१३ मंसिर २०७९, मंगलबार | November 29, 2022

चिनियाँ होइन पश्चिमा ऋणको पासोमा फसेको छ श्रीलङ्का



(श्रीलङ्काको राजनीतिक र आर्थिक उथलपुथलका बारेमा आम नेपाली जानकार छौं । देशलाई नै आर्थिक रुपमा पतन गराएपछि राजापाक्ष शासन विरुद्ध उर्लिएको जनविद्रोहले राजापाक्षे शासन पतन भयो । तर, श्रीलङ्काको समस्या उब्जिनुमा कसैले चीनलाई दोष दिन्छन् कसैले पश्चिमा शक्तिलाई । यसअघि हामीले न्यूयोर्क टाइम्समा प्रकाशित श्रीलङ्ककाली पत्रकार इन्द्रजीत समराजिवाले लेखेको पहिलो पतन श्रीलङ्काको, तर अन्तिम हुने छैन रिपोर्ट प्रकाशित गरेका थियौं । सोही रिपोर्टलाई आधार बनाउँदै साउथ एशिया रिसर्च न्यूजलेटरमा चिनियाँ पत्रकार की किआन् र ये चेन आन्लान् ले अर्को रिपोर्ट तयार पारेका छन् । नेपाली पाठकलाई समेत समसामयिक लाग्ने भएका कारण हामीले पछिल्लो रिपोर्ट प्रकाशित गरेका छौं ।)

********

श्रीलङ्काको आर्थिक र राजनीतिक उथलपुथलको समाचारले विश्वका अन्य विकासोन्मुख मुलुकलाई पनि तर्साएको छ । गत महिनाहरूमा भएको आन्दोलन राजनीतिक परिवर्तनका लागि एउटा उत्कर्ष थियो ।

श्रीलङ्काको सङ्कटलाई चीनले त्यहाँ लगानी गरेको कर्जाबाट उत्पन्न सङ्कटका रूपमा विशेष गरी भारतीय र पश्चिमा सञ्चारमाध्यमले प्रचारबाजी गरे । यसको प्रभाव सङ्कटग्रस्त मुलुकका नागरिकमा पर्नु स्वभाविक नै थियो । चिनियाँ कर्जाले श्रीलङ्का र यहाँका जनतालाई पासोमा पारेको भन्ने कुरा चीनमाथिको आरोपबाहेक केही होइन । यसको पुष्टि अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता टकर काल्र्सनको भनाइले पुष्टि गर्छ । उनी भन्छन्, “वातावरणीय, सामाजिक र कर्पोरेट सरकारी कार्यक्रमहरूले श्रीलङ्कालीहरूलाई मृत्युको मुखमा धकेलेको छ । सबैले यो उथलपुथलका लागि भ्रष्ट राजनीतिक राजापाक्षलाई परिवारलाई दोष दिन्छन् । राजापाक्ष परिवारलाई सत्ताच्युत गरिनुभन्दा पहिले श्रीलङ्कामा एक दशकभन्दा बढी शासन गरेका थिए । तर त्यसको अन्तिम दोष म जहाँ रहेको छु त्यही भूमिबाट मौलाएको अर्थात् पश्चिमा प्रभुत्व भएको नवउदारवादी प्रणालीको हो, जसले विकासशील देशहरूलाई ऋणमा आधारित उपनिवेशीकरणको रूपमा राख्छ ।”

“यो प्रणाली सङ्कटमा छ, युक्रेन युद्धको खस्कँदो अवस्थाले यसको कमजोर जगलाई उजागर गरेको छ । जसको परिणामस्वरूप खाद्यान्न र ईन्धनको अभाव, महामारी र विश्वव्यापी रूपमा आर्थिक सङ्कट र खाद्यान्न अभाव फैलिरहेको छ ।”

कुनै समय एशियाको आर्थिक प्रगतिको आशा रहेको श्रीलङ्का विकसित मुलुकहरूका लागि एउटा उत्कृष्ट नमूना हो । यहाँको शिक्षित जनसङ्ख्या र मध्यम आय दक्षिण एसियामा सबैभन्दा बढी देखिन्थ्यो । तर यो भ्रम मात्र थियो । ४५० वर्षको उपनिवेशवाद, ४० वर्षको नवउदारवाद र चार वर्षसम्म हाम्रा राजनीतिज्ञहरूको पूर्ण असफलतापछि श्रीलङ्का र त्यहाँका जनता आर्थिक सङ्कट र खाद्यान्न अभावबीच बाँच्न बाध्य छन् ।

पूर्व राष्ट्रपति गोटाबाय राजापाक्षले कर्जा समस्यालाई जटील बनाए भन्ने तर्क कतिपयको छ, तर अर्थव्यवस्था संरचनात्मक रूपमा सबै क्षेत्रमा अस्थिर रहेको छ ।

श्रीलङ्काले धेरै आयात मात्र गर्छ, धेरै कम निर्यात गर्छ र कर्जाबाट व्यापार घाटा मिलान गर्छ । यो अस्थिर अर्थतन्त्र जहिले पनि धराशायी हुने वाला थियो । तर एशियाली मुलुक श्रीलङ्का खतराको पूर्व सङ्केत मात्र हो । सारा संसार यस असफल प्रणालीमा जाकिएको छ र यसले व्यापक पीडा ल्याउनेछ ।

बितेका केही महिनाहरूमा श्रीलङ्कामा कस्तो महसुस गरिएको छ यहाँ सार मात्र प्रस्तुत गरिएको छ । उदाहरणका लागि मसँग एउटा कार छ, जुन अहिले एउटा विशाल ‘पेपरवेट’ अर्थात् खासै काम नलाग्ने बस्तुमा परिणत भएको छ । श्रीलङ्कामा ग्यासको चरम अभाव छ । त्यसैले मेरा बच्चाहरूले सोध्छन् के उनीहरू गाडीभित्र खेल्न सक्छन् किनकी यो यातायातका लागि प्रयोगबिहीन भएको छ र केटाकेटीका लागि खेल्न र खेलाउनका लागि राम्रो वस्तु भएको छ । ईन्धन प्राप्त गर्नको लागि ठूलै त्याग गर्नुपर्छ, कैयौं दिन लाइनमा बस्नुपर्छ र पनि आवश्यकता अनुसार इन्धन पाउन सम्भव छैन । यो सबै सर्वसाधारणका लागि असम्भव देखेर उनीहरू लाइनमा बस्न छोडिसके । उनीहरूको प्राथमिकता बस वा साइकलमा यात्रा गर्नु भएको छ । अधिकांश अर्थतन्त्रले काम गर्न छोडेको छ । अब ईन्धन वितरणलाई व्यवस्थित गर्न वितरणलाई सिमित पारिएको छ । सामानको प्रयोग नगर्नु र सङ्कटको समाधान गर्नुभन्नु तर्कहीन कुरा मात्र हो । त्यहाँ धनी मानिसहरूले चाहिनेभन्दा बढी भण्डार गरीराख्नसमेत ईन्धन पाउँछन् जबकि सार्वजनिक यातायातका लागि काम गर्ने ट्याक्सी चालकले सवारी साधनका लागि पर्याप्त ईन्धन पाउँदैनन् र ट्याक्टरका मालिकहरूले त थोरै पाउन ज्यानको बाजी लगाउँछन्, संघर्ष गर्छन् तर अधिकांश दिनमा रित्तो हात फर्किन्छन् । मार्च यता श्रीलङ्काको रूपैयाँको मूल्य झण्डै आधाले घटेको छ । यहाँ धेरै सामानहरूको जगेडा (stock) छैन ।”

कृषि, पर्यटन तथा अन्य उद्यममार्फत् आर्थिक आम्दानीको बाटो अबलम्बन नगर्ने हो भने अहिलेको सङ्कटको समाधान सम्भब छैन । प्रशासनले यसलाई अहिले पनि खासै मनन गरेको देखिँदैन ।

समस्याको पहिलो संकेतसँगै यसको वैकल्पिक उपाय अपनाउनु विवेकी तर्क हुन्छ । तर ओरालो लागेको अर्थतन्त्रका कारण सबै कुरा क्रमशः अर्थहीन बन्दै जान्छन् । कुनै वेला विकल्पको साधन बन्ने उही वस्तु समयसँगै प्रयोगबिहीन बनिदिन्छ । केही महिना पहिले इन्धन अभाबपछि इन्धनको विकल्पमा अत्यधिक विद्युतको माग हुन थालेपछि श्रीलङ्काले विद्युतको माग पनि धान्न सक्ने कुरै भएन । विकल्प विद्युत आपूर्तिको कटौती थियो । आपूर्तिको कटौतीसँगै गर्मीबाट राहत वा बत्ती बाल्ने उपाय खोज्दा रिचार्जेबल बत्ती, पङ्खा र अन्य इलेक्ट्रोनिक समानको माग बढ्यो । अन्य केही दिनपछि तिनीहरूलाई बेचियो किनकि लोडसेडिङका कारण रिचार्ज गर्न विद्युतको अभाव भयो । इन्धनको मूल्य ह्वात्तै बढेपछि देशबासीले तुरुन्तै साइकल किने । सुरूमा साइकल खरिद गर्ने मानिस भाग्यमानी ठहरिए किनकि तत्काल साइकलको मूल्य वृद्धि भयो । यहाँ चामल, तरकारी, माछा, कुखुरालगायतका आधारभूत वस्तुको मूल्य आकासिएको छ । श्रीलङ्काका लागि अधिकांश आधारभूत सामानहरूको जोहो विदेशी बजारमा नै निर्भर हुनु पर्छ । प्रबिधिको विकास गर्न नसक्ने मुलुकका लागि ती सामान पनि आयात गर्नुको विकल्प हुँदैन । अनि यो समस्या पनि डलर अभाबसँग गएर ठोकिन्छ । आर्थिक सङ्कट श्रीलङ्काको प्रमुख समस्या हो ।

अधिकांश श्रीलङ्कालीहरू दिनको एक छाक खाइरहेका छन् । कोही भोकभोकै छन् । हरेक हप्ता जीउनका लागि भीख माग्ने नयाँ वर्गका मानिसहरू वृद्धि भइरहेका छन् ।

श्रीलङ्कामा बसेर काम गर्ने विदेशी नागरिकका लागि समस्या थप कमाइको अवसर बनेको छ । सङ्कटले जब श्रीलङ्काको मुद्राको अवमूल्ययन भयो । उनीहरूको आम्दानीमा वृद्धि भएको छ । सौर्य र ब्याट्री ब्याकअपहरू जडान गर्न सक्ने परिवारलाई लोडसेडिङको मार कम पर्छ नै । साँझमा बत्ती बाल्न उनीहरूलाई समस्या छैन । तर, ८० प्रतिशतभन्दा बढी स्थानीयका लागि गर्मी सहनु र अँध्यारोमा बस्नुको विकल्प छैन । उनीहरू पट्यारलाग्दो लामो लोडसेडिङको कारण अँध्यारोमा दयनीय अवस्थामा बस्न विवस छन् । कारखाना र अन्य कार्यस्थलहरू बन्द हुँदा मानिसहरूले काम गर्न पाएका छैनन् । विद्युत अभावमा बच्चाहरू गर्मीले सुत्न सक्दैनन् ।

मेरो जानकारीमा पहिलो ठूलो विरोध प्रदर्शन मार्चमा पूरा रात लोडसेडिङ भएपछि शुरू भएको थियो किनकि गर्मीका कारण पूरै देश निद्राबाट बञ्चित र क्रोधित थियो । गत महिना प्रदर्शनकारीहरूले राष्ट्रपति निवास र प्रधानमन्त्री कार्यालय घेराउ गरेका थिए । घेराउ सफल हुनु करोडौँ श्रीलङ्कालीका लागि सुखद् खबर थियो । हजारौं सर्वसाधारण श्रीलङ्कालीहरूले औपनिवेशिक युगका किल्लाहरू भित्रको दृष्य पहिलो पटक देख्न पाएका थिए । आफुलाई वेवास्ता गर्ने शासकको सातो उडाइदिएका थिए । उनीहरूले सामन्ती सत्तालाई घुँडा टेकाएका थिए । त्यसले पनि उनीहरूलाई दरबारमा आन्दोलनकारी छिर्नु खुशीको खबर भयो । भोको पेट आन्दोलनमा सरीक प्रदर्शनकारीका लागि यो खुशी क्षणिक थियो । उनीहरू यो खुशीलाई भर्‍याङ बनाएर समस्याको दीर्घकालीन समाधान चाहेका हुन् ।

दरबारको घेराऊका लागि मानिसहरू स्वतः स्फूर्त, सुरक्षा सावधानी अपनाएर र सम्मानजनकरूपमा त्यहाँ पुगेका थिए । दरबारको दृष्यमा कैयौँ दम्पत्तिहरू दरबारमा पुगेर प्रेमालाप गरेकोे देखिन्थ्यो । आमाबाबुले आफ्ना साना छोराछोरीलाई लिएर दरबारमा पुगेका थिए । कतिले गाइरहेको थिए । आन्दोलनकारी एउटी आमा त आफ्नो बच्चासँगै नाच्दै थिइन्, कोही स्वीमिङ पुलमा जलक्रिडा गरिरहेका थिए । यो सामन्ती किल्ला भत्केकोमा उनीहरू खुशी थिए साथसाथै यसले उनीहरूको असल शासन स्थापना गर्ने सुनौलो सपनामा आशा थपेको थियो ।

बेलायती उपनिवेशवादीहरू, जुन कालान्तरमा निर्बाध रूपमा श्रीलङ्कालीहरूको आफ्नै राष्ट्रपतिहरूको नाम बन्यो, को नाम लेखिएका ताम्रलेख, शिलालेखले भरिएको हलको वरिपरि मानिसहरू सानले हिंडिरहेका थिए । यो उनीहरूको दुर्लभ कल्पना थियो ।

प्रधानमन्त्री कार्यालयमा, कसैले पियानो बजाइरहेको सुन्न सकिन्थ्यो,सर्ट नलगाएका नाङ्गो आन्दोलनकारी मध्येकै एक जनाले श्रीलङ्काको झन्डा ओढेर प्रधानमन्त्रीको सरकारी निवासमा रहेको आरामदायी सोफामा सुतेको एउटा तस्वीर त पछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अत्यधिक प्रयोग भयो । भाइरल बन्यो । सरकारी कार्यालयमा कोही क्यारमबोर्ड खेलेको देखिन्थ्यो । भान्साहल बाहिरको बगैंचामा किशोरहरूले खुसीसाथ ‘कार्टह्वील’ गरे भने ‘सामुदायीक भान्सा’ले भोकाहरूलाई भात खुवायो । यो सुन्दर दृश्य सशस्त्र पहरेदारहरूले घेरिएका सम्भ्रान्तहरूले खाना खाने ठाउँको थियो । प्रधानमन्त्रीको कार्यालयको थियो ।

यसले परिवर्तनका हिमायती श्रीलङ्काबासीलाई आशावादी महशुस गरायो । तर, केही समयको लागि साँचो लोकतन्त्र जस्तो लागेको कुरा टिक्न सकेन । संसदले राजापाक्षको ठाउँमा उनका एक सहयोगी रनिल विक्रमासिङ्घेलाई राष्ट्रपति नियुक्त गरेको छ । उनी पटकपटक प्रधानमन्त्री भएका थिए । तर सन् २०२० मा भएको निर्वाचनमा आफ्नो संसदीय प्रतिनिधित्व गुमाएका थिए ।

उनले प्रदर्शनकारीहरूमाथि सेनालाई घुमाएका छन् । प्रदर्शनकारीहरू र ट्रेड युनियन नेताहरूलाई गिरफ्तार गरेका छन् । यो सबै ‘संवैधानिक’ भएको छ । उनले सम्पूर्ण उदार लोकतान्त्रिक प्रणालीमाथिको विश्वासलाई क्षतविक्षत बनाएका छन् ।

आर्थिक सुधारका लागि संघर्ष गरिरहेका अन्य धेरै देशहरूजस्तै श्रीलङ्का पनि अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सहयोग लिएर परनिर्भर बनेको छ । श्रीलङ्कामा अझै पनि सस्तो श्रम र स्रोतहरू निर्यात भइरहेको छ । महँगा तयारी वस्तुहरू आयात भइरहेका छन् । यी गतिविधिले उपनिवेशवादलाई अझै पनि स्थान दिइरहेको छ । यसको विकल्प राजनीतिक परिवर्तन हो । अग्रगमन हो । थाहा छैन प्रदर्शनकारीको आन्दोलनले दिशानिर्देश गरेको अवस्थाको भोग गर्न अझै कति समय नागरिकले दुःख झेल्नु पर्ने हो । ज्यानको कुर्बानी गर्नुपर्ने हो ।

अहिलेको अवस्था पुग्नु मात्रै श्रीलङ्काको वर्तमानको माग पक्कै होइन । देश परिवर्तन भएको हेर्ने उत्कण्ठा उनीहरूको छ । उनीहरूका दुःख दूर गर्न चाहन्छन् । आन्दोलन श्रीलङ्काको इतिहासमा भएको पहिलो पटक भएको अग्रगामी क्रान्ति थियो । यसको अन्त्य भएको छैन । यसले शासकहरूलाई सच्चिन निर्देशित गरेको छ । अन्यथा परिवर्तनका लागि यस्ता विकल्पको खोजी गर्न श्रीलङ्काबासी परिवर्तनको पक्षधर नागरिकहरू फेरि पनि जुट्नेछन् र शासकलाई सत्ताच्युत गर्न पछि पर्ने छैनन् । त्यसले उनीहरूको सुनौलो सपना साकार पार्नेछ । यो श्रीलङ्काको इतिहासमा पहिलो राजनीतिक उथलपुथल हो, अन्तिम हुने छैन ।

 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ८ : ५६ बजे

जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह

जनकपुरधाम । जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सुसम्पन्न भएको

एकै घरका दुई दाजुभाई लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित

बुटवल । एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित

बालेन कदमलाई केपी ओलीले तमासा देख्दा ओली माथि बालेनको प्रश्नै प्रश्न

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका

कागजको फोहोर व्यवस्थापन गर्न नबिलले गर्यो डोकोसँग सम्झौता

काठमाडौ । नबिल बैंक र डोको रिसाइक्लर्स बीच बैंकमा हुनसक्ने

बैंक अफ काठमाण्डूलाई दुई करोडभन्दा जरिवाना

काठमाडौं । बैंक अफ काठमाण्डूले दुई करोड ११ लाख ८५