१६ चैत्र २०८२, सोमबार | March 30, 2026

कुश कतै हाहाकार, कतै व्यापार



ललितपुर । आज शनिबार कुसेऔंसी मनाइरहँदा कतै कुश हाहाकार र कतै धमाधम कुशकै व्यापार भइरहेको छ ।

देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुशको व्यापार बढ्दै गएको छ । कतै विभिन्न कारण ब्राह्मणले कुश उत्पादन गर्न नसक्दा किन्नुपर्ने बाध्यता छ । गाउँघरमा उत्पादन भएका कुश पछिल्लो समय बजारसम्म ल्याएर बेच्ने चलन छ ।

विशेषगरी काठमाडौं कालीमाटी तरकारी बजारमा कुशे औंसीको अघिल्लो दिनदेखि नै कुश बेच्नेको ठेलमठेल देखिन्थ्यो । ठ्याक्कै तरकारी बजारभित्र नभएर गेटबाहिरको फुटपाथमा कुशका कल्ली, मुठा र भारी नै बढी राखिएका भेटिए ।

नुवाकोट र धादिङका विभिन्न स्थानबाट बिहीबार रातिबाटै भारीका भारी कुश लिएर बेच्न लागेका थिए । नुवाकोट बेलकोटगढी नगरपालिकाका बेलकोट, रातमाटे, धादिङ गल्छी, महादेवस्थानलगायत स्थानबाट आएका कृषकदेखि बिचौलियासम्मको कुश बेच्न शुक्रबार बिहानैदेखि चहलपहल थियो ।

बेलकोटका ५७ वर्षीय चन्द्र श्रेष्ठ गाउँकै छिमेकी रामशरण श्रेष्ठसँग कुश बेच्न बिहीबार राति नै कालिमाटी पुगेका थिए । एक भारी कुश बेचेर ६ हजार कमाएका चन्द्र शुक्रबार बिहान ७ बजे पुग्दा आफ्नो भारी बेचिसकेर साथीको कुश बिक्री गर्न सघाइरहेका थिए ।

छेउमा बसेर केही कल्ली कुश बेच्दै गरेकी गल्छीकी कमला अधिकारी होस् वा गल्छीकै सुमन भण्डारी र राजन लुईंटेल पनि जतिसक्यो छिटो कुश सकाएर घर हिँड्ने दाउमा थिए ।

‘कुशको यति नै भन्ने रेट छैन,’ लुर्इंटेलले भने, ‘धेरैले कुश बेचिरहेका छन्, सबैको भाउ एकनास छैन, कसैले अलि बढी पनि लिएका छन्, कसैले बार्गेनिङ गरेअनुसार घटाएर पनि कुश बेचेका छन् ।’

दोलखा घर भई कुसुन्ती बस्ने रमेश आचार्य भारीपिच्छेका कुश हेरेर एकएकसँग बार्गेनिङ गरेर मूल्य घटाइरहेका थिए । ‘राम्रोसँग छान्नु पनि प¥यो, कसैकसैले बाबियो र सिरु पनि भिडाउने गरेका छन्,’ नुवाकोटका हरि रिमालले भने, ‘फेरि राम्रो राम्रो र मूल्य पनि मिल्ने लानुप¥यो नि †’

ललितपुर गोदावरीका गोविन्द चालिसेले एकाबिहानै कालिमाटी पुगेर कुश लिए । आफूले धेरै कुश लगेर अरूलाई पनि बाँड्ने गरेको उनले सुनाए । कुसेऔंसीका दिन पवित्र कुश काट्ने र त्यही काटेको कुश घरघरमा गएर ब्राह्मणले वितरण गर्ने गर्छन् ।

कुशको अभावमा किनेकै कुशलाई पछिल्लो समय वितरण गर्न थालिएको छ । कालिमाटीमा कुश थुप्रिए पनि समग्रतामा अभाव भएको छ । बसोबास र मानवीय विभिन्न क्रियाकलापका कारण कुश अभाव भएको प्रयोगकर्ता बताउँछन् ।

संस्कार र संस्कृति बेवास्ताले पनि संरक्षण कम भएकोमा ब्राह्मण चिन्तित छन् । आज शनिबार घर–घरमा भित्र्याएर कुसेऔंसी मनाइँदै छ ।

हरेक वर्ष भाद्र कृष्णऔंसीका दिन मनाइने यसदिन ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ । यसदिन ब्राह्मणद्वारा काटिएको कुश घरमै राख्ने र आफ्ना जजमानकहाँ लगिदिने चलन छ । त्यही कुश वर्षभर गरिने देव तथा पितृ कार्यमा प्रयोग गरिन्छ ।

हिन्दूधर्ममा कुशलाई भगवान् विष्णुको प्रतीक मानिन्छ । कुनै पनि होमयज्ञ गरिँदा यज्ञकुण्ड चारैतिर कुश ओछ्याइने परम्परा छ । देवीदेवताको पूजा, पैतृक कर्म, प्राण प्रतिष्ठा, प्रायश्चित, स्नान गरिँदा कुश मिश्रित जल नै प्रयोग गरिने शास्त्रीय मान्यता छ ।

कुशासनमा बसेर पूजा गर्नु, कुशको औंठी देवकार्यमा साँहिली औंलामा र पितृकार्यमा चोर औंलामा लगाउनु, श्राद्धमा कुशलाई कम्मरमा सिउरिनु, यज्ञमा विष्टरका रूपमा प्रयोग गरिने चलन एवं विधि छ ।

कुशको वैज्ञानिक दृष्टिकोणबाट पनि महत्व छ । दूधलाई फाट्नबाट जोगाउन कुशकै प्रयोग गरिन्छ । कुशबाट बुनेको गुन्द्री वा चटकीमा बस्दा स्वास्थ्य राम्रो हुने विश्वास रहेको छ । आजको राजधानी दैनिकमा नवीन लुइँटेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ८ : ०५ बजे

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा