१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

प्रमुख तीन कम्युनिस्ट पार्टी होमिए निर्वाचनमा



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तय भएसँगै प्रमुख तीन कम्युनिस्ट पार्टी आन्तरिक तयारीमा जुटेका छन् । मत परिणाम आफ्नो पोल्टामा उनीहरू आन्तरिक रणनीति तय गर्नमा समेत जुटेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित साना कम्युनिस्ट पार्टी पार्टी निर्वाचन केन्द्रित गतिविधिमा जुटेका छन् । सरकारले आगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरिसकेको छ ।

निर्वाचन परिचालन कमिटी गठन, घोषणापत्र तयारी, निर्वाचन केन्द्रित प्रशिक्षण, भेला, बैठकलगायत गतिविधिमा उनीहरू जुटेका छन् । शीर्ष नेताले निर्वाचन केन्द्रित कार्यक्रममा केन्द्रित हुन निर्देशन दिँदै नेताकार्यकर्तालाई क्षेत्र, जिल्लामा जनताका घरघर पुगेर घुलमिल गराइरहेका छन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पाँच दलीय गठबन्धनभित्र छन् ।

उनीहरू सिट बाँडफाँटसहित आन्तरिक रणनीति तयार गर्नमा समेत जुटेका छन् । उता, एमाले पाँच दलीय गठनलाई परास्त गर्न गठबन्धनबाहिर रहेका दलसँग सहकार्य गर्दै अघि बढने रणनीतिमा रहेको छ । ओली नेतृत्वमा निर्वाचन परिचालन कमिटी प्रमुख प्रतिपक्षी दल एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

कमिटीमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा केन्द्रीय सल्लाहकार परिषद् पदाधिकारी, प्रदेश कमिटी अध्यक्ष, पार्टी केन्द्रीय विभागका सचिव र जनसंगठनका अध्यक्ष र महासचिव सदस्य छन् । पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले ओलीको अध्यक्षतामा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटीसमेत गठन गरेको छ ।

एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार मस्यौदा कमिटी सदस्यमा पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्ठलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । त्यस्तै, बैठकले पार्टी स्थायी कमिटी बैठक ७ भदौमा, पोलिटब्युरो बैठक ९ भदौमा र केन्द्रीय कमिटी बैठक १० र ११ भदौमा काठमाडौंमा बस्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

बैठकले जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (बारा), र अमृत राजवंशी (झापा) केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । त्यसैगरी नवराज पौडेल (बाग्लुङ)लाई सल्लाहकार परिषद् सदस्यमा मनोनयन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले विभिन्न विभागमा रिक्त सचिव पदमा समेत मनोनयन गरेको छ ।

सुन्दर भुसाललाई उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, विमल शर्मालाई कृषि तथा पशुपन्छी विकास विभाग, सुरज अधिकारीलाई पुस्तकालय तथा अभिलेख विभाग, घनेन्द्र श्रेष्ठलाई पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग, मेघराज पौडेललाई युवा तथा खेलकुद विभाग, एसजी शर्मालाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग सुम्पिएको छ ।

त्यस्तै, सोभियत ढकाललाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग, केबी उप्रेतीलाई सहकारी तथा गरिबी निवारण विभाग, आरसी लामिछानेलाई भूमि व्यवस्था विभाग, सञ्जीव रोकाहालाई विज्ञान तथा प्रविधि विभाग, पुष्कर खातीलाई सामाजिक सुरक्षा विभाग र गजेन्द्र थपलियालाई सहरी विकास विभाग सचिवमा मनोनीत गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी, बैठकले केही केन्द्रीय सदस्यको जिम्मेवारीसमेत हेरफेर निर्णय गरेको छ । रामदयाल मण्डललाई मधेस प्रदेश सहइन्चार्ज, सरोज यादवलाई महोत्तरी जिल्ला इन्चार्ज, प्रमोद नारायण यादवलाई धनुषा जिल्ला सहइन्चार्ज, भीम कार्कीलाई भूमि व्यवस्था विभाग उपप्रमुख र कृष्ण थापालाई कास्की जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । बैठकले नीति अनुसन्धान प्रतिष्ठान कार्यविधि र स्थानीय तह विकास विभागको निर्देशिका पारित गरेको छ ।

आन्तरिक तयारीमा माओवादी केन्द्र पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्र प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम आफ्नो पक्षमा पार्न आन्तरिक तयारीमा जुटेको छ । गठबन्धनभित्र सिट बाँडफाँट तयारी गरिरहेको माओवादी केन्द्रले निर्वाचन केन्द्रित कार्यक्रमको तयारीमा जुटेको छ । माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले निर्वाचनको आन्तरिक तयारीमा पार्टी जुटेको बताए ।

उनका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राम्रो परिणाम ल्याउन पार्टी र मतदाताबीच सम्बन्धन विस्तार गर्ने काममा पार्टी जुटेको हो । माओवादी केन्द्र छिट्टै प्रदेशस्तरमा प्रशिक्षण, भेला, बैठकलगायत कार्यक्रम बनाएर अघि बढ्ने तयारीमा जुटेको छ । यही साताभित्र स्थायी कमिटी बैठक बसेर निर्वाचन केन्द्रित कार्यक्रम’ निर्णय गर्ने माओवादी तयारी छ ।

मस्यौदा समिति बनाउँदै नेकपा एस सत्तारूढ पाँच दलीय गठबन्धनमै रहेको एकीकृत समाजवादीले घोषणापत्र मस्यौदा तयारी कमिटी गठन गरेको छ । बुधबार बसेको एकीकृत समाजवादी सचिवालय बैठकले निर्वाचन केन्द्रित विभिन्न निर्णय गरेको हो । उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट आगामी निर्वाचनका लागि जारी गर्ने घोषणापत्र मस्यौदा गर्न उपमहासचिवत्रय प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल रहेको कमिटी गठन गरेको छ ।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवार छनोट मापदण्ड एवं निर्णय प्रक्रिया सम्बन्धमा प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्न महासचिव डा. वेदुराम भुसाललाई जिम्मेवारी दिइएको छ । त्यस्तै, निर्वाचन निर्देशिका मस्यौदा तयार गर्न निर्वाचन विभागलाई जिम्मेवारी दिएको छ ।

यसैगरी, बैठकले दल दर्तासम्बन्धी आवश्यक काम गर्न उपमहासचिव गंगालाल तुलाधरलाई जिम्मा दिने निर्णय एकीकृत समाजवादीले गरेको छ । एकीकृत समाजवादी उपाध्यक्ष धर्मनाथ साहले निर्वाचन केन्द्रित गतिविधि सुरु गरिसकेको बताए । पार्टी सचिवालयको निर्णयअनुसार कमिटी गठन, पुनर्गठन गर्दै जनताका घरमा पुग्ने काम एकीकृत समाजवादीले तयारी गरिरहेको छ । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ७ : ५४ बजे

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न