपण भएको थियो । विवाद समाधान गर्न बाबुराम, उपेन्द्र र वरिष्ठ नेता अशोक राई रहनेगरी तीन सदस्यीय हेटक्वार्टर समिति गठन भएको थियो । तर, सो समितिले समेत विवाद समाधान गर्न नसकेपछि पार्टी फेरि फुटको संघारमा पुगेको हो । विधानअनुसार अर्को अध्यक्ष राख्न उपेन्द्र अनिच्छुक हुने तर बाबुराम समूह जसरी पनि राख्नैपर्ने अडान लिँदै आएका छन् ।

यस्तै, पाँच दलीय गठबन्धनमा हुने निर्णय पार्टीमा जानकारी नगराउने, स्थानीय तह निर्वाचनमा मानोमानी गरेका उपेन्द्रले निर्वाचनको समीक्षासमेत गर्न नमानेको बाबुराम समूहको आरोप छ । यस्तै, मन्त्री हेरफेरमा समेत उपेन्द्रले पार्टीमा छलफल नगरेको आरोप छ । २२ वैशाख २०७६ मा बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र नेतृत्वको संघीय समाजवादीबीच एकता भएर समाजवादी पार्टी बनेको थियो ।

सो समाजवादी विभाजन हुनै लाग्दा रातारात १० वैशाख २०७७ मा अर्को मधेसवादी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सँग एकता भएर जसपा घोषणा भएको थियो । तर, एकताको तीन वर्ष नपुग्दै महन्थ, राजेन्द्रसहितका नेताले जसपा विभाजन गरेर लोसपा गठन गरेका गरिसकेका छन् । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ७ : १८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं