७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’



इलाम । इलाम सदरमुकामको एक विद्यालयमा कक्षा ८ पढ्दै गरेकी किशोरीले ‘घिमिरे’ थरका युवासँग विवाह गरिन् । १४ वर्ष टेकेकी उनको विवाह पनि दुई महिना टिक्न सकेन । प्रेमविवाह गरेकी सम्झना अहिले माइतघरमै फर्केर विद्यालय परिवर्तन गरेर ८ कक्षामै पढ्न थालेकी छन् ।

सन्दकपुर गाउँपालिकाकी एक किशोरीले १६ वर्षको उमेरमा विवाह गरिन् । स्थानीय युवासँग विवाह गरेकोे एक वर्ष नबित्दै छोरीकी आमा बनिन् । आमा भएको ६ महिना नबित्दै श्रीमान्को हिंसाको सिकार बनिन् । दिनदिनै हिंसाको सिकार बनेकी किशोरी श्रीमान्सँग बस्न नसक्ने अवस्थामा पुगिन् ।

भागेर सानैमा विवाह गरेकाले माइतीले पनि वास्ता गरेनन् । डेढ वर्षकी छोरीसहित विस्थापित किशोरीलाइ मानवअधिकार मञ्च इलामले उद्धार गरी केही दिन आफ्नो सेल्टरमा राख्यो । अहिले छोरीसँगै विराटनगरस्थित सरकारी सेल्टरमा छिन् । अभिभावकको संरक्षणमा पढ्ने–बढ्ने उमेरमा आफैं अभिभावक (आमा) बनेपछि अहिले उनी ‘न माइत न त घर’की भएकी छन् ।

जिल्लामा दर्जनौं बालबालिकाले विद्यालय उमेरमै प्रेम गर्दै विवाह गर्ने गरेको पाइएको छ । ‘लहड र लहर’मा विवाह गर्ने र उमेर छिप्पिदै जान थालेपछि ‘बेमेल’ हुने गरेको देखिन्छ । बालविवाहले उनीहरूको भविष्य अन्योल र कष्टकर बनाइदिने गरेको छ ।

इलामको एक माध्यमिक विद्यालयकी शिक्षिका ‘कक्षा ८ मा मात्र ३० जोडीसम्म भेटिएपछि उनीहरूलाई काउन्सिलिङ गरिएको’ बताउँछिन् । सानै उमेरमा मोबाइल फोन प्रयोग, सामाजिक सञ्जाल र युट्युबको सिको गर्दै किशोरकिशोरी ‘प्रेमीप्रेमिका’ बन्ने गरेको उनको बुझाइ छ ।

कानुनले बालविवाह बर्जित गरेकाले छोराछोरी भएपछि झनै समस्या हुने गरेको छ । उमेर नपुगी विवाह गरेका जोडीबाट जन्मिएका बच्चाको जन्मदर्ता भए पनि ‘विवाह दर्ता’ नहुने भएकाले विवाहपछि अलग हुनुपर्दा महिलाले ‘अंश दाबी गर्न समस्या हुने गरेको’ कानुन व्यवसायी याम लिम्बू बताउँछन् ।

कानुनले बालविवाह बर्जित गरे पनि गाउँमा मात्र नभएर सहरी क्षेत्रमा समेत बालविवाह हुने गरेको छ । उमेर नपुग्दै विवाह गरेर विद्यालय छोड्ने मात्र होइन, विवाहपछि पढ्न आउने विद्यार्थी पनि विद्यालयमा रहेको सदरमुकामस्थित आदर्श मावि प्रधानाध्यापक कुमार पौडेल बताउँछन् ।

यता, अमर मावि बरबोटेका शिक्षक तुलसी बराल पनि कक्षा ८ देखि १० सम्मका ५ देखि १० छात्रा बर्सेनि विवाह गरेर विद्यालय छोड्ने गरेको बताउँछन् । किशोरी अवस्थामै विवाह गरेका अधिकांशमा उनीहरूको विवाह जीवन्त नबन्ने गरेको छ ।

कानुनले विवाह गर्ने उमेर बढाएर २० वर्ष पु¥याए पनि बालविवाह गर्ने कायमै रहेको मानवअधिकार मञ्च इलामका भक्त थामी बताउँछन् । किशोर अवस्थामै विवाह गरेका कारण सम्बन्धमा ‘दरार’ उत्पन्न भएपछि समस्या लिएर संस्थामा आउने गरेको उनले बताए ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ ले विवाहको उमेर २० वर्ष तोकेको छ । २० वर्ष नपुगी विवाह भए स्वतः बदर हुने व्यवस्था छ ।
यति मात्र होइन, कानुनले तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिमानाको व्यवस्थासमेत गरेको छ । तर, बढ्दो सञ्चार र सामाजिक सञ्जाल प्रयोगले किशोरकिशोरी प्रेमजालमा फस्ने गरेको पाइएको छ ।

कानुनी व्यवस्था मात्र नभएर भविष्यसमेत ख्याल नगरी भावनामा डुबेर विवाह गर्ने गरेका छन् । कलिलै उमेरमा सम्बन्धमा बा“धिएका उनीहरूको विवाह गर्ने उमेरसम्ममा डिभोर्स नै भइसकेको हुन्छ ।

नेपाल बालविवाह हुने विश्वकै १०औं स्थानमा पर्छ । गरिबी, अशिक्षा, परम्परागत सोच र संस्कारका कारण समाजमा अझै बालविवाह व्याप्त छ । आजको राजधानी दैनिकमा भगीरथ भण्डारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ३६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल